छोरीहरू छन्
र त घर रमाइलो छ।
भुनभुन-गुनगुन माहुरीझै भुन्भुनाउँछन्
चिरबिर-चिरबिर चराहरूझै गाउँछन्
बतासले सुस्तरी छोएको रूखका पातझै छुनुमुनु-छुनुमुनु नाच्छन्
उडिरहेका पुतलीहरूझै कोठा-कोठा घुमिरहन्छन्
छोरीहरू छन्, र त यसो गर्छन्।
कहिले डाइनिङ टेबुलमा कुहिना टेकाएर
दिदीबहिनी बात मार्छन्
कहिलेकाहीँ के चित्त बुझदैन कुन्नि
छिनमै महाभारत मच्चाउँछन्
कहिले खाँदाखाँदै जिब्रो पड्काउँछन्
कहिले खाँदै खान्न भनेर घुर्की देखाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन्।
भुईंचालो आए झैं भर्याङमा दगुर्छन्
घरै थर्काउँदै कौसीमा उफ्रन्छन्
खस्लान् झैं गरेर बार्दलीमा कुद्छन्
एकैछिनमा अलप हुन्छन्
नदेख्दा करायो कुद्दै आइपुग्छन्
कहिले त्यहीँ छिमेकमा खेलिरहेका हुन्छन्
तर घाँटी सुक्नेगरी कराउँदानि सुन्दैनन्
छोरीहरू छन्, र त यसो गर्छन्।
कहिले कुनै कुरामा जब चित्त दुखाएर
अनुहार अँध्यारो लाउँछन्
आफ्नै चित्त कटक्क काटिन्छ
कहिलेकाहीँ जब
कोपिला फक्रिए झैं मुस्कुराउँछन्
कहिलेकाहीँ रात झैं अँध्यारो बन्छन्
कहिले मुस्कुराउँदै अँध्यारोलाईनि उज्यालो बनाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन्।
गह्रुङ्गो झोला बोकेर छोरीहरू स्कूल गएपछि
घर शून्य-शून्य, उदास-उदास बन्छ
जब झोला हल्लाउँदै, कराउँदै फर्कन्छन्
उदास घर शून्यता टक्टकाउँछ
र जाँगरिलो बन्छ।
छोरीहरूसँग घरका भित्ताहरू कुरा गर्छन्
उनीहरूलाई देखेपछि झयालहरू मुस्कुराउँछन्
ढोकाहरूले अँगालो मार्छन्
अघिदेखि पर्खिरहेको सानो बिरालो
तनक्क जीउ तन्काउँदै उठ्छ
आमाको आँखा छल्दै आफ्नो भागको दूध
सुटुक्क बिरालोलाई ख्वाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन्।
छोरीहरू
हलक्क रूखको बिरुवा झैं अग्लिँदैछन्
अनौठा-अनौठा कुरा गर्छन्
अप्ठ्यारा-अप्ठ्यारा प्रश्न सोध्छन्
जब कुनै दिन यिनीहरू
आफ्नो जिन्दगीलाई आफ्नै खुट्टामा टेकाएर
आफ्नो भविष्यलाई आफ्नै हत्केलामा बोकेर
जानेछन् कसैको जीवनसाथी बनेर
त्यसवेला मायाले कसलाई छपक्क छोप्ने
यिनीहरूकी आमाले
कसलाई गाली गर्ने होला उसले
कसले घुर्क्याउलान् उसलाई फेरि
कति एक्ली होली बिचरी
कति दुःखी होलान् त्यसवेला
यो घरका झयाल, ढोका र कोठाहरू
कसले बिरालोलाई लुकी-लुकी दूध देला
शून्य-शून्य होला यो घर त्यसवेला
घर जस्तै शून्य र उदास हुनेछ मेरो मन
कल्पना मात्र गर्दा पनि नरमाइलो लाग्छ
अहिले त छोरीहरू छन्
र त घर रमाइलो छ।
हिमाल खबरपत्रिका पूर्णांक २७३
