तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन
आखिर माया पाए पनि, जीवन जिउने भर छैन ।
धेरैपटक थापेँ मैले, भिखारी भै प्रीतको झोली
अटाउन सक्छु हृदयमा, सजाउने घर छैन ।
छियाछिया पार्यौ मुटु, चलाएर छुरा
नाङ्गो जीवन विवश छु, एकफेरो धर छैन ।
सम्झनामा तड्पिएर बाँचेको छु धेरैपटक
गला रेट्ने प्रीत लाउने, अब भो रहर छैन ।
सुक्न लाग्यो जीवन, किरणको आभास नपाउँदै,
प्यासी बन्यो आत्मा मेरो, मेटाउने सागर छैन ।
लफ्याङ-६, खोटाङ
