Skip to content


काठमाडौ, श्रावण ७, २०६७

रिसाएको कविता वादविवाद गर्न चाहन्छ
मृत्यु उत्सवका सबै आयोजकहरूसँग
रगतको आहालमा डुबेका मुर्कट्टाहरूसँग
मान्छेको टाउको सिरानी हालेर
निदाउन सक्नेहरूसँग
केटाकेटीका छाला मोरिएको कवचभित्र
सुरक्षित बहादुरहरूसँग ।
-हरि अधिकारी

विताको सामथ्र्यमाथि विचार गर्दा मेरो चेतना परिसरमा यस्ता कविताहरू आइपुग्छन् । तर अचेल यस्ता कविताहरूको वर्चस्वलाई धराशायी तुल्याउने उद्योग फस्टाउन थालेझैं प्रतीत हुन्छ । किनभने संगीत र संगति दुवै नभएका कविताहरू बजारमा बग्रेल्ती छन् । तिनीहरूबाट भाग्न खोज्दा मलाई आख्यानले आकषिर्त गर्न थाल्छ । त्यही क्रममा म विश्वेश्वरप्रसाद कोइरालातिर पुग्न थाल्छु । खासगरी साउन ६ गतेको दिनलाई एउटा स्मृति दिवसका रूपमा सम्मान गरिरहँदा मलाई विश्वेश्वरप्रसाद कोइरालाको साहित्यले आकषिर्त गरिरहन्छ ।

दोषी चस्माबाट मैले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यसँग चिनजान गर्न पाएको थिएँ । चेखवको कथा ‘कारिन्दाको मृत्यु’बाट प्रभावित यस कथामा राणाकालीन नेपालको सानो दृश्य उद्घाटित भएको छ । त्यसमा कथाकारले आफ्नो पात्र केशवराजमार्फत आमनेपालीको दमित मनोविज्ञानलाई उजागर गरेका छन् । भाषा र शिल्पका दृष्टिले यसलाई सुन्दर कथा भन्न सकिन्छ, तर चेखवको शैलीगत प्रभाव बढी नै अनुसरण गरिएको हुनाले औपचारिक समीक्षकहरूले यस कथालाई धेरै महत्त्व दिएनन् । यति हुँदाहुँदै पनि विश्वेश्वरप्रसाद कोइरालाको कथायात्रालाई नियाल्ने क्रममा पाठकहरू यस कथातिर ध्यान दिन्छन् । कथाको पात्र केशवराजको चाकरी व्यवसायमा राणाकालको सामन्तवादी संस्कृतिको बान्की देख्छन् । कथाको सरस भाषाबाट आनन्दित हुन्छन् र अघि बढ्छन् ।

नेपाली राजनीतिमा एउटा विशिष्ट छवि बनाएर अघि बढेका बीपी कोइराला साहित्यमा विश्वेश्वरप्रसाद कोइराला नै हुन रुचाएका थिए । तर उनको राजनीतिक यात्रा नेपाली लोकतान्त्रिक आन्दोलनमा यति विशिष्ट किसिमले अघि बढ्न पुग्यो कि साहित्यकारको रूपमा उनको व्यक्तित्वले आवश्यक महत्त्व आर्जन गर्नै पाएन । दोषी चस्मादेखि लिएर जेल जर्नलसम्म आइपुग्दा उनको कलमले स्थापित गरेको साहित्यिक मूल्यवत्तालाई उचित मूल्याङ्कन गर्ने काम भएन । समालोचकहरू उनीप्रति लगभग उदासीन रहे । नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूभन्दा विश्वेश्वरप्रसाद कोइरालाको स्रष्टा व्यक्तित्व निकै माथि रहेको कुरालाई उनीहरूले ध्यान दिएनन् । तर पाठकहरूले उनलाई ध्यान दिइरहेका छन् । त्यही क्रममा यतिबेला म तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइजस्ता ओजस्वी उपन्यासहरूलाई दोहोर्याएर पढ्ने जमर्को गरिरहेको छु । कर्नेलको घोडा, बिहा, शत्रु, मधेसतिर, श्वेत भैरवीजस्ता कथाहरूको परिसरतिर पुग्दा मलाई नेपाली कथा साहित्यले विश्वेश्वरप्रसाद कोइरालाको कथाकारिताभन्दा अघि बढ्न किन नसकेको होला भन्ने प्रश्नले पछ्याइरहेको छ । त्यसो त राम्रा कथाकारहरू थुप्रै छन्, नेपाली साहित्यमा । तर छरितो वाक्य रचनाद्वारा गम्भीर विषयलाई स्थुल होइन, आन्तरिक अवलोकनद्वारा छरितो आकारमा प्रस्तुत गर्नसक्ने विश्वेश्वरप्रसाद कोइरालाको क्षमता अरू कथाकारमा कमै देखापर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान साहित्यमा नितान्त मौलिक प्रकृतिका एउटा पाठशाला नै हुन् जस्तो मलाई लागिरहन्छ । यौन र सामाजिक मनोविज्ञान तथा पहाडबाट मधेसतिर ओर्लिंदै गएको भूगोलको सुन्दर चित्रणलाई उनको आख्यानले सबल स्थान प्रदान गरेको छ । बिहा शीर्षकको कथामा सुब्बा कटकबहादुरले गरेको अनमेल विवाहको प्रसङ्गलाई एउटा सुन्दर फलकभित्र उनले जसरी चित्रण गरेका छन्, त्यसलाई ‘यौन मनोविज्ञान’ मात्रै भनियो भने गलत हुनेछ । त्यहाँ नेपाली समाजको एउटा प्रथा उपस्थित भएको छ । त्यहाँ नेपाली सामन्तवादको एउटा मनोविज्ञान प्रकट भएको छ । वास्तवमा त्यहाँ इतिहासले उत्तरदानका रूपमा छोडेर गएको नेपाली रुढीमाथि कटाक्ष र प्रतिरोध व्यक्त भएको छ । तर विश्वेश्वरप्रसाद कोइरालालाई पढ्ने र समीक्षा गर्नेहरूले उनको साहित्यमाथि न्याय पुग्नेगरी कर्तव्य निर्वाह गरेको देखिँदैन । त्यसैले साउन ६ गतेलाई सम्झना गरिरहँदा वृक्षरोपण गर्नु राम्रो काम हो भने उनको साहित्यका मूल्यवत्ताहरूतिर ध्यान दिनु झन् राम्रो काम हो भन्ने लागिरहन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको सहित्यमाथि ध्यान दिँदा मलाई आफ्नै एउटा स्मृतिले पनि पछ्याइरहन्छ । त्यो यस्तो छ : लगभग बीस वर्षअघि म सिन्धुली जिल्लामा पर्ने झाँगाझोली बजारमा पुगेको थिएँ । म पटक-पटक पुगिरहेको बजार थियो त्यो । आफ्नो उत्तरपट्ट िबगिरहेको सुनकोशीको मधुर संगीतलाई सुन्दै त्यो बजार आफ्ना दिनचर्याहरूमा व्यस्त रहन्थ्यो । काठमाडौंबाट धुलिखेल, दाप्चा, चरङ्गेफेदी, कटुन्जे, मंगलटार, नेपालथोक, दुम्जा हुँदै म त्यहाँ पुगेँ । असोजको महिना थियो । म पदयात्राले थकित थिएँ, तर नयाँ भूगोल र साँझको मादकतामा मादकता थप्दै बगिरहेको सुनकोशीको सुसाइले बढी पुलकित भइरहेको थिएँ । मलाई झाँगाझोली बजारदेखि झन्डै एक घन्टा पूर्वतिर पुग्नु थियो । त्यसैले म अघि बढेँ । यहाँबाट अलिकति ओर्लिनुपथ्र्यो, त्यसपछि एउटा ढिस्को आउँथ्यो । ढिस्को पार गरेपछि खेतको फाँट सुरु हुन्थ्यो । त्यही फाँटको बीचबाट गएको एउटा मूलबाटो हुँदै धमिले खोला पार गरेपछि रातमाटे बजार आइपुग्थ्यो । म त्यही गणित र ज्ञानलाई साथ लिएर अघि बढेँ । तर झाँगाझोलीबाट यस्सो ओर्लिएपछि आउने ढिस्को आएन । मैले झस्किएर अँध्यारोको धमिलो पर्दालाई आँखैले च्यातुँलाझैं गरी अगाडि दृष्टि दिएँ । खेतको फाँट र मूलबाटो दुवै देखिएनन् । साँझ बाक्लिएर रात परिसकेको थियो । सुनकोशीको आवाज कानैमा ठोक्किन आइपुगेको थियो ।

त्यो आवाज यतिबेला संगीतजस्तो लागेन । एउटा अत्यासको क्षणमा मैले फेरि अघिल्तिर हेरेँ । उत्तरतिर पहाडको कापमा ठोक्किएर बग्ने सुनकोशी मेरो अघिल्तिर आइपुगेको थियो । खेतको फाँट हुने ठाउँमा आधाजसो नदीको पानी घुमिरहेको थियो भने आधाजसो ठाउँमा बालुवाका रासहरू थाक लागेका थिए । म अत्ताल्लिएँ । त्यसपछि झोलाको टर्चलाइट झिकेर त्यसको प्रकाशमा बाटो खोज्दै म धेरैबेर यताउता ओहोर-दोहोर गरिरहेँ । सुनकोशीका भँगालाहरू काला सर्पका गुजुल्टाहरूजस्ता देखिएका थिए । सदा शान्त देखिने त्यो नदी सारा खेतहरूलाई मरुभूमि बनाएर यतिबेला अशान्त राक्षसजस्तो देखिएको थियो । त्यसबाट मुक्ति खोज्दै आधा घन्टा भौंतारिएपछि अन्तत: बाटो फेला पर्यो । त्यसको एक घन्टापछि म आफ्नो गन्तव्यमा पुगेँ ।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास नरेन्द्र दाइमा यही कोशी आइरहन्छ । कोशीका भँगालाहरूमा उनका पात्रहरू दगुरादगुर गर्छन् । श्वेत भैरवीमा पनि कोशी आइरहन्छ । तराईमा पुगेको त्यो कोशी र मैले त्यस रातमा व्यहोरेको कोशीका केही चारित्रिक समानताहरूलाई म अहिले सम्झिन्छु । जलप्रवाहले मानिसमा सिर्जना गर्ने अनुभूतिहरूमा समानताहरू हुन्छन् । म तिनै समानताहरूलाई विचार गर्दै श्वेत भैरवी पढ्न थाल्छु । नरेन्द्र दाइ पढ्न थाल्छु । ती रचनाहरूमा स्पष्ट आकारसहित आउने मानिस र भूगोलका स्वभावहरूसँग साक्षात्कार गर्न पुग्दा गतिलो साहित्यले दिने आनन्द प्राप्त हुन्छ । यस्तो आनन्द प्राप्त गरेर कति साहित्यकार वा कतिवटा साहित्यिक संस्थाहरूले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाए होलान् भन्ने प्रश्न उठिरहन्छ । तर मलाई थाहा छ, साहित्यकारका रूपमा ती मानिसलाई श्रद्धा र सम्मान गर्नेहरूको न्यूनता उहिलेदेखि अहिलेसम्म समान रूपमा विद्यमान छ ।

साउन ६ बीपी कोइरालाको स्मृति दिवस भएझैं साउन ७ पुष्पलालको स्मृति दिवस हो । पुष्पलालको सम्झनामा कम्युनिस्ट पार्टीका मानिसहरू श्रद्धाञ्जली व्यक्त गर्दै भाषणहरू गरिरहन्छन् । तर देशलाई सुन्दर बनाउन तम्सिने पुष्पलालजस्ता मानिसहरूको अभाव यो देशमा डरलाग्दो गरी विद्यमान छ । लोकतान्त्रिक आन्दोलनमा एकताबद्ध भए पनि गणतन्त्र प्राप्तिपछिका वर्षहरूमा काङ्ग्रेस र कम्युनिस्ट भनाउँदा सबैथरी दलहरूको आँखामा दोषी चस्मा टाँगिएको छ । तर त्यो दोषी चस्मा विश्वेश्वरप्रसाद कोइरालाको पात्र केशवराजको चस्माजस्तो पावर नपुगेको चस्मा होइन, दुराग्रहको चस्मा हो । त्यही चस्मा लगाएर दलहरू मुलुकलाई गतिरोधको सिकार बनाइरहेका छन् । यस गतिरोधबाट मुलुकलाई त्राण दिलाउनु नै लोकतान्त्रिक योद्धाहरू बीपी र पुष्पलालप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *