यो संसारमा धनसम्पत्ति कमाउन पक्कै सजिलो छैन । आफ्नो रगत पसिना बगाएर दुःख गरी मात्र दुइचार पैसा कमाउन सकिन्छ । यसको तुलनामा मानिसहरूले आफूसँग भएको धनसम्पत्ति खर्च गर्न भने धेरै सजिलो हुन्छ । धनको विनाश त कतिखेर कहाँ कसरी भइसकेको हुन्छ, चालै पनि पाउँदैन । आफूसँग धनमात्र हुनुपर्छ, त्यसलाई सिध्याउनमा साथ दिनेहरू पनि यहाँ जति पनि भेटिन्छन् । आफ्नो छरछिमेकीदेखि लिएर बाटोमा पाउने मानिसलेसमेत यस कार्यमा हाँसी हाँसी साथ दिन्छन्, खुशी खुशी साथ दिन्छन् । कस्तो मज्जा !
यहाँ भन्न खाजेका मतलब यो पनि होइन कि हामीले कुनै पनि काम कार्यमा धनको खर्च गर्नै हुँदैन, केवल थपारेर मात्र बस्नुपर्छ । धन भनेको त हातको मैला न हो । यसले मानिसलाई असाध्यै राम्रो पनि बनाउन सक्छ । अनि ज्यादै खतरनाक पनि बनाउन सक्छ । यसैले आफूसँग धन भएसरि आवश्यक ठाउँमा आवश्यक अनुरुप धनको सदुपयोग गर्न सक्नुपर्छ । यो बुद्धोपदेश पनि हो । बुद्धको उपदेश छ, यदि हामी भएको धनलाई मात्र सञ्चय गर्नतिर नै लाग्छौँ भन ती धन हराए समान हन्छ यसको पनि कारण छ । यसको प्रमुख कारण के हो भने, ती थुपारेर धनलाई न त हामीले व्यवहारमा प्रयोग गर्न पाउँछौँ, न त मरेर आफूसाग लान नै पाउछौँ ।
यसरी नै जुन धनलाई हामी खान, पिउन, लाउन, बस्न जस्ता व्यवहारिक कार्यमा प्रयोग गर्दछौँ, ती धन केवल आफूसँग भएकोजस्तो मत्र हन्छ । कमसेकम ती धन हामीले आफ्नो व्यवहारमा प्रयोग त गर्न पाइरहेका छौँ । तर, जुन धनलाई हामी बहुजन हित र कल्याणका लागि सदुपयोग गर्दछौँ, ती धन नै हाम्रो वास्तविक धन हो, जुन पुण्यरुपी धनले यो जन्ममा मात्र होइन, परलोकमासमेत ठूलो उपकार गरिरहेको हुन्छ । अरू धनभन्दा पनि वास्तविक धन नै कमाउन हामी सर्वदा लालायित हनुपर्ने बुद्धको उपदेश हो ।
वास्तविक धन सञ्चय गर्न र लोकमा जीवमान रहन पनि सांसारिक धनको पनि आवश्यक रहेको हन्छ । भगवान् बुद्धले त यतिसम्म पनि भन्नुहुन्छ कि धन कमाउन काखीबाट पसिना बगाएर पनि परिश्रम गर्नुपर्छ । कुरा यति हो कि आफूले गरेको काम कसैलाई हानी नपुग्ने खालको हनुपर्छ अनि कमाएको धनको राम्रोसँग सदुपयोग गर्न सक्नुपर्छ ।
भगवान् बुद्धले गर्न नहुने व्यापारका रुपमा दिनुभएको उपदेश यसरी बौद्ध वाङ्मयमा उल्लिखित छ । त्यसअनुसार काटमार गर्ने शस्त्र-अस्त्र बनाई वा बनाउन लगाई त्यसको क्रय-विक्रय गर्न र गर्न लगाउनुहुन्न । सत्त्वप्राणीहरू विशेषतः मानिसहरूको क्रय-विक्रय गर्न र गराउनुहुन्न । हिंसा गर्न वा हिंसा गरी मा.स क्रय विक्रय गर्न र गराउनु हुन्न । र कुनैप्रकारको विषालु पदार्थ बनाई वा बनाउन लगाई त्यसको क्रय विक्रय गर्न र गराउनुहुन्न ।
जीवनमा धनमात्र हुनुपर्छ, त्यो जुनै किसिमबाट पनि खर्च भइरहेको हुन्छ । जानेर होस् वा नजानेर होस्, धनको विनाश भइरहेको हुन्छ । हुन त, धन भनेकै खर्च गर्नकै लागि हो । त्यसो भएता पनि धन नचाहिँदो ठाउँम खर्च गरेर नाश गर्नको लागि भने पक्कै होइन ।
भन्न खोजेको कुरा त यति नै हो, धन भएसरि खर्च गर्न जान्नुपर्छ, अनावश्यक ठाउँमा व्यर्थैमा उडाउँदै हिाड्न हुँदैन । यदि जहाँतहीा खर्च गर्दै जाने हो भने त भएको धन विनाश हुन कति न समय लाग्ला र ? बौद्ध वाङ्मयमा पनि धनसम्पत्ति विनाशका अनेक कारणहरू उल्लेख हुँदैआएको छ । विशेषतः ‘गृही विनय’ ग्रन्थमा आएको बुद्धको उपदेशअनुसार यहाँ ६ वटा सम्पत्ति विनाशका कारणहरू उल्लेखनीय रहेको देखिन्छ । अम्मल नशालुपदार्थ सेवन र्गु सम्पत्ति विनाशको कारण हो । जाँड, रक्सी आदि अम्मल सेवन गर्नाले नभएको धन कमाउन सक्तैन अनि भएको धन पनि विनाश हुँदै जान्छ ।
कुबेलामा घुम्दै गर्नु पनि सम्पत्ति विनाशको कारण हो । बेला न कुबेला घुम्दैमात्र समय व्यतित गर्दा आफूले कुनै काम गर्न सक्तैन । काम नगरिँदा धन कमाउन सक्तैन । अनि घुम्ने सन्दर्भमा भएको धनको पनि विनाश भइरहेको हुन्छ । चित्तलाई प्रमाद गराउने सिनेमा फिल्म आदिमा पल्किन पनि सम्पत्ति विनाशको कारण हुन आउँछ । यस्तो कार्यमा आशक्त बन्नाले भएको काम पनि ठाँति राखेर यताउता जहाँ जहाँ सिनेमा आदि छ, त्यहाँ त्यहाँमात्र दौडिरहने हुन्छ । जुवा, तास, पासा आदि बाह्रमासे मात्र खेलेर बस्नु पनि सम्पत्ति विनाशको कारण हो । यसले नभएको धन बनाउन त सक्तैन, सक्तैन, भएको घरखेत पनि धन पनि विनाश गराएर बस्नुपर्ने हुन्छ । नराम्रो साथीहरूको सङ्गत गर्नु पनि धनसम्पत्ति विनाशको कारण हुन आउँछ । नराम्रो साथीहरूको सङ्गत गर्नाले ती साथीहरूले नराम्रा खराब काम कुराहरूमा उत्साहित गर्दछ । यसले पैसा कमाउन पनि सक्तैन, भएको धन पनि चाँडै विनाश गराइदिन्छ ।
अल्छी भएर बस्नु पनि सम्पत्तिको विनाशको एक कारण हो । अल्छी मान्छेले जुनै काम पनि आफ्नो अल्छीपनले गर्दा गर्न सक्तैन । यस चर्तिकलाले कहिल्यै धन कमाउन सक्तैन । बरु भएको धनसमेत क्रमशः विनाश गराएर बस्नुपर्ने हुन्छ ।
बुद्धको उपदेश हो, भएको धनको अनावश्यक तवरले विनाश गराउने अनेकथरि कारणहरूलाई राम्ररी पहिचान गर्नुपर्छ । त्यसलाई राम्रोसँग जाने बुझेमात्र त्यस्ता काम कुराहरूबाट हरहमेशा अलग्गेर बस्न सक्षम हुन्छ । यो हामी सबैको निम्ति सुखकर विषय पनि हो ।
शनिबार गोरखापत्र
श्रावण १५, २०६७
