कतै जबरजस्ती दाइँको धन लुटदै
कतै बहिनीको अस्मिता पनि लुटदै
दिउँसै शहरले आँट्नुसम्म आँट्यो गाँठे
कहिले बिदेश उडाइदिन्छु भन्दै
कहिले जागिर जुटाइदिन्छु भन्दै
दिउँसै शहरले ढाट्नुसम्म ढाँट्यो गाँठे।
कहिले रानीपोखरी बसालेर दिनभर
कहिले रत्नपार्कमा बिताएर दोपहर
गफ शहरले छाँट्नुसम्म छाँट्यो गाँठे
साहिंलीलाई पशुपति डाँडामा
कान्छीलाई ल्याई मोटर भाडामा
माया शहरले साँट्नुसम्म साँट्यो गाँठे।
दिनहुँ लोग्नेको आँखा छल्दै
बिहानमा होटेलबाट आँखा मल्दै
उल्टै शहरले लोग्नेलाई डाँट्यो गाँठे
आधुनिकतामा संस्कृतिलाई किच्दै
आडम्बरमा बिकृतिमा भिच्दै
यो शहरले के गर्न आँट्यो गाँठे।
दु:ख सुखको सहयोग फाँड्दै
छिमेकत्वको भावना भाँड्दै
मन शहरले धेरै काटयो गाँठे
कतै गगनचुम्बी ठडाएर
कतै खुला आकासमा लडाएर
सपना शहरले सबलाई बाट्यो गाँठे
आलु खाई पेडाको धाक पढाएर
खोक्रो ढाचामाथि उपहास चढाएर
यो शहरले के गर्न आँट्यो गाँठे।
(मिति २०६७ साल साउन २२ गते शनिबार रेडियो अडियोमा रेकर्ड गरिएको। )

एकदम सटिक व्यंग्यात्मक
एकदम सटिक व्यंग्यात्मक प्रस्तूति छ। शब्दचयन मन पर्यो।