हिसाब तिम्रो
किताब तिम्रो
न्याय अनि निसाफ तिम्रो
तैपनि न्यायलयमा रिट हालेको छु ।
थाहा छ, वकालत गर्ने वकिल तिम्रो, नक्कली दसी तिम्रो ।
निसाफ हुँदै हुँदैन मेरो पक्षमा, निर्णय लेख्ने मसी तिम्रो ।।
बन्दुक तिम्रो
गोली तिम्रो
ठोक् ठोक् भन्ने बोली तिम्रो
तैपनि प्रशासनमा मुद्दा दायर गरेको छु ।
थाहा छ, हतकडी तिम्रो, सडाउने जेल तिम्रो ।
मेरो केही लाग्दै लाग्दैन, कानूनसँग मेल तिम्रो ।।
पार्टी तिम्रो
शहर तिम्रो
सदन अनि सरकार तिम्रो
तर यो देश हाम्रो
त्यसैले ‘नेपाल आमा’लाई पुकारेको छु ।
थाहा छ, आन्दोलनको आँधी हाम्रो, परिवर्तनको तुफान हाम्रो ।
तिम्रो विनास छिट्टै हुन्छ हुन्छ, सफलताको उफान हाम्रो ।।
