Skip to content


नेपाली गणित वाङ्मयको क्षेत्रका वरद् पुत्र नयराज पन्त वि.सं. १९७० श्रावण २६ गते आइतवारका दिन पिता कृष्णदत्त पन्त र माता यज्ञपि्रयाको कोखबाट जन्मनु भएको थियो । उहाँ वि.सं. १९९६ देखि अनवरत रूपमा क्रियाशील भएर आफ्नो अन्तिम अवस्था २०५९ कार्तिक १८ सम्म नै शिक्षाको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ आफ्नो सम्पूर्ण जीवन शिक्षाको विकास, उन्नयन, प्रगति र नेपाली इतिहासको खोजी, शुद्धिकरण तथा संशोधनमा नै व्यतीत गर्नु भएको थियो । विभिन्न विद्वानहरूका कृतिबाटै प्रष्ट्याइनु भएका नयराज पन्त नेपालका मात्र नभई विश्वकै एक अद्वितीय अन्वेषक, वैज्ञानिक, ज्योतिष तथा पञ्चाङ्गवेत्ता हुनुहुन्छ ।

नयराजको पैतृक थलो गोरखा जिल्लाको धुँवाकोट पाँडेवेसी गाउँ भए तापनि उहाँको जन्म काठमाडौँको महाबौद्धमा भएको थियो । जन्मेको डेढ वर्षपछि नै बाबुको देहावसानबाट उहाँले बाबुको काखको न्यानो माया पाउनु भएन । तापनि ममतामयी आमाको न्यानो काखमा मावलका हजुरबाबु भुवननाथ पाँडेको न्यानो माया ममतामा मावलमै हुर्कनुभएको थियो । ५ वर्षकै उमेरदेखि उहाँको शिक्षादीक्षा आरम्भ भयो । हजुर बाबुका ज्योतिषका काम कुराले उहाँलाई पनि ज्योतिषमै झुकाव बढ्न गयो । हजुर बाबुका कुराहरू सुनेर सानै उमेरदेखि खारिँदै ज्योतिष एवं गणित र इतिहासको कुरामा एक कर्मठ व्यक्तित्वको रूपमा परिवर्तन हुँदै जानुभयो । वि.सं. १९७७ र ७८ मा कुमारीचोक पाठशालामा भर्ना भएपछि वि.सं.१९८०मा गुरू कविराज पाँडेबाट गणितको पढाई आरम्भ गर्नुभएका पन्तले वि.सं. १९८४ मा श्रेस्ता पाठशालामा भर्ना भएर हिसाब, औँठा, श्रेस्ता, लेखा यी चार विषय पास गर्नुभयो । त्यस्तै लघुकौमुदी, लीलावती आदि विषयको पनि पढाई सुरू गर्नुभयो । त्यसपछि क्रमशः वि.सं. १९८६ मा प्रथमा, वि.सं.१९८८ मा मध्यमा, वि.सं.१९९१मा स्नातक(शास्त्री) र वि.सं.१९९४ मा स्नातकोत्तर(संस्कृताचार्य) सिद्धान्त ज्योतिष विषयमा उत्तीर्ण गर्नु भयो । सो सिद्धान्त ज्योतिषमा अध्ययन गर्न पन्त वनारस जानु भएकोथियो । वि.सं.१९८३ जेठ १४ गते जनकराज पाण्डेकी सुपुत्री बुधकुमारीसँग विवाह वन्धनमा बाँधिनु भएका पन्तका ३ छोरी र २ छोराहरू हृुनुहुन्छ ।

वि.सं.१९९७ मङ्सिरदेखि भाषानुवाद परिषद्मा, त्यसपछि वि.सं.१९९९ मा भाषा प्रकाशिनी समितिमा, वि.सं.२००८सालमा राजकीय संस्कृत महाविद्यालयमा प्राध्यापन कार्य प्रारम्भ गर्नुभएको थियो भने त्यसपछि आफ्ना केही सहयोगीहरूको साथ लिएर आफ्नै घर महाबौद्धको गुच्चा टोलमा गुरूकुलीय शिक्षामा आधारित पाठशालामा स्वाध्ययनको कार्यक्रम चलाउनु भएको थियो । पछि त्यस पाठशालामा अध्ययन गरेका विद्यार्थीको सहयोग लिएर वि.सं.२००९ सालमा संशोधन मण्डलको स्थापना गरेर इतिहासको शुद्धिकरण एवं संशोधन तथा परिष्कार गर्न थाल्नुभयो ।

वि.सं.२०३३ सालमा प्राध्यापन कार्यबाट निवृत्त भएपछि २०३५ सालमा त्रि.वि. मा अन्वेषण कार्यमा संलग्न भई गणित ज्योतिष खगोल विद्यामा महत्वपूर्ण अनुसन्धान कार्य गर्नुभयो । २०३५ देखि २०५० सम्म ने.रा.प्र प्र को प्राज्ञ सदस्यमा नियुक्त हुनुभयो । उहाँलाई २०५१ देखि ने.रा.प्र प्र को आजीवन सदस्यमा नियुक्त गरिएको थियो ।

घोकन्ती विद्या, धावन्ते खेती, सेवन्ती राजा भन्ने सिद्धान्तमा प्रतिबद्ध नयराज पन्तका प्रमाणिक विषयमा वार्तालाप, एकाग्रभएर अध्ययन गर्ने र पाठलाई कण्ठ नै गर्ने खासगरी गणितको विषयवस्तु कण्ठ गरी स्मरण गर्नु नै उहाँका प्रमुख रूचिका विषयवस्तु देखिन्छन् । उहाँ १९८९ देखि २०५८ फागुन २६ गते र २०६१ कार्तिक १८ गते (मरणोपरान्त) गरी कैयौँ पटक सम्मानित भइसक्नुभएको छ । यस वीचमा २०५७ सालमा त्रिभुवन विश्वविद्यालयले डि.लिट् (महाविद्यावारिधि) बाट विभुषित गरेको थियो ।

उहाँका प्रशस्तै कृतिहरू छन् । ती कृतिहरू पढी प्रभावित हुनुहुने विद्धान् विद्धषीहरूले उहाँका वैज्ञानिक, गणितज्ञ, ज्योतिषविद्, इतिहासवेत्ता, नेपालका सुकरात, विश्लेषक, अनुसन्धाता, अन्वेषक, अनुवादक, साहित्यकार, कवि, गणित र ज्योतिषका श्रष्टा, उपपत्तिकार, चिन्तनशील परिश्रमी, एशियाकै विशिष्ठ विद्धान्, सच्चा साधक, सिद्धान्तकार आदि सयौँ खालका विशेषणद्धारा पटक पटक विभुषित गरिएको छ र यी सम्पूर्ण विशेषणका शब्दावलीको सीमाले घेर्न सकिँदैन । त्यसैले उहाँ सर्वज्ञ जसरी स्मरण गर्‍यो वा बुझ्यो त्यहि व्यक्तित्व हो एक विशाल विश्वकोश कै रूपमा लिँदा पनि अतियुक्ति जस्तो लाग्दैन ।

उहाँका ज्योतिष प्रथम भाग (२०१०), संक्षिप्त गोलविमर्श तथा हिन्दू गणितको उत्कर्ष (२०२४), गोलबोध प्रथम भाग (२०३४), सुमतितन्त्रम् प्रथम भाग (२०३५), वृत्तशतकम् (२०३५), पण्डित गोपाल पाँडे र उनको घनमूल ल्याउने रीति (२०३७), प्राचीन गणित र नवीन गणितको तुलना (२०३९), त्रिकोणमिति (ज्योत्पत्ति) (२०४०), कालचक्रको ज्योतिष भाग र त्यसको विवेचना (२०४४), हिन्दुसिद्धान्त ज्योतिष र ग्रीकसिद्धान्त ज्योतिषको तुलना पहिलो भाग (२०४६), रत्नदीप प्रथम (२०४७), रत्नदीप द्वितीय (२०६१), दैवज्ञ शिरोमणि लक्ष्मीपति पाँडेको धुपघडी, लिच्छविसम्वत्को निर्णय आदि कृतिहरू प्रकाशित छन् ।

यस्ता मूर्धन्य व्यक्तित्वको वि.सं. २०५९ साल कार्तिक १८ गते लक्ष्मी पूजाका दिन पशुपति आर्यघाटमा दुःखद निधन भएको थियो । जसबाट राष्ट्रले अपुरणीय क्षति व्यहोर्नु पर्‍यो।

शनिबार, गोरखापत्र
श्रावण २९, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *