नेपालमा वर्षभरि थुप्रै चाडपर्व जात्राहरू मनाउने गरिन्छ । नेपालमा श्रावण शुल्क पूणिर्माको दिन मनाइने चाड हो जनै पूणिर्मा जनै पूणिर्मालाई रक्षाबन्धन पनि भन्ने गरिन्छ । मलमास परेका वर्षमा भने जनै पूणिर्मा भाद्रमा पर्छ । जनै पूणिर्मालाई उपत्यकामा गुंपुन्हिको नामले मनाउने गर्दछन् । यसलाई उपत्यकाबासीहरूले क्वाँटि पुन्हि पनि भन्ने गर्छन् । क्वाँति भनेको नौप्रकारका गेडागुडी केराउ, भटमास, बोडी, सिमी आदि मिसाएर बनाइएको एक प्रकारको खाद्यान्न हो । उपत्यका वरिपरि नेपाल मण्डलका नेवारहरूले यस दिन क्वाँटि खाने गर्ने गरेकोले यसलाई क्वानि पुन्हि भन्ने गरेको हो ।
हाम्रा चाडपर्व जात्राहरूको आ-आफ्नो महत्व र उद्देश्यहरू छन् । विविध जातजाति भाषाभाषी विविध संस्कृति, सामाजिक संस्कार, धर्म, समुदायका मानिसहरू बसोबास गर्ने नेपालमा विभिन्न आदिवासी जनजातिहरूको आ-आफ्नै परम्परागत सस्कृति सामाजिक संस्कार रीतिरिवाज, चाडपर्व जात्राहरू छन् । यिनीहरू आ-आफ्नो चलनअनुसार चाडपर्व जात्राहरू मनाउने गर्दछन् ।
नेपालमा राष्ट्रियस्तरमा क्षेत्रीयस्तरमा र स्थानीय स्तरमा विभिन्न चाडपर्वहरू मनाइने गरेको छ । आजको आधुनिक युगमा युवा पुस्ताहरू पश्चिमा संस्कृति पश्चिमा सभ्यताप्रति आकषिर्त भएको देखिएता पनि हामी आफ्नो परम्परागत सस्कृति, चाडपर्व जात्राहरू घुमघामकासाथ मनाउने गर्दछौँ । वर्षभरि मनाउने परम्परागत चाडपर्व जात्राहरूको आ-आफ्नो महत्त्व र उद्देश्यहरू छन् । कृषि प्रधान देशनेपालका अधिकांश जनता कृषि पेशामा लागेका छन् । असार श्रावण महिना भनेको रोपाईंको समय हो । यतिबेला कृषकहरूको फुर्सदनै हुँदैन । एक त रोपाईंको बेला बेफुर्सदी अर्को मनसुनको समय हो भने धेरैजसो कृषकहरूको रोपाइको काम धन्दा सकिसकेका हुन्छन् । यसले गर्दा शरीर अलि कमजोर भएको हुन्छ । कमजोर भएको बेला क्वाँटि खायो भने शरीरमा तागत आउने र भएको कमजोरी विस्तारै हराउँदै जाने भएकोले गुंपुन्हि अर्थात् जनै पूणिर्माका दिन क्वाँटि खाने गरेको हो । यस्ता गेडागुडीहरूमा प्रशस्त प्रोटिन, कार्बोहाइडे्रड, भिटामिन, आइरन हुन्छ । पहिला पहिला नेवारहरूले मात्र खाने गरेका क्वाँटि अचेल सबैले खाने गरेको पाइन्छ । यस दिन ऐतिहासिक पर्यटकीय स्थल गोसाईंकुण्डमा ठूलो मेला लाग्छ । देश विदेशबाट थुप्रै भक्तजनहरू गोसाइकुण्डमा पुगी पवित्र कुण्डमा नुहाइ शुद्ध भएर पूजापाठ गरी हातमा डोरो बाँध्ने गरिन्छ । गोसाईंकुण्ड जान नपाएका र जान नसकेकाहरू भने ललितपुरको कुन्ती महादेव स्थानमा गएर नुहाउने गर्छन् ।
जनै पूणिर्माको भोलिपल्ट प्रतिपदाको दिन गाईजात्रा मनाउने गरिन्छ । उपत्यकाका नेवारहरू भने यसलाई सापारु भनेर मनाउने गर्छन् । गाईजात्रा भनेर एकहप्तासम्म विभिन्न कार्यक्रमहरू गरि मनाउने गर्छन् । उपत्यका, उपत्यका वरिपरि अथवा नेपाल मण्डलका नेवारहरू यस दिन सायाः पठाउँछन् (शाक्य, बज्राचार्य, तुलाधरबाहेकका) सायाः भनेको गाईको प्रतिरूप बालकहरूलाई सिङ्गार पटार गरी गाईको प्रतीक मानी नगर परिक्रमा गराइन्छ । वर्षभरिमा आफ्ना परिवारका सदस्यको मृत्यु भएमा मृतकका घरबाट सायाः पठाउनुपर्छ । सायाः भनेको मृतकको घरबाट मात्र पठाउने गरिन्छ । आफ्नो परिवारको कुनै सदस्यको मृत्यु भएमा गाइजात्राका दिन गाई दान गरेमा मृतकले परमधाममा सजिलै बास पाउँछ भन्ने जनविश्वास छ । गाइजात्रामा गाई दान गरेमा मृतकले परलोक जाँदा नदी तर्नका लागि हो भन्ने गरिन्छ । मृतकको घरबाट सायाः पठाउँदा मिठाइ, रोटी, फलफूल पैसा दान दिने पनि चलन छ भने यस दिन सायाः छलाइ फलफूल पैसा जुस दुध खुवाउनेहरू पनि थुप्रै हुन्छन् । सायाःलाई हनुमान ढोका दरबार परिक्रमा गराउने चलनको बारेमा एउटा भनाइ पनि छ । आफ्नो छोराको मृत्युमा शोकमा डुबेका आफ्नी रानीलाई हाम्रो छोराको मात्र मृत्यु भएको होइन जनताका आफन्तहरू पनि थुप्रै मरेका छन् भनेर देखाउनको लागि मल्ल राजा प्रताप मल्लले सायाः लाई आफ्नो दरबारको परिक्रमा गर्नु पर्ने नियम बनाएको भनिन्छ ।
नेपालमा मनाइने कतिपय चाडपर्वहरू आफ्नो परम्परागत संस्कृतिलाई निरन्तरता दिनका लागि मात्र नभई कतिपय जात्राहरू मनोरञ्जन गरी मनाउने गरेका छन् । गाइजात्रालाई पनि मनोरञ्जन गरी मनाउने पर्वको रूपमा लिन सकिन्छ । गाइजात्राको दिनदेखि एकहप्तासम्म विभिन्न मनोरञ्जनका कार्यक्रमहरू, नाचगान नाटक हास्य व्यङ्ग्यका कार्यक्रमहरू गरी मनाउने गरिन्छ । गाइजात्रामा थुपै्र कलाकारहरू भ्याइ नभ्याइ हुन्छन् ।
पहिला पहिला अहिलेको जस्तो सञ्चारका माध्यमहरू सञ्चारक साधनहरू पाइँदैनथ्यो । त्यसबेलाको शासन व्यवस्थामा जनताका कुराहरू जनताका समस्याहरू राजा कहाँ वा सम्बन्धित निकायसम्म पुर्याउन वा राख्नकालागि गाइजात्राका अवसर पारेर जनता आ-आफ्ना कुराहरू, समस्याहरू, देशमा समाजमा भइरहेका विकृति विसङ्गतिहरू र विरूद्ध सडक सडकमा चोक चोकमा डबली डबलीमा व्यङ्ग्यको रूपमा नाच गान नाटक गरी सम्बन्धित निकायको ध्यान आकृष्ट गराइन्थ्यो । यसकारणले यस्ता नाटकहरू नाटक मण्डलीहरू राजाको दरबार गएर जानुपथ्र्यो । केहीवर्ष अगाडिसम्म पनि गाइजात्राका अवसरमा उपत्यकाका सडक सडक खुला डबलीहरूमा हास्य व्यङग्यका विविध मनोरञ्जनका कार्यक्रमहरू हुने गर्दथ्यो । अचेल भने यस्ता कार्यक्रमहरू हलभित्र गर्ने गरिन्छ ।
हाम्रा पूर्वजहरूले चाडपर्व जात्राहरू मनाउनका लागि मात्र यस्ता चलनहरू चलाएको होइन भन्दा पनि हुन्छ । यी यस्ताचाडपर्व जात्राहरू मनाउनुमा आफ्नै प्रकारको महत्त्व, विशेषता र उद्देश्यहरू छन् । यी यस्ता पर्वहरू मनाउँदा समय सुहाउँदो मौसम सुहाउँदो ऋतु आदि र आफ्नो स्वास्थ्यलाईसमेत ध्यान दिएको पाइन्छ । सधैँ काममा व्यस्त भइरहने व्यक्तिहरूले कहिले काहीँ बेला मौकामा रमाइलो पनि गर्नुपर्दछ र मौसमअनुसार खानेकुराहरू पनि खाने गर्नुपर्छ भनेर यस्ता चाडपर्व जात्राहरूको चलन चलाएको हुनसक्छ । यी यस्ता चाडपर्व जात्राहरू हाम्रो आफ्नो मौलिकता हो भने यो हाम्रो संस्कृति पनि हो ।
गोरखापत्र, शनिबार
भाद्र १०, २०६७
