नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ । गजल विषयक ग्रन्थहरू पनि धमाधम प्रकाशनमा आइरहेका छन् । यसै क्रममा पवर्तका स्रष्टा आर.के अदिप्त गिरिले ‘ई समकालीन नेपाली गजल’ नामक एउटा सुन्दर ग्रन्थको सम्पादन गरेका छन् । यस ग्रन्थभित्र नेपालका प्रायः सबै स्थापित र स्थापितोन्मुख गजलकारहरू समेटिएका छन् ।

यसमा सम्पादक गिरिको मिहिनेत र गजलप्रतिको अपार प्रेमलाई मुक्तकण्ठले प्रशंसा नगरी रहन सकिँदैन । नेपाली गजललाई एउटा सुन्दर कृति ‘नगरा घन्कन्छ’ प्रदान गरेका छन् आर.के अदिप्त गिरिले ।

तिनै स्रष्टा आर.के अदिप्त गिरि आफ्नो मौलिक गजल कृति लिएर अहिले पाठकसामु आएका छन् । यस अवसरमा म गजलकार गिरिलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । गजलकार गिरिका समकालीन परिवेशका विविध पाटाहरूको उद्घाटन भएको छ । आफू बाँचेको समय र समाज उनका गजलहरूमा कतै न कतै अवश्य अभिव्यक्त भएका छन् ।

यौटा यस्तो जीवनगाथा जन्माउनु छ हाम्ले ।
अन्यायका साँधसीमा भत्काउनु छ हाम्ले ।।

यसरी न्यायमूलक समाजको स्थापनाका लागि गजलकारले कतै न कतै यस्ता चोटिला सेरहरू मार्फत् हाम्रो मस्तिष्कलाई झङ्कृत पार्छन् । यस्तै जिन्दगी हार र जीतसँगै अघि बढिरहन्छ भन्दै उनी दार्शनिक पारामा यस्तो सेर लेख्न पुग्छन्-

कैले हार कैले जीत जिन्दगानी हो
जिन्दगी यो खहरेको बग्दो पानी हो ।

मूलतः सामाजिक-राजनीतिक विसङ्गति र अन्यायका विरुद्ध नजानिँदो किसिमले आफ्ना अधिकांश गजलहरूमा भावना पोख्ने गजलकार आर.के.अदिप्त गिरि यथार्थवादी गजलकार हुन् । मानिसले वर्तमानमा भोग्नु परिरहेका पीडाहरूले यी गजलहरूमार्फत् वाणी पाएका छन् । यसका साथसाथै उनका गजलहरूमा कतै-कतै स्वच्छ प्रेमानुभूति पनि पाइन्छ । प्रेम र शृङ्गारका नाउँमा नाङ्गा र निम्नकोटीका सेरहरूमार्फत् ‘वाहवाही’ पाएर फुर्किँदै धोती खुस्केको पत्तै नपाउने केही प्रवृत्तिहरूलाई यो एउटा जवाफ पनि हो । शिष्ट, शालीन र गम्भीर गजलहरूमार्फत् हामीले आफ्ना कुरा पाठकका हृदयसम्म सञ्चार गर्न सक्नुपर्छ । विचारका नाउँमा ठाडो नारा र सौन्दर्यका नाममा देखिने नाङ्गोपन, यी दुइटै ‘अति’ हुन् । त्यसकारण विचार र सौन्दर्यको उचित समायोजनद्वारा मात्र सिर्जना जीवन्त हुने गर्दछ । यतातिर हामी सबै सर्जकहरूले ध्यान पुर्‍याउनु नै पर्छ ।

गजलमा जतिसुकै परिवर्तन र क्रान्तिका कुरा गरे पनि त्यो भाव सुललितरूपमा कोमलता र हार्दिकतासाथ अभिव्यक्त भने हुनैपर्छ । गजल आफैमा कोमल र हार्दिक विधा हो । आफ्ना भावहरूलाई अझै कोमलता र हार्दिकता प्रदान गर्नमा गजलकार गिरिले गम्भीरतापूर्वक साधनारत रहनुपर्छ भन्ने मलाई लागेको छ । यसका साथै जतिसुकै अत्याधुनिकताका कु्रा गरे पनि गजल शास्त्रीय विधा हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन । शास्त्रीयता विचारमा होइन । यसको रूप पक्ष अर्थात् संरचनात्मक पद्धतिमा निहीत छ । गजलको लय र यसका अत्यावश्यक आन्तरिक र बाहृय तत्वहरूसँग परिचित हुँदै गजल रचना गर्नु प्रत्येक गजलकारको धर्म हो । विशेष गरी गजलका प्रत्येक पङ्क्तिहरू एउटै लय, मात्रा वा मिटरमा आबद्ध हुन्छन् भन्ने कुरा अर्को महत्त्वपूर्ण पक्ष हो । चाहे शास्त्रीय छन्दमा लेखियोस् वा स्वनिर्मित छन्दमा, गजलमा मात्रा वा लयको एकरूपता भने हुनैपर्छ जस्तो कि गजलकार गिरिकै एउटा सेरको उदाहरण ः

देशका लागि बाँच्न सकौँ, देशका लागि मर्न सकौँ
हाम्रो सानो पौरखलाई यै माटोमा छर्न सकौँ ।

हो, यसरी नै लयको निर्वाह हुनुपर्छ । गजलकार गिरिका धेरै गजलहरूमा लयभङ्गको स्थिति देखापरेको छ तर उनको निरन्तर अभ्यास र लगनले यो कमजोरीबाट उनलाई माथि उठाउने छ । गजललाई यति धेरै प्रेम गर्ने आर.के अदिप्त गिरिले लय, काफिया, भाषा र भाव सम्प्रेषणमा अझै धेरै सचेतता देखाउँदै आफ्नो आगामी गजल यात्रालाई अघि बढाउने विश्वास गर्न सकिन्छ ।

पुस्तक ः नगरा घन्किन्छ (गजलसङ्ग्रह)
कवि ः आरके अदिप्त गिरि
प्रकाशक ः ऋतुरङ साहित्य प्रतिष्ठान, पर्वत
संस्करण ः प्रथम, २०६५
पृष्ठ ः १५०
मूल्य ः रु. १५०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *