Skip to content

पुवामाई होटल र डिकमान विरही

  • by


मेची अञ्चलस्तरीय महानन्द पुरस्कार स्थापना भएको २२ वर्षपछि २०६६ सालमा यो पुरस्कार समर्पण समारोहको आयोजना पाँचथरको सदरमुकाम फिदिमले गर्ने भएको थियो। ०४३ सालमा स्थापित यस पुरस्कारको समारोह पहिलोपल्ट ०४४ वैशाख ३० गते झापाको शनिश्चरेबाट सुरु गरिएको थियो। मेची अञ्चलस्तरीय भएकाले पालैपालो चारै जिल्लामा समारोहको आयोजना गर्ने धारणा रहे पनि झापा र इलामभन्दा माथि यो समारोह चढ्न सकेको थिएन। महानन्द पुरस्कार समारोह महानन्द महोत्सवका रूपमा सम्पन्न हुन्छ। तीन दिनसम्म भव्य रूपमा सम्पन्न हुने यस समारोहमा पहिलो दिन पुरस्कार समर्पण, महानन्द सापकोटासम्बन्धी विशेष परचिर्चा, समसामयिक विषयमा छलफल तथा प्राकृतिक स्थलहरूको दृश्यावलोकन, दोस्रो दिन बृहत् कवि गोष्ठी तथा कविता प्रतियोगिता र तेस्रो दिन कार्यक्रमको समापन तथा बिदाइ कार्यक्रम हुन्छ।

यसपालि बेलैदेखि नै फिदिमका साहित्यिक मित्रहरूले महानन्द समारोहको तयारी सुरु गरसिकेका थिए। कृति प्रकाशन तथा विमोचन, सांस्कृतिक कार्यक्रम, झाँकी तथा र्याली आदिको भव्य तयारी गरिरहेका थिए। पाँचथरबाहिर देश तथा भारतबाट समेत दुई सय पाहुनाको व्यवस्थापनका तयारीमा थिए।

यता इलाम-काठमाडौँ सम्पर्क समितिले काठमाडौँबाट पनि ३० जनाजति साहित्यकारहरूलाई लैजाने तयारी गरिरहेको थियो। अघिल्लोपल्टको महानन्द पुरस्कार समितिको अध्यक्षको नाताले मैले पनि यस कार्यक्रममा विशेष सक्रियता देखाउनुपर्ने नै थियो। काठमाडौँबाट फिदिमसम्म लेखकहरूलाई पुर्याउने र सकुशल फिर्ता ल्याउने क्रममा आवश्यक आर्थिक तथा भौतिक व्यवस्थापनमा व्यस्त भइयो।

यसपल्टको पाँचथरको कार्यक्रम विशेष महत्त्वको किन थियो भने पाँचथरकै पुत्र वैरागी काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुभएको थियो र गद्यतर्फको सम्मान पुरस्कार पाँचथरकै विशिष्ट प्रतिभा थाम्सुहाङ पुष्पलाई समर्पण गरिने भएको थियो। त्यसो त पाँचथरमा जन्मेर अन्यत्र पुगेका विशिष्ट व्यक्तित्वहरूलाई पनि यसपालि सकेसम्म उपस्थित गराउने तयारी गरिएकै थियो।

काठमाडौँबाट जाने क्रममा सीताजी पनि पहिलोपल्ट आफ्नो ससुराली जिल्ला पाँचथर जानका लागि भनी अगाडि नै झापा पुगिसक्नुभएको र विशेष तयारी क्रममा म एक दिनअघि नै प्लेनबाट भद्रपुर उत्रेँ। त्यही प्लेनमा कुलपति वैरागी काइँला, भाउज्यू र विक्रम सुब्बा पनि उत्रनुभयो। झापाबाट साहित्यकारहरूलाई लिएर जान यातायातको विशेष व्यवस्था गरिएको थियो।

चैत २ गते बिहान ११ बजेतिर दुइटा बस र दुईवटा जिपमा झन्डै एक सय जनाजति साहित्यकारहरूको यात्रा प्रारम्भ भयो। झापा, मोरङ, सुनसरीका साहित्यकारहरूको त्यस यात्रामा नयाँ र पुरानो पुस्ताको रमाइलो संयोजन थियो। बसले बर्ने टेक्न नपाउँदै कविहरू रोमान्टिक हुन थालिसकेका थिए। बर्ने चिया बगानको हरयिोले साहित्यकारहरूभित्र वातावरणीय चेतना बौरिन थालेछ। मुक्तक र गजलको जुवारी चल्न थालेपछि गाडीभित्र हाँसोको फोहोरा छुट्न थाल्यो। स्टेरङि्मा बसेको चालक समेत पछि र्फकेर हाँस्न थालेपछि मेरो चाहिँ पाखुराका रौँ डरले ठाडोठाडो हुन थाले। ड्राइभरकै बायाँपट्ट िसमानान्तर सिटमा बसेका सीताजी र म भने रमाइलो सँगै मिसिएको डरले पिलिएको घाउजस्तो हुँदै थियौँ। चालक उत्तेजित हुनु भनेको दुर्घटनाको ठूलो सम्भावना सक्रिय हुनु हो। तर, चालकलाई हामी त्यसो नगर भन्न पनि सक्दैनथ्यौँ। केही समयपछि हामीलाई थाहा भयो, चालक ज्यादै अनुभवी र होसियार रहेछन्। हाम्रै मनको डर मात्र ठूलो रहेछ।

भेटघाट चौतारीका बेर्ना भाइबहिनीहरूका गजलले यात्रालाई साह्रै नै रोमाञ्चक बनाइरहेको थियो भने टंक विकल्प, केशव आचार्य, खिलप्रसाद सिवाकोटीहरूको नेतृत्वको दोहोरी र नृत्य टोलीले कुदिरहेकै गाडी हल्लाएझैँ लाग्थ्यो। यस्तो यात्रामा प्रायः सहभागी हुने मौका नपाएकी सीताजी र शारदा भाउज्यू (केशव आचार्यकी पत्नी)हरूका भने ओठ च्याप्प हुन पाएका थिएनन्। छोरी उमेरका बच्चीहरूका गजलमा बेलाबेला तुक्का थप्न खोज्नुहुन्थ्यो उहाँहरू पनि तर ठिटे गजलको जवाफी थिचाइले चुपचाप।

म पनि त्यति भलाद्मी खाले त होइनँ तर यो गजल भने कहिलै लेखिएनछ। यस्तो भर अभरमा खुबै काम लाग्ने यस विधामा सामान्य जाँगर चलाएकै भए पनि हुने रहेछजस्तो चाहिँ मनमा लागिरह्यो। उहिल्यै अर्थात् ०४० सालतिर अहिलेको गजलकै जस्तो मुक्तकको जमाना थियो। मुक्तक नलेख्नु, मुक्तक नभन्नु भनेको त्यो गोष्ठी नजम्नु र कवि नै नहुनुजस्तो हुन्थ्यो। त्यस कालको मुक्तकबाजका रूपमा स्थापित थिए कवि केशव आचार्य। त्यसो त मैले पनि सयौँ मुक्तकहरू लेखेको थिएँ। हरेक गोष्ठीमा जाँदा पहिला मुक्तक नभनी कविता भन्नै पाइँदैन थियो- अचेल गजल भनेको जस्तो।

मुक्तक र गजलमा ठूलै भिन्नता रहेछ भन्ने लाग्दै थियो मलाई। त्यो रमाइलोमा चलेका अधिकांश गजलले प्रेम प्रणय र यौनव्यंग्यको ध्वनि तीव्र बनाएका थिए। त्यसैले पनि गाडीभित्र अनौठो होहल्ला थियो। तर, मुक्तकमा गजलको जस्तो प्रेम प्रणय चेतभन्दा सामाजिक र राजनीतिक व्यंग्य धेरै हुन्थ्यो। मुक्तकले प्रेमीलाई फकाउन गाह्रो थियो उतिबेला। सायद त्यसै भएर त्यसबेलाका हाम्रा सबै कविताहरू विचार प्रधान भए होला।

झन्डै १ बजेतिर गाडी पुवामाईको किनारमा एकछिन रोकियो। साथीहरू पानी खान वा पेटको पानी विसर्जन गर्न गाडीबाट ओर्ले। हामी पनि ओर्लियौँ अर्थात् सीताजी र म। बाहिर निस्केपछि झ्वाट्ट आँखामा एउटा साइनबोर्ड पर्यो ‘पुवामाई होटल’। यस साइनबोर्डले एकाएक दिमागमा तीखो पीडाको स्मरण गरायो। मन चिसो भयो, अनुहार अँध्यारिएको र चाउरिएको भयो होलान्।

०५७ साउन १८ गते फिदिममा पहिलो मेची अञ्चलस्तरीय गजल महोत्सव भएको थियो। त्यस महोत्सवको प्रमुख अतिथिका रूपमा मलाई निम्त्याइएको थियो र झापाबाट डिकमान विरही, प्रकाश आङ्देम्बे, धनकुटे कान्छा, सुन्दर कुरूप, विवश बलिवद्र कोइरालालगायत सात-आठ जना गएका थियौँ। त्यो दिन हामी यही ठाउँमा उत्रेर यही होटलमा बिहानको खाना खाएका थियौँ। मैले हेरेँ, तिनै टेबल र कुर्सीहरू थिए, जहाँ हामीले रमाउँदै खाना खाएका थियौँ र डिकमानजी बातैपिच्छे हँसाइरहनुभएको थियो।

डिकमान विरही ताप्लेजुङमा जन्मेर झापामा उभिएका पूर्वका विशिष्ट कविमा चिनिनुहुन्थ्यो। खासगरी व्यंग्य क्षेत्रमा उहाँको दख्खल उल्लेख्य थियो। त्यसो त गम्भीर कविता, निबन्ध र कथामा पनि उहाँको योगदान थियो। खासगरी पत्रकारतिालाई नै पेसा बनाउनुभएका उहाँले आफ्नो सम्पूर्ण समय अक्षर खेतीमा बिताउनुभएको थियो। उहाँको हँसाउने बानीलाई यस पीडाको मनले पनि झल्याँस्स सम्झ्यो।

त्यो दिन पनि यात्राभरि यस्तै रमाइला गजल र मुक्तकमा रमाउँदै आइरहेका थियौँ। धुरन्धर गजलगोहरूका बीच म एउटा मात्र नगजलवाला थिएँ। डिकमानजी पनि गजल लेख्नुहुन्थ्यो तर उहाँका गजलभन्दा मुक्तक नै लोकपि्रय थिए। त्यसबेला उहाँका ‘तल-माथि’ शृंखलाका मुक्तकहरू चलिरहेका थिए। हास्यव्यंग्यमिश्रति यी मुक्तकहरूले जहाँ पनि श्रोतालाई हुरुक्क पार्ने गरेका थिए। भाइहरूले गजल भनेर थकाइ मार्न थालेपछि डिकमानजीका मुक्तक सुरु भएका थिए। केही नयाँ मुक्तकहरू मैले पनि सुनाएँ तर पछिल्लो कालमा म बढी गद्यतिर अलमलिएकाले कविता र मुक्तक मबाट एक्लिँदै थिए।

डिकमानजीका ‘तलमाथि’ मुक्तकले केटाहरूलाई बसेकै ठाउँमा लगातार उफारिरहेको थियो। साउनको झमझमे पानी र बाहिर डम्म कुइरो लागेको वातावरणमा मुक्तक भने फुटेका फुट्यै थिए। फेरि डिकमानजीमा तुरुन्त मुक्तक बनाउने कला थियो। कुरैकुरामा उहाँले भन्नुभो, “ल धरावासीजी ! तपाईं शीर्षक दिनोस्, म तुरुन्त मुक्तक भन्छु।” अनि, सुरु भयो रमाइलो। शीर्षक दिँदादिँदा म थाकेँ। अब म जे पायो, त्यही शीर्षक दिन थालेँ। तर, डिकमानजी मुक्तक भन्न थाकेनन् बरु हाँस्नेहरू थाक्यौँ।

यस्तै बेलामा गाडी आएर यहाँ रोकिएको थियो र हामी उत्रिएर जीउ तन्काउँदै खान थालेका थियौँ। खाना खाइसकेर फेरि गाडीमा बस्यौँ र यात्रा प्रारम्भ भयो।

अघाएको पेटलाई जागिर दिनुपर्ला। “धरावासी दाइ ! फेरि दुई-चार शीर्षक दिनु न, डिकमान दाइलाई,” प्रकाश आङदेम्बेले भने। मैले पनि फ्याट्टै एउटा शीषर्क दिएँ।

‘०५७ साउन १८ गते पाँचथरको फिदिममा आयोजित मेची अञ्चलस्तरीय गजल महोत्सवमा भाग लिन फिदिम जाँदा पुवामाई होटलमा भात खाँदा’। लौ यस शीर्षकमा मुक्तक भन्नोस्- उहाँले फ्याट्ट भन्नुभोः

तलकाले थाप्नसम्म थाप्यो
माथिकाले खाप्नसम्म खाप्यो
काम सकिएपछि,
नाइटोले घाम ताप्यो।

अब त ड्राइभरले नै स्टेयरङि् घोड्लाजस्तो भयो। झन्डै साँखेजुङको उकालोभरि अर्को शीर्षक पनि दिनुपरेन र मुख च्याप पनि भएन। वास्तवमा त्यसपछि म डिकमानजीसँग कायल भएको थिएँ। हुन पनि त्यो दिन होटलमा भात खाँदा साथीहरूले यति भात थपेका थिए कि भात थप्ने मान्छेको अनुहार नै बिगि्रएको थियो। भाइहरूको कसले धेरै खाने प्रतियोगितामा ‘पुवामाई होटल’ जिल्ल परेको थियो।

आज यस यात्रामा यहाँ आइपुग्दा त्यो होटल र साइनबोर्ड जस्तोका त्यस्तै छ। पैसा थाप्न गल्लामा बस्ने मान्छे उही छ तर हामीसँग यस यात्रामा डिकमानजी हुनुहुन्न र अब कुनै यात्रामा पनि उहाँलाई भेटिने छैन। किनभने, ०६४ को हिउँदमा उहाँको अकस्मात् निधन भइसकेको छ। महानन्द पुरस्कारले सम्मानित डिकमान विरहीको साहित्यिक व्यक्तित्वको पुनः स्मृति गराएको थियो, पुवामाई होटलको साइनबोर्डले।

महानन्द पुरस्कार समारोहमा फिदिम गइरहेको त्यस यात्रामा त्यसपछि पनि गाडीभित्र रमाइलो भइरह्यो तर मेरो अनुहारमा हाँसो फुर्न छोड्यो। छेउमा बस्नुभएकी सीताजीले सोध्नुभो। मैले ‘केही होइन’ भनेर टाउको मात्र हल्लाइरहेँ ।

नेपाल साप्ताहिक ४०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *