बानेश्वरमा प्रदर्शन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाँच पनि सकियो । जोक्कर-नोक्कर, मालिक-बालिक, अझाउ-बझाउ, खलनायक पात्रहरू आए पनि नायक आएन । सायद देशले अँझै मान्छे पाएन । बिना निर्देशकका पात्रहरूको जात्रा हेर्दा परिपक्वता नै देखियो । अब यो गाईजात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बेदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन ।
हाम्रो संस्कृति र प्रवृत्तिको पनि राम्रो प्रचार हुने । अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने, त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ । फेरि नायकले काम र दाम नपाउदा मलाई नालायक भन्न सक्छ । यो गाईजात्राको अलिकति आलोचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मन्चमा पहलमानी देखाइएको छैन । द्वन्द पक्ष कजोर देखियो । फिल्मको जस्तो कुर्सी, सिसा भाँचेको र तरुनी पात्रहरू भएर पनि कम्मर भाँचेर नाचेको देखिएन ।
यो नाटकको अन्तमा दुइचार जनालाई मन्त्री बनाउने र यसैको उपलक्ष्यमा नेपाली साम्बा नृत्य प्रस्तुत गरेमा यो गाईजात्रे नाटक भाग पाँच मात्र हैन, सयौं भाग चल्नेछ । नेपाली सेनेमाको रेकर्ड मात्र हैन, अहिलेसम्मको सबै गाईजात्रे ईतिहास तोडनेछ भन्ने कुरो झानेको सेकुवा खाँदै ठोकुवा नै गर्छु । यसो गर्दा नाटकको पूर्णता पनि देखिने, बिदेशतिर लैजादा पनि अन्तरराष्ट्रिय क्वालिटिको हुने ।
यति गरियो भने, यो नाटक “हिट” मात्र हैन “सुपर-हिट” भएर ओस्कार पुरस्कार समेत नहुत्याउला भन्न सकिन्न । जय काउकुती ।
भाद्र २०६७
(प्रधानमन्त्री चयनमा संसद पाँचौं पटक असफल भएको सन्दर्भमा)

अब, छैटौं भाग पनि त आउन लागेछ
अब, छैटौं भाग पनि त आउन लागेछ नि त! गाइजात्राको नजिकमा समय सान्दर्भिक व्यंग्य पढ्न पाइयो।