Skip to content


‘मेरा त खेल्ने साथी पनि छैनन् । म कोसँग खेलूँ ?’ जिज्ञासु आमासँग प्रश्न गर्दै तल ओर्लियो ।

पानी परेर आँगन चिप्लो थियो । ऊ आँगनमा चिप्लेर डङ्रङ्ग पछारियो । आठ वर्षे जिज्ञासुले चारैतिर पल्याकपुलुकक हेर्‍यो । वरिपरि कोही पनि थिएनन् । ऊ जर्‍याकजुरूक्क उठ्यो ।

‘आहा ! फूलबारीमा कति राम्रो पुतली ! भुर्र उड्ने पो हो कि ?’ जिज्ञासुले भन्यो ।

आँगनको दुवैतिर सयपत्री, बाबरी, मखमली र गुलाब ढकमक्क फुलेका थिए । पुतली रङ्गीचङ्गी पखेटा पङ्खाजस्तै हल्लाउँदै थियो ।

जिज्ञासु चाल मारेर पुतलीको छेउमा पुग्यो । उसले पुतलीको पखेटा समाउन खोज्यो । पुतली त भुर्र उड्यो । ऊ उड्दै गई आरुको बोटमा बस्यो ।

‘कस्तो बाठो रहेछ यो पुतली त ! अब यसलाई कसरी समाउने होला ?’ जिज्ञासुले प्रश्न गर्‍यो ।

ऊ पुतलीलाई समाउन बुरूक्क उफ्रियो । तेस्रोपटक उफ्रँदा ऊ बल्र्याङ्ग पछारियो । पुतली रूखबाट रङ्गीचङ्गी पखेटा फिँजाएर उड्यो । जिज्ञासु लडेकै ठाउँबाट पुतलीलाई हेर्दै थियो । पुतली त अर्कोतिरको फूलबारीमा पो खस्यो । ऊ चाँडै नै लडेको ठाउँबाट उठ्यो ।

‘पुतली कहाँ बसेको छ ? उफ् ! म त हैरान भइसकेँ ।’ फूलबारीभित्र पस्दै जिज्ञासुले भन्यो ।

जिज्ञासु आँखा ठूला पार्दै भुइँमा यता उता हेर्न थाल्यो । पुतली त भुइँमा लडेको थियो । उसले निहुरेर पुतली समाउन खोज्यो । गुलाबको काँडाले जिज्ञासुको हातमा च्वास्स घोच्यो ।

उसले विस्तारै पुतलीको पखेटामा समायो । ‘पुतली अहिले किन उडेन ? यो बिरामी पो छ कि ?’ आश्चर्य मान्दै उसले पुतलीलाई हेर्‍यो ।

जिज्ञासु आँगनमा निस्कियो । उसले नियालेर पुतलीलाई हेर्‍यो । पुतलीको पखेटामुनि घाउ देखियो ।

‘यसलाई केले टोकेछ । औषधि पो खुवाउनुपर्‍यो ।’ जिज्ञासुले भन्यो । ऊ सरासर दौडेर घरभित्र पस्यो ।

‘आमा ! आमा ! ! ….’ जिज्ञासु करायो ।

‘के भयो बाबु तिमीलाई ?’ आमा सरिता दौडेर भान्साबाट बाहिर निस्किन् ।

जिज्ञासुले आमाको हात समाउँदै भन्यो- “हेर्नु न, मेरो साथी त बिरामी पो भएछ । यसलाई डाक्टरकोमा लैजानुस् न ।”

छोराको कुराले दङ्ग पर्दै सरिताले भनिन् “हुन्छ, हुन्छ । तिम्रो साथीलाई म राखिदिन्छु । पहिला तिमी हात धोएर खाना खान बस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *