कति दिन पो बित्छ र यस मान्छेसँग ?

मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्‍न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्‍न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्‍याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।

साथीहरू जिस्कन्थे, जिस्क्याउँथे पनि। उनीहरूमध्ये कतिले केटा साथीहरू छानिसकेका थिए, कतिले छान्न सकेका थिएनन्। मनमनमा मन पराएका केटाहरू आफ्नो छेउ नै नपर्ने गुनासो पनि थियो कतिको। कसैले टाढाका केटाहरूलाई पत्राचार गरेका थिए। जे होस्, हामी केटासाथीहरूको चर्चा, संसर्ग र खोजीतिर ढल्किँदै थियौँ।

म धेरै राम्री थिइनँ तर नराम्री पनि थिइनँ। साथीहरूका समूहमा म अलग्गै केही कुराले आकर्षक नै थिएँ झैँ लाग्छ। मनमा एक किसिमको अहम् जस्तो पनि थियो। आकृति स्पष्ट नभएको, नदेखेको, नचिनेको तर कुनै युवकको इच्छा भने हुन थालेको थियो। देखेका मध्ये, जुनै पनि कुनै न कुनै रूपले राम्रा लाग्थे तर ती किन राम्रा, केले राम्रा थिए – बुझ्दिनथेँ। तथापि तीमध्ये कुनैलाई पनि नायकका रूपमा सोच्न थालेकी भने थिइनँ।

धेरै-धेरै पढ्ने, के-के हुने, ठूलो मान्छे हुने आदि सपनाहरू थिए। यस संसारमा धेरै विकृति र कुचालहरू थिए र तिनलाई नाश गर्नुपर्ने थियो।समाजमा चलेका सैयौँ नराम्रा कुराहरूको भण्डाफोर पनि गर्नुपर्ने थियो। पढ्नमा निकै जाँगर चल्थ्यो। जान्ने भएर अरूलाई जित्‍न तथा कसैलाई देखाउन मन पनि थियो। तर त्यो ‘कसै’को टुङ्गो लागिसकेको थिएन। स्कुल जाँदा र फर्किँदा बाटामा केटाहरू पनि सँगै हुन्थे। एउटै गाउँटोलका साथीहरू सानैदेखिका सँगी पनि थिए। हाँसखेल, रमाइलो र झगडा पनि भइरहने। एकअर्कामा मर्यादा पनि नराखी ”तँ-तँ” चल्ने केटाहरू तर हाम्रा संरक्षकजस्ता पनि थिए। उनीहरू हाम्रा रक्षकजस्ता भइरहन्थे प्रायः। हामीले हेपे पनि, जे भने पनि तर अप्ठ्यारो पर्दा सहयोग गर्ने तिनीहरू नै हुन्थे।

तिनैमध्येका केही केटाहरू मसँग बेग्लै प्रकारले प्रस्तुत हुन सिक्दै थिए। लजाउने, धकाउने, भावुक हुने, बाटामा पर्खिबस्‍ने तिनीहरू, मलाई कुनै बेला सुरक्षा कुनै बेला सङ्‍घर्षजस्तो अनुभव हुन थालेको थियो। मुखले केही भनिहाल्न नसके पनि त्यसप्रकारले उनीहरूले मलाई विशेष रूपमा महत्त्व दिएको मन परेको थिएन। कहिले को कहिले को बाटामा आलेटाले गर्दै पर्खिबसेका हुन्थे। एक्लै स्वतन्त्र वा फुक्का हुन नपाएको अनुभव गर्दै थिएँ म। भित्र मनमा कतै त्यही पर्खिनेहरूमध्ये कसले पर्खेको चाहिँ राम्रो होला भन्ने पनि छुट्टिइसकेको थिएन। तर कुनै दिन बाटामा उनीहरूमध्ये कोही पनि भेटिएनन् भने त्यसैत्यसै दिक्क चाहिँ लागेजस्तो हुन्थ्यो।

यस्तै बेलामा, हाम्रो स्कुलमा एउटा नयाँ सर भर्ना भए। उनका बारेमा एकदुई दिनमै खुबै चर्चा भयो। उनले पढाउन थालेका कक्षाका साथी नयाँ सरको प्रशंसा गर्न थालेका थिए। नभन्दै एक दिन नयाँ सर हाम्रो कक्षामा पनि आए र अबको गणित विषय उनले नै पढाउने भए।

देख्तैखेरि खुसी लाग्यो। अनुहार, आवाज, उचाइ, हिँडाइ, हँसाइ सप्पै राम्रो लाग्यो। उमेर पनि हामी विद्यार्थीको भन्दा खासै धेरै थिएन। मनमा हर्कजस्तो भएर आयो। गणितमा कमजोरी अनुभव गर्थेँ तर नयाँ सरले पढाउन थालेपछि त्यस्सै सजिलोजस्तो लाग्‍न थाल्यो, जान्दै पो गएँ राम्रैसँग। स्कुल पुग्‍न हतार लाग्ने, छुट्टी भएको मन नपर्ने, बाटामा केटाहरूले पर्खेको दिक्क लाग्ने, कक्षामा सबैभन्दा अघिको बेन्चमा बस्‍न मन लाग्ने, के-के पो हुन थाल्यो मनमा।

एक दिन साँझ स्कुलबाट घर आइपुग्दा घरमा पाहुनाहरू थिए। तीनजनामध्ये एउटा भर्खरको युवक थियो। मैले नचिने पनि घरमा आएका पाहुनाहरूलाई शिष्टाचार पुर्‍याउँदै नमस्कार गरेँ र भित्र पसेँ। पिताजी पाहुनाहरूसँग कुरो गरिरहनुभएको थियो। आमा आफ्नै कोठामा धानधुन गर्दै हुनुहुन्थ्यो। म मेरो कोठामा पस्‍नेबित्तिकै भाउजू बत्तिएर आउनुभयो। राम्रोसँग पुस्तक समेत राख्‍न पाएकी थिइनँ, भन्नुभयो-

”नानी ! बाहिर आएका मान्छे चिन्नुभयो ?”
“देखेको भए पो चिन्नु ? को नि भाउजू तिनीहरू ?”

भाउजूले नराम्रो रिसाएझैँ झर्केको अनुहार पारेर भन्नुभयो – ”खै ? केही बुझ्दिनँ म यस घरको चाला। हामी आइमाईले बोल्नै नहुने। तपाईँको दादा पनि उस्तै बाबा पनि उस्तै। यति चाँडै तपाईँको बिहे गर्न के बितेको छ र ? तपाईँलाई हेर्न आएको रे।”

म छाँगोबाट खसेजस्ती भएँ। जीउ लल्याकलुलुक भयो। केही बोल्न सकिनँ। भाउजूको अनुहार एकोहोरो हेरिरहेँ। भाउजूको उमेर पनि मेरो भन्दा खासै धेरै थिएनँ। एक वर्ष अघिमात्र दाइसँग उहाँको विवाह भएको, एस.एल.सी. परीक्षा दिने बित्तिकै।

”कति पढ्ने मन थियो आफूलाई, पढ्न दिएनन्। तपाईँलाई पनि त्यस्तै हुने भो अब। राम्ररी हेर्नू आफ्नो बेहुलो।”

रिसाएरै बोलेर निस्कनुभयो उहाँ कोठाबाट। भाउजू निस्कनेबित्तिकै आमा पस्‍नुभयो। बडा दयनीय र जिज्ञासु भएर आमाको अनुहारतिर हेरेँ तर त्यहाँ भाउजूको अनुहारजस्तो भाव थिएन, बरू कुनै ठूलै उपलब्धि हात पर्न लागेको जस्तो गर्व थियो। भन्नुभयो – ”के भन्दै गई तेरी भाउजू ? ठूला मान्छेले गर्न लागेको काममा किन भाँजो हाल्न खोज्छे यो घरकी बुहारी भएर ? त्यसको कुरा नसुन् है जमुने।” निस्कि पनि हाल्नुभयो। मैले केही बोल्नै परेन।

राति धेरैबेरसम्म तिनीहरूले आमाबुबा, दाजुहरूसँग बात मारे। मैले अर्को कोठामा भित्तामा कान लगाएर सुनिरहेँ कुराहरू। कति बुझेँ, कति बुझिनँ। बुझे-नबुझेकालाई जोडजाड गर्दा निचोड थियो – ” केटाका बाबु छैनन्, ऊ बर्सीको हुँदै मरेका। विधवा छोरी र नातिलाई माइतीले आफैँसँग लगी केही वर्षपछि छोरीलाई अर्को बिहे गरिदिएका र नातिलाई मावलीले नै पालेका, हुर्काएका। धनी मावली भएकाले केटाको पैतृक सम्पत्तितिर कुनै चासो नलिएको, उनीहरूले नै एक अंश दिएको। मावलका हजुरबा, हजुरआमा दुवै बितिसकेका, सबै मामाहरूको आ-आफ्नै घर-व्यवहार सुरु भएकाले भान्जालाई पनि बिहे गरी अलग्गै व्यवहार गर्न छुट्याइदिने सोच भएको। राम्रो शीलस्वभाव भएकी घरानियाँ र व्यवहार थाम्‍ने केटीको खाँचो परेको। केटो सोझो, भलाद्मी, त्यस्तो उस्तो छट्याइँ-फट्याइँ नजान्ने, धेरै नपढेको भए पनि इमान्दार र गरिखाने प्रकारको रहेछ।”

सुनेर दिक्क लाग्यो। तत्काल केही गरिहाल्नु, बोली हाल्नु, विद्रोह गरिहाल्नु पनि सान्दर्भिक थिएन।

बिहान आमाले पाहुनाहरूलाई चिया पुर्‍याउन अह्राउनुभयो। स्वाभाविक थियो, घरमा आउने पाहुनालाई चिया पुर्‍याउनु तर यो विशेष बेलाको चिया पुर्‍याउनु भनेको त्यसै-त्यसै अप्ठ्यारोलाग्दो भयो। चिया पुर्‍याएँ, आएँ। तिनीहरूको अनुहार हेर्दा पनि हेरिनँ, हेर्न मन पनि थिएन। झन् त्यस टुहुरालाई देख्‍नुपर्ला भनी उसकै अनुहारतिर ढाड पारीदिएँ।

छिट्टै हिँडे स्कुल। बाटाभरि अनेक कुरा आइरहे मनमा। अब बिहे हुनेभो भन्ने कुरोले साह्रै नै पीर पर्‍यो। मनपर्दो गरी हाँस्‍न, खेल्न, पढ्न, रमाउन केही गर्न पाइएको थिएन। भर्खर एस.एल.सी. दिएकी भाउजूको बुहार्तन देखेर म दिक्क भएकी दिएँ। भाउजू बेलाबेला मेरा कोठामा मलाई पढाउने निहुँले रुनुहुन्थ्यो। उहाँ किन रुनुहुन्थ्यो त्योचाहिँ मैले सोधेकी थिइनँ।

बाटामा पर्खिबस्‍ने केटाहरूको माया लाग्न थाल्यो। हिजो घरमा आएको बल्ड्याङ्ग्रेभन्दा त बरू बाटोमा पर्खिने आफ्नै कक्षाका केटाहरू राम्रा थिए, तीभन्दा पनि राम्रा थिए स्कुलमा पढाउन आएका नयाँ सर।

स्कुल जानु मात्र भयो। पटक्कै पढ्न मन लागेन। टिफिनमै बिरामी भएको बहाना गरी छुट्टी मागेर घर आएँ। बाटैदेखि ज्वरो आउला जस्तो भयो, आइदेओस् ज्वरो बरु लामो बिरामी परूँ, बिहे टरोस् जस्तो पनि लागेको थियो तर त्यस्तो केही भएन, मनमा मात्र त्यस्तो लागेको रहेछ। छिट्टै घर आएको देखेर आमा खुसी हुनुभयो।

”राम्रै भयो, चाँडै आइस्। अब भोलिदेखि स्कुल जानुपर्दैन। लुगाफाटा किन्ने, गहना बनाउने काममा लाग्नुपर्छ। भन्नुमात्र बिहे, सजिलो त कहाँ हुन्छ र ? पात चाहियो, दुनाटपरा गाँस्‍नुपर्‍यो। कति काम छ कति। बिहे गर्ने भएपछि यति हतार नगरेकै भए पनि हुने नि। लोग्नेमान्छेलाई के छ र ? हाँकिदियो बस। गर्नुपर्ने त सप्पै आइमाईले।……….।”

आमा के-के बोलिरहनुभएको थियो, म सरासर कोठामा पसेँ र भित्रबाट चुकुल लगाएँ। आमाको कुरो सुनेपछि भने शरीर पानीपानी भएको थियो। डङ्‍ग्रङ्ग पल्टेँ खाटमा। आँखाबाट बलेँसीमा झरेको पानीको धाराझैँ आँसु बगिरह्यो।

खाना खाने बेलामा आमाले आएर धेरैबेर ढोका ढकढक्याउनुभयो, मैले ढोका खोलिनँ। त्यत्तिकै फत्फताउँदै जानुभयो। एकक्षणपछि भाउजू आउनुभयो। मैले बिस्तारै ढोका खोलेँ। कोठामा पसेकी भाउजू मभन्दा धेरै दुःखी देखेँ। साह्रै माया लाग्यो उहाँको। भन्नुभयो – ” नानी ! एक वर्षअघि यस्तै भएकी थिएँ म पनि। के गर्नु ? जतिसुकै ठूल्ठूला कुरा र भाषण गरे पनि हामी नारीलाई उस्तै हो। ………। हिँड्नुहोस् खाना खान।”

भोक थिएन। नबोली दुई गाँस खाएर उठेँ।

”हैन यो त भागमात्र बसी त, के भएको छ तँलाई ?” आमाको प्रश्न थियो।

बोलिनँ, लागेँ कोठातिर।

अनेकौँ कुराहरू आइरहे दिमागमा। साथीसङ्गीहरू आए, मलाई पछ्याउने केटाहरू आए, नयाँ सर आए। त्यो बल्ड्याङ्ग्रे टुहुरो आयो। रातभरि निद्रा लागेन। भविष्य कालो, अँध्यारो थियो। सबै खुल्ला बाटाहरू बन्द भएका थिए र एउटा मात्र बाटो अँध्यारो सुरुङतिर पसिरहेको थियो। त्यसको अघिअघि धिपधिपे बत्ती बोकेर बल्ड्याङ्ग्रे हिँडिरहेको थियो।

”त्यसलाई लोग्ने मान्नुपर्ने, त्यसकी स्वास्‍नी हुनुपर्ने, त्यससँग एउटै कोठामा, एउटै ओछ्यानमा सुत्‍नुपर्ने, त्यसलाई जे भने पनि गर्न जीउ छाडिदिनुपर्ने, त्यसो कुरो काट्न नहुने, त्यसलाई हजुर भन्नुपर्ने…।………।” सोच्तै जीउ सिरिङ्ग भएर आयो। आधा रातमै उठेर चिच्याऊँ जस्तो लाग्यो।

आजभोलि गर्दै दिन बित्तै गए, बिहेको तयारीका लागि धमाधम थियो। मलाई भने खासै जाँगर थिएन। साथीहरू भेट्न आए, रोए, गए। कसैले जिस्क्याए, गए। केटाहरू आए-भेटे, टुलुटुलु हेरेर गए। दिनदिनै मन गल्दै गयो, विद्रोह शान्त हुँदै गयो। बिहे नगरी नहुने भएपछि एक्लै छटपटाउनुको कुनै अर्थ थिएन। भाउजू पनि सम्झाउनुहुन्थ्यो- ”मान्छे राम्रै छ भन्छन्, आ-आफ्नो भाग्यको फल हो। धनसम्पत्ति प्रशस्तै छ रे। मावलीले पनि दिएको, बाबुपट्टिको पनि। अब धेर पीर नलिनू नानी। नराम्रो मान्छे पनि दिनदिनै अलिअलि, अलिअलि गर्दै राम्रो-राम्रैजस्तै हुँदै आउँछ।”

जति नै भए पनि त्यसप्रति मन फर्किन सकेन। राम्ररी नहेरेको मान्छे, त्यसै-त्यसै मन नपरेको। स्कुलबाट आउँदा झ्वाट्ट देखिएका तीनजनामध्येको एउटा केटो ठूलाठूला आँखा भएको मात्र याद छ। बिस्तारै आत्मसमर्पणजस्तो हुँदै गयो। मनमा आउन थाल्यो- ”ठीकै छ, गरिदिन्छु बिहे। आखिरी त्यससँग कति दिन पो बित्छ र ?”

यस्तो सोच्ता मन अलमल्ल पर्थ्यो। त्यससँग नबिते, कससँग बित्छ त जीवन ? तर त्यसको कुनै उत्तर थिएन तथापि मनमा बारम्बार दह्रो गरी एउटै कुरो दोहोरिरहन्थ्यो – ”त्यससँग मेरो कति दिन पो बित्छ र ?”

भनेकै समयमा बिहे भयो र धुमधामले भयो। लुगाफाटा, गरगहना माइतीपट्टिबाट पनि प्रशस्तै थियो, बेहुलापट्टिबाट पनि। साथीहरूले ”ब्युटी पार्लर” मा लगी राम्री पार्ने भएभरको प्रयत्‍न गरेका थिए तर मनमा भने कुनै प्रसन्नता थिएन। जिस्क्याउँथे- त्यसले मलाई कुनै लाजजस्तो पनि लाग्दैनथ्यो। बरु हेर न, म तिमीहरू सबैलाई के गरेर देखाइदिँदी रहिछु भन्ने लाग्थ्यो मनमा तर त्यो के गर्ने भन्ने चाहिँ टुङ्गो थिएन। यो निश्चित गरेकी थिएँ कि ऊसँग मेरो धेरै दिन बित्‍नेवाला चाहिँ थिएन।

एउटा अलग्गै राम्रै घर बनाइदिएको रहेछ नयाँ। त्यसैमा लगेर भित्र्याए। नयाँ घरमा सबैथोक नयाँ थियो। कताकता मनमा खुसीजस्तो पो भयो। मानिसहरू छाँटिँदै गएपछि मेरो कोठामा एकजना महिला पसिन्। झन्डै चार दशक उमेर खाएकी तिनले भित्रबाट ढोका बन्द गरिन्। मेरो छेउमा आएर बसिन् र बेहुलीको घुम्टो उठाएर अनुहारतिर हेरिन्। तिनका आँखा आँसुले भरिएका थिए तर अनुहार खुसीले भरिएको जस्तो थियो। भनिन्- ”नानी ! म तिम्री सासू हुँ नाताले, तर सामाजिक हक मलाई छैन। तिम्रो पतिकी आमा भएर पनि म तिम्रो ससुराकी विधवा भएर बस्‍न सकिनँ। कलिलैमा पति गुमाएकी अभागी नारी थिएँ। घरकाले साह्रै हेला गरेपछि माइतीको शरण परेकी मैले अर्को बिहे गर्नुपर्ने बाध्यता सहेँ। तर मैले आफ्नो छोराप्रतिको आमाको कर्तव्य कहिल्यै बिर्सेकी छैनँ। आज म मेरो अनाथ छोरो तिम्रो पोल्टामा हाल्न आएकी छु। तिमीले त्यसको ख्याल गर्नू आमा भएर। यसले बाबुको त अनुहारै देखेन, आमाको माया पनि पाउन सकेन। मावलमा हजुरआमा र माइजूहरूको औपचारिक मायाले हुर्किएको यो साह्रै दयनीयजस्तो देखिन्छ। थोरै बोल्ने, काम गरिरहने, हाँस्‍नै बिर्सिएजस्तो यसलाई जीवन सिकाऊ नानू ! धनको त कुनै अभाव छैन तिमीहरूलाई, तिमीले यस केटाको जीवनमा खुसी भर। सुखपूर्ण बितोस् तिमीहरूको जीवन।”

उनी मेरो कुनै उत्तर नपर्खी जुरुक्कै उठेर हिँडिन्। राम्री अनुहार पनि ठम्याउन पाएकी थिइनँ। पछाडिबाट मात्र देखेँ एक क्षण ढोकाको चुकुल नखोलुन्जेल।

मन नपरेको मान्छे कसरी मन पर्छ ? केही गर्दा पनि मन परेन ऊ मलाई। हेर्दा साह्रै घिनलाग्दो, नराम्रो पनि थिएन। पहिलो सोचेजस्तो बल्ड्याङ्ग्रे पनि होइन रहेछ। हातगोडा, जीउडाल पनि खोट लगाउनुपर्ने थिएनन्। धेरै नबोल्ने, बलैले बेलाबेला मुसुक्क हाँस्‍ने, बिस्तारो बोल्ने, कामका कुरो मात्र गर्ने रहेछ स्वभाव। दुईजनामात्र भएको त्यत्रो घरमा सुनसानजस्तो लाग्थ्यो। घरका चोटाकोठा कताकताबाट टुलुटुलु हेरिरहेका देख्थेँ। त्यसका आँखा बाणझैँ भएर शरीरका खासखास अङ्गमा गाडिएझैँ लाग्थे। रातरातभरि अन्धकारले थिच्थ्यो, पहाडले किच्थ्यो। छटपटाउउँदै उज्यालो पार्थेँ। रिस उठ्थ्यो।

कहिले खाने कुरामा विष हालिदिऊँ जस्तो लाग्थ्यो, कहिले राति निदाएको बेला घाँटी थिचिदिऊँ कि जस्तो लाग्थ्यो। कहिले आफैँ कतै गएर झुन्डिदिऊँ, हिँडिदिऊँ झैँ लाग्थ्यो।

कति नै बोलाए पनि, कर गरे पनि, मलाई माइत भने जान कहिल्यै रहर लागेन। भाउजूको माया लागे पनि आमा र बाबालाई सम्झँदै रिस उठेर आउँथ्यो। निक्कैपल्ट मैले त्यससँग झगडा गर्ने कोसिस गरेँ तर उसले कहिल्यै मेरो रिसमा तेल थपेन, सधैँ म हार्थेँ, रित्तिन्थेँ।

पालैपालो मन नगर्दानगर्दै तीनओटा सन्तान जन्मिए। पछिल्लोपल्ट जन्मेकी थिई छोरी। त्यसलाई देखेपछि भने मनमा बेग्लै खालको मायाजस्तो पलाएको थियो। नत्रभने अघिल्ला दुवै छोराहरू मलाई प्लास्टिकका खेलौनाजस्ता लाग्थे। नियमानुसार दूध चुसाउँथेँ, सफासुग्घर गर्थेँ, काखमा लिन्थेँ तर तिनीहरूप्रति कहिल्यै उस्तो माया जागेन। तिनलाई काखमा लिइरहँदा तिनका बाबुका अनुहारमा आँखा नाच्थ्यो र भुईँमा राखिदिन्थेँ रुवाउँदै। मनमा लागिरहन्थ्यो – ”कति दिन पो बित्छ र त्यससँग मेरो।” रोइरहेका छोराहरू बोकेर फुल्याउँदै हिँड्थ्यो ऊ।

उसलाई रिस उठोस्, ठानी कहिले के फुटाइदिन्थेँ, कहिले के भत्काइदिन्थेँ। काम नलाग्ने कुरामा जथाभावी खर्च गरिदिन्थेँ। खानेकुरामा पनि कहिले चर्को कहिले पिरो बेस्वादको परिकार बनाइदिन्थेँ। धेरैजसो अर्कै कोठामा सुतिदिन्थेँ, बेलैमा ढोका लगाएर। ऊसँग राम्रोसँग, नरिसाएको भएर कहिल्यै बोल्दिनथेँ। तर यी कुनै कुरोले पनि उसलाई कहिल्यै छोएन।

कस्तो चिसो र चाम्रो थियो ऊ। उसका मनमा के कुरा थिए त्यो कहिल्यै भनेन। माइतीमा मैले आमा बाँचुन्जेल एकप्रकार पाइला राखिनँ भन्दा पनि हुन्छ। भाउजूको निकै माया लाग्थ्यो तर आमाका रिसले म कैयौँ पटक लिनै आउँदा र बोलाउँदा पनि गइनँ। दुईपल्टजति बाबा आफैँ आउनुभएको थियो। सुत्केरी ख्वाउन भनी पनि पटकैपिच्छे लिन आएका थिए तर गइनँ। सानो छोराका पालामा आमा आफैँ आउनुभयो, रुनुभयो, जानुभयो।

‘तैँले यसरी किन माया मारेकी हामीलाई ? किन रुवाएकी मलाई। तीजमा बोलाउँदा पनि आउँदिनस्, चाडवाडमा पनि आउँदिनस्।” मैले आमालाई कुनै जबाफ दिइनँ।

”आमाको मन तेरो पनि छ, पछि थाहा होला सन्तान हुर्किएपछि।” आमाले यसो पनि भन्नुभयो।

तर मलाई उहाँको भनाइसँग मनमनमा हाँसो उठ्यो। मैले कहिल्यै छोराछोरीलाई माया नै गरेकी थिइनँ, मलाई के थाहा हुनु ? मैले सन्तानहरूलाई रहरले, रुचाएर जन्माएकै भए पो तिनको माया हुनु। ती त बल्ड्याङ्ग्रेको एकतर्फी शरीरसुखका परिणाम थिए। उसले मेरो शरीरका अङ्ग-अङ्गसँग खेल्दाखेल्दै तिनीहरू जन्मिएका। ती जन्मने क्रममा मलाई अत्यन्त असुविधा र पीडा भएको थियो। जन्मिसकेपछि आफ्नै शरीरमा उत्पन्न दूध आफ्नै सुविधाका कारण तिनलाई चुसाएकी हुँ।

भित्रैदेखि एकैपल्ट कुनै दिन, एकैछिन भए पनि त्यसको मलाई माया लागेन, मन पग्लिएन। म एकान्तमा रोइरहेको देख्ता पनि त्यसले कहिल्यै किन रोएकी भनेर सोधेन, फकाएन।

कसरी बितेछन् दिनहरू यत्रा लामा वर्षको फन्का मार्दै। छोराहरू हुर्किँदै, बढ्दै, पढ्दै, दुवैले उच्च शिक्षा पूरा गरे। ठूलोचाहिँ दुई वर्षअघि उच्च शिक्षा अध्ययनका लागि भनी अमेरिका पुगेको छ। भाइचाहिँ पनि दादासँगै जान रातदिन इन्टरनेटमा झुन्डिइबस्छ। छोरीले पनि यसपालि बी.ए.को अन्तिम वर्षको परीक्षा दिई।

बाहिरबाट देख्दा कहिल्यै पनि हाम्रो घरभित्र कुनै समस्या थिएन। सानो तथा सुखी परिवार थियो हाम्रो। आयस्रोत राम्रो थियो, झैझगडा थिएन। दुई छोरा एक छोरी रहरका सन्तान देखिन्थे। तिनीहरूले पनि भनेजस्तै शिक्षा आर्जन गर्दै थिए। माइत आएका बेला सासू पनि भेट्न आउँथिन् र जहिले पनि उनले आफ्नो छोराको ख्याल गर्नू भन्थिन्। तर आमा-छोरा राम्ररी बोलचाल गरेको भने कहिल्यै देखिनँ। उनी भन्थिन् – ”बुहारी ! तिमीले मेरो छोराको जीवन सफल पारिदियौ। यो घरलाई मन्दिर बनायौ तिमीले। गाउँभरि तिम्रो प्रशंसा सुन्छु काँक्राका चिराजस्ता छोराछोरी पायौ। तिनीहरू ज्ञानी र विद्वान् भए।”

उनका कुरा सुनिरहन्थेँ र मनमनै अलमल्ल पर्थेँ। के उनले भनेको जस्तो थियो त मेरो घर ? के यो मन्दिर भएको थियो ? मनमनै हास्थेँ उनका कुराले।

छोराहरूले कहिल्यै मलाई पिरोलेनन्, तिनीहरू जतिबेला पनि बाबुकै नजिकमा हुन्थे बाबुसँगै सुत्थे। खर्चबर्च सबै कुरा बाबुबाटै पाउँथे। कहिल्यै कुनै दिन उनीहरू मसँग केही मागेनन् वा ममार्फत बाबुसँग सिफारिस गराउन खोजेनन्। उनीहरू जे माग्थे बाबुले पुर्‍याइदिन्थ्यो। मसँग मात्र कहिल्यै तिनीहरूले एक पैसा मागेनन्। केही कुरा किनिमागेनन्। मैले देख्तादेख्तै तिनीहरू तिनकै बाबुजस्तै देखिँदै गए।

आज आएर सम्झिरहेकी छु, मैले जीवनलाई कसरी बिताएँ। न दुःख भन्नु, न सुख भन्नु। न खुसी भन्नु न बेखुसी। आफैँभित्रको वैयक्तिक असन्तुष्टिले भरिएको कस्तो खाले जीवन भोगिएछ। उमेरको यो छ दशक उकालीमा आइपुगेर आज पछि फर्किएर हेरिरहेछु जीवनलाई- कस्तो अनौठो र बेरसिलो बालुवा बितेछ त्यो।

कहिल्यै माया नगरिएको र सदा घृणा गरिएको लोग्नेको लास लडेको छ आँगनमा। सानो छोरो, छोरी र आफन्तहरू रुवाबासी गरिरहेका छन्। गाउँभरिका सबै भेला भएर उसको गुणको चर्चा गरिरहेका छन्। गाउँभरिकै सबैभन्दा भलाद्मी, ज्ञानी सहयोगीका रूपमा उसको स्मरण गरिँदै छ। मेरा वरिपरि बसेका महिलाहरू मलाई सम्झाइरहेका छन् – ”छोराछोरीको अनुहार हेर्नू, तिनीहरूको छाता हुनू अब। मर्नु बाँच्नु प्रकृतिको नियम हो- जसले पनि एकपल्ट मर्नैपर्छ।”

म लासको छेउमा बसेर टुलुटुलु हेरिरहेकी छु, त्यस शान्त अनुहारलाई।

ती बल्ड्याङ्ग्रे आँखा अब सदाका लागि बन्द भइसकेका थिए। त्यस गम्भीर अनुहारमा पनि अब गम्भीरता थिएन। आनन्दले निदाएजस्तो शान्त देखिन्थ्यो लास। कहिल्यै केही नभन्ने ऊ अब अशरीरी हुन लागेको थियो। कसैले चिसो हुने गरी एकोहोरो शङ्ख फुक्यो। घरको वातावरण मृत्युशोकले गुन्जियो।

एकाएक आँखाबाट बरर आँसु झरे। घ्याप्प घोप्टो परेछु उसको छातीमा। कसैले उठाएनन् हात समातेर। फेरि हेरेँ त्यो शान्त अनुहार। भित्र कतैबाट हुकजस्तै पलाएर आयो- ”अब त कहिले पो भेट हुन्छ र यस मान्छेसँग।”

झापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “कति दिन पो बित्छ र यस मान्छेसँग ?”

  1. उत्क्रिस्ठ कथा !
    स्थापित

    उत्क्रिस्ठ कथा !
    स्थापित सर्जकहरुबाट निस्किने श्रीजनाहरु पनि सब का सब उत्तम नहुन सक्छन् । यो कथा मझेरीमा प्रतीस्थापना गरिएको आस्था को दर्शन ढुङो जस्तो लाग्यो । साह्रै बाँकी मिलेको ।
    ALOK.

Leave a Reply

Your email address will not be published. Required fields are marked *