Skip to content


आकाशमुनि धरतीमाथि उभिएर
चारैतिर यसो हेर्छु
देख्छु, सेतो हिमाल
अनायास मलाई त्यही हिमाल बनूँ बनूँ लाग्छ
लेकमा फुलेको चिमाल हेर्छु
चिमालै बनेर फुलूँ फुलूँ लाग्छ
पहाडको छाती रसाउँदै कलकल बग्ने
खोलालाई हेर्छु
त्यही खोला बनेर अविरल बगिरहूँ लाग्छ
लहरा, पहरा, छहरा देख्दा
मलाई ती सबै बनूँ बनूँ लाग्छ
छातीभरि चिमल र लालीगुराँसको बगैँचा सजाएर
त्यहीमाथि पानी परेपछिको घामछायाँमा
इन्द्रेणीको रंगिला फूलमाला पहिर्‍याएर
धरतीका धीरोदत्तनायकझैँ मुसुक्क हाँस्ने
ऊ… त्यो पारिको तामे पहाडलाई हेर्छु
मलाई त्यही पहाड बनेर युगयुग बाँचूबाँचू लाग्छ
खै के बन्ने ! के नबन्ने !
निधो गर्नुअगावै
जीवन चेतनाको राँकोमा ब्यूँझिएर
भावी आरेखित हत्केलाको आयुरेखामा
यसो आँखा ओछ्याएर हेर्छु
छिः कति छोटो आयुरेखा मान्छेको
तर, कति ठूलो पर्वत इच्छा हुन्छ उही मान्छेको
दर्पण छायाँमा उभ्याएर आफैँलाई
आफैँसित सोधूँ सोधूँ लाग्छ मलाई
जुम्रा, लिखा स्याउँस्याउँतिएको यो थोत्रे भाङ्ग्रा फालेर
सीमापार गर्नुअघिको भावी कल्पनामा
झल्याँसिन्छु र अचानक सोध्न मन लाग्छ
एउटा प्रश्न, जो सधैँ सतीसालझैँ
आफ्नै सामुन्ने ठिंग उभिएझैँ लाग्छ
कि क्षितिजपारिको अज्ञात संसारमा
साँच्ची, त्यो हाम्रो यात्रा कस्तो होला
त्यो यात्रा हाम्रो कस्तो होला ?

नेपाल साप्ताहिक ४११

Leave a Reply

Your email address will not be published. Required fields are marked *