यसपाली पनि सकिन आउन
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा
बर्ष र दिनको रमाइलो चाड बाउको मुख हेर्ने दिन
दुरीले पर बसेनी बाबा सम्झन्छु छिनका छिन
सबैका घर आउदा हुन आज लिएर कोशेली
सम्झेर म चाहिं विदेशमा आँखा पारेर बलेसी
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।
हात औली समाई लौ ताते भनी बोलेको सम्झन्छु
ती साना नानी सम्झे हुन मलाई भनेर कल्पन्छु
बिदेशी माटो भिजाई आज पसिना दानाले
रुँदैछ माटो हजारौ छोरा पलायन हुनाले
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।
पाइन मैले जन्मेको माटो पसिना सिंचिन
सम्झिन्छु कहिले सकिन मैले देशलाई केहि दिन
यत्तिकै चोला जाने पो हो कि भार भई धर्तीको
राम्रालाई अघि दिदैनन बड्न श्राप छ रे सतिको
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।
पछिको लागि केहि गरौ भनो साहुको ऋणले
छि छि र दुर दुर आफ्नैले गर्लान नहेर्लान घिनले
अर्को साल आउछु नगर्नु पिर मनमा धिरज
साहुको ऋण चुकाई छोरो अबश्य फिर्दछ
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।
म आउँदा खुशी अधरमा हाँसो लिएर आउछु
सबैले खुशी बाडेर बाच्ने बिहानी ल्याउछु
अझै नि हिम्मत हरेको छैन यो मनले भन्दछ
मरेर बाच्ने दुइ चार काम गर तिर्थ भन्दछ,
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
