ए दुनिया छोडिदेऊ अब
धूप बत्ती बाल्न भगवानलाई
बरु
सक्छौ भने जलाई देऊ खुर्सानी धूप
न रहन्छ बाँस, न बज्छ बाँसुरी
न त भगवान छन् भन्ने विश्वास
न त केही देलान भन्ने आश।
ए दुनिया तिमीले हिसाब गरेर हेर
यो संसारको रीत बुझेर सोच
गरिबको झुप्रीमा पुगेर हेर
खडेरी ग्रस्त किसानलाई सोध
औषधी मुलो नपाएर मर्नेहरूको
परिवारलाई सोध
कहाँ छन् भगवान्?
के गर्दै छन् भगवान्?
ए दुनिया धेरै घोत्लनु पर्दैन
संसारको युद्धलाई दृष्टि देऊ
अभाब ले छटपटाई रहेका
मानव मानव बिचको काटामार,
लाई हेरी देऊ
दानवतुल्य यो संसारमा
अब तिमी
भगवानको नाममा धूप हाल्न
छोडिदेऊ।
कुनै दिन तिम्रो निभेको दियो
बालिदियो कसैले ?
कुनै दिन तिम्रो चिसो चुल्हो मा
खाना बनाइदियो कसैले ?
छैन ?
अनि कुन चमत्कारिताको लागि
हमेशा धूप सल्काई रहेछौ ?
वा
कुनै तिम्रो अदृस्य पापमोचन गर्न
यो रीतलाई लम्बाई रहेछौ ?
सल्काई देऊ खुर्सानी धूप
छन् कतै भगवान भने तिनको
तमासा तिमी पनि हेरिदेऊ
ए दुनिया छोडी बाल्न धूपबत्ती
भगवानको नाममा
अब खुर्सानी सल्काई देऊ ।
