स्वाभिमानी हाम्रो छबि,उच्च पार्न सक्ने
अनिर्णय बन्दीबाट देशलाई तार्न सक्ने
हक्की बोल्ने सच्चा ,मानिस खोजिरै’छु !
कचिगलको दलदलबाट पारी सार्न सक्ने ।।
सहकार्य,सहमतिको बिचार बोक्न सक्ने
कर्णाली र रोल्पालाई तातो सेक्न सक्ने
निडर अनि सत्यवादी, मानिस खोजिरै’छु !
बिस्तारवादी चलखेलको सिमा तोक्न सक्ने ।।
कोशी,काली,गण्डकीको पानी बार्न सक्ने
हामी सबको दु:खमा आशु झार्न सक्ने
ज्ञानी,गुनी,विद्धान मानिस खोजिरै’छु !
लहर ल्याइ बिकासको खाचो टार्न सक्ने ।।
उस्तै परे हलो नाडी श्रम बाड्न सक्ने
बिसगती बिकृतिको दोहोलो काट्न सक्ने
कर्मठ अनि साहसिला, मानिस खोजिरै’छु !
एकता सुत्रमा सबलाई बाट्न सक्ने ।।
अन्याय र अत्याचारमा क्रुद्ध बन्न सक्ने
शान्ती र अहिसामा बुद्ध बन्न सक्ने
सबै गुणले युक्त्त मानिस खोजिरै’छु !
मुहार फेर्न नेपालीको शुद्ध बन्न सक्ने ।।
बसन्त कुमार श्रेष्ठ’क्षितिज’
