हिउँदको महिना । रात कालो र लामो । साँझ खसिरहेको समय । लक्ष्मण कोठामा भित्रिन्छ र मलाई अभिवादन गर्छ । म बस्ने ईशारा गर्छु, कारण, लेखिरहेको छु । केही पङ्‌क्ति लेखिसके पश्चात् सोध्छु ।
“कहाँबाट आइस् ?” (ऊ मेरो भाइ हो ।)
ऊ उत्तर दिन्छ “घरैबाट” (घर शिवगन्ज हो ।)
“किन यतिबेला आइस् त अलि चाँडै आउनु पर्दैन।” म दाइ भएको अहम् घोल्छु ।
“एउटा खबर लिएर आएको।” ऊ बोल्छ ।

“के खबर ?” जिज्ञासा
“खै ! बाजे खस्यो भन्छन्” उत्तर।
“कहाँ” आतुरी/अचम्भित ।
“पहाडमा रे।”
“कसले भन्यो ?”
“चिट्ठी आएको छ।”
“कसले ल्यायो ?”
“हुलाकबाट।”
“बूढो कहिले पहाड गएको थियो ?” बाजे पहाड-मधेश गरिरहने हुँदा र मधेसमै बसेको कुरा थाहा पाएको, पहाड गएको थाहा नपाएकाले म लक्ष्मणलाई प्रश्न गर्छु ।
“१०, १५ दिनजति भयो।” उत्तर दिन्छ ।
“घरतिर के भन्छन् त ?” म दमकमा छु । मूलघर शिवगञ्ज भएकाले उताको खबर सोध्छु ।
“रुवाबासी छ।” भन्छ ।
अचम्ममा पर्छु, मेरो बाजे धनसिं आङ्देम्बे खसेको खबरले । उमेरले ७४,७५ वर्ष पुगेपनि वहाँको शरीर, बाघबोली, धेरैलाई एकैचोटि माया बाँड्न सक्ने खुबी सबै-सबै सम्झन्छु । हरेक पन्ध्र दिनमा पहाड मधेस हिँडेर गर्ने वहाँको सामर्थ्य । डाटामा उतार्न नसकिने जहान परिवार भित्र मलाई गर्ने वहाँको अगाध प्रेम । थुप्रै जहान परिवारहरूलाई एक रूपैयाँको खोर्सानीसम्म पनि बराबर बाँड्ने वहाँको समान व्यवहार । हामी सानो हुँदा २२-२५ जना नातानातिनीलाई कोटको गोजीमा चकलेट राखेर आफू बीचमा उभिई “तिमीहरूको बाजे को हो ?” भनेर सिकाउने वहाँको कुशल अभिभावकत्व । “धनसिं” भन्दै झुम्मिने हाम्रो अतीत सबै-सबै सम्झन्छु ।
केही दिनअघि मात्रै “बाजे धेरै बिहे गर्नु भो माओवादीले कार्वाही गर्ला नि।” भनेर छिमेकीहरू इत्रिँदा “मैले थुप्रै बिहे गर्दा माओवादी आकै थिएन।” भनेको “धेरै विहे गर्नेलाई त निको नहुने एड्स रोग पो लाग्छ अरे नि।” भन्दा “म एड्सभन्दा पहिलेको।” भनेर जिस्किएको झल्झली सम्झन्छु । दुईदिनमा हिँडेरै पहाड-मधेस गर्न सक्ने, ५-७ बोतल रक्सीले नमात्‍ने, तमाखु तान्ने, आजसम्म एउटा औषधी नखाएको, ज्वरोलेसम्म नसताएको, हट्टाकट्टा वहाँको क्रियाकलाप सम्झेँ । म मौन, भावुक र आफैँभित्र दुर्घटित भएँ ।
“दाइ, खाना खाने बेला भो।” किचनबाट अन्जान भाइको स्वर आउँछ ।
“जा, तँ खाना खा ! म आज खान्न।” लक्ष्मणलाई भन्छु ।
ऊ जान्छ खाना खान । कारण, बाजेको मृत्युको खबर आए पनि प्रमाणित भैसकेको छैन । हो कि हैन खबरचाहिँ आयो । हैन भनौँ र समाचार थाहा पाउँदा-पाउँदै पनि खाऊँ भने पाप लाग्ने डर । पाप त के लाग्नु तर मनमा हमेशा पश्चाताप रहने डर । नखाऊँ भने कसरी नखाउँ एकदम गमेँ । मनलाई दोधारमा उभ्याएर ।
यतिबेला कोठामा अन्जान, प्रदीप, लक्ष्मण र म चारजना छौँ । बाजेको मृत्युको खबरले स्तब्ध भएपछि उनीहरूले पनि मलाई त्यति बोलाएनन् । खाना खाइसिध्याए पछि सबै जना आ–आफ्नो बिस्तारामा लाग्यौँ। आज मैले पढिनँ पनि। बिस्तारामा ढल्किएँ, निद्रा पटक्कै छेउ परेको छैन। भाइहरू निदाए। म भने उही बाजेका अविस्मरणीय क्षणहरू झल्झली सम्झन्छु।
“बा बोङ्ग बि?” (त्यसै हुन्छ? लिम्बू भाषामा ) भनेर जहिले पनि कराउनु हुन्थ्यो। म त्यस वाक्यबाट एकदम प्रभावित बनेको छु। वास्तबमा त्यसै हुँदैन। केही न केही त गर्नै पर्छ। चुपचाप, शून्य रहनु हुँदैन जीवनमा। त्यतिमात्र होइन तर्कमा कहिले पनि जित्‍न सकिन्न’थ्यो बाजेलाई। एकपटक एकजना विज्ञान शिक्षकसँग वहाँको तर्कपर्दा वहाँले भन्नुभएको थियो “कसरी समय बद्‌लियो ? यदि बद्‌लिएको भए घाम पश्चिमबाट उदाउँथ्यो, खोला उकालो बग्थ्यो। मान्छे तन्नेरी हुँदै बालक हुन्थ्यो। टुप्पी पाइतालामा हुन्थ्यो। घाँसले घोडा खान्थ्यो इत्यादि भनेर ती शिक्षकलाई चुप बनाउनुभएको थियो।
म बाजेको विवाहको प्रसङ्गलाई अरूले भनेको पनि सम्झन्छु। वहाँले आजसम्म आफ्नो जीवन सङि्गनी यति हो भनेर ठोकुवा गर्न नसके पनि १२–२२ जनासम्म भएको अनुमान लगाउन सकिन्छ, बयान गर्नेहरूका अनुसार। वहाँलाई मैले कसरी बोजूहरू यति धेरै ल्याउनु भो भन्दा “धेरैलाई फूङ्‌सिङ मेला (पाँचथर जिल्लाको रमणीय एक स्थल) बाट झगडा पर्दा बाजी जितेर घोडामा राखेर ल्या’को हूँ” भन्नुहुन्थ्यो। प्रसङ्गवस एकजना बोजु (गन्तीमा उल्लेख गर्न नमिल्ने) लाई ल्याएको बारेमा थप बताउनुहुन्थ्यो “म घुर्बिसे पञ्चमी बजार गएको थिएँ। त्यहीबेला एउटी केटी मन पराएँ। केही गर्दा नफकिएपछि पल्लो गाउँको एउटा ठूलो घर (अर्कैको) देखाएर मेरो घर त्यही हो भनेँ। ऊ मलाई खानदानी सम्झेर होला सायद भुतुक्कै भई र, मसँग आई। मैले आजै घरमा जानु मिल्दैन भनेर आफ्नो घर भएतर्फ लगेँ। त्यतिबेला लगिसकेपछि फर्किने चलन थिएन। सत्तेयुग थियो क्या।” भन्दै थप्नु हुन्थ्यो “मन परेको मान्छे पाउन कहाँ सजिलो हुन्छ र! मन परेको मान्छे पाउनु भनेको त आधा संसार पो जित्‍नु हो त। त्यसैले ढाँटेर भए पनि आफ्नो पारियो। आफ्नो भइसकेपछि त देखा जायेगा।”
लगभग २०–२२ सालमा वहाँ पहाडबाट मधेश झर्नु भो रे। यसबारे वहाँ भन्नुहुन्थ्यो “म मधेश झर्दा यो राजमार्गहरू केही पनि बनिएको थिएन। जताततै जङ्गल नै जङ्गल मात्र थियो। झोडा फाँडेर बस्थ्यौँ। अलिअलि भएको मकै पनि सबै बाँदरले खाइदिन्थ्यो। दिनभर बाँदर रातभर बाघ–भालुसँग कुस्ती पर्दथ्यो। आगो फुकेर सबैजना झोडालीहरू एक ठाउँमा बस्थ्यौँ। गिठ्ठा–भ्यागुर खाएर पनि केही साल बाँचियो।” हुन पनि बाजेले गरेको त्यही दुःखले आर्जेको माटोमा आजसम्म बुबाहरू र नाता–नातिनीहरू बसेका छौँ आरामले।
केहीवर्ष अघि मात्र वहाँले मलाई सम्झाउनु भो “नाति, हेर मेरा पालामा पो प्रशस्त जग्गाजमिन थियो। बस्ने ठाउँ पाइन्थ्यो। धेरै बिहे गर्दा पनि हुन्थ्यो तर अहिले त त्यो समय छैन। फेरि जान–अन्जानमा मैले धेरैको मन रुवाएँ, दुखाएँ, त्यो पापी कार्य हो। त्यस्तो कार्य तैँले नगर्नु।” भन्दै प्रसङ्ग थप्नु भयो “म जाँड, रक्सी साह्रै खान्छु। पहिला घिउ, दही, दूध पनि प्रशस्त खान्थेँ। तिमारको समय त घिउमा पिठो, दूधमा पानी हालेको अवस्था छ। जाँड-रक्सी नखानू। यो जतिसुकै बखान गरे पनि खराब चिज हो ….. थाहा छ? जिब्रो हमेसा मुखसँगै रहन्छ तर दाँत ढिलो उम्रिएर चाँडो झर्छ किन ? …. कारण हो, दाँत कठोर र जिब्रो नरम हुन्छ त्यसैले। जीवनमा जहिले नरम, सरल भएर बाँच्नु। सानोलाई जहाँ पनि ठाउँ मिल्छ, ठूलालाई संसारभर ठाउँ मिल्दैन। तँ मेरो परिवारमा बुझ्ने एउटै मात्र मान्छे भएकोले सम्झाउँदै छु।” भनेर सम्झाएको प्रसङ्ग सम्झन्छु।
थाहा नपाई आँखा कति बेला कुवा भएछ। सिरानी लछाप्रै भिजेपछि पो थाहा पाउँछु। घडी हेर्छु, रातको १ बजिसकेको छ। बाहिर जान्छु र फेरि आएर ढल्कन्छु। भाइहरू मस्त निद्रामै छन्। म उनीहरू नब्यूँझून् भनेर बिस्तारै ओछ्यानमा पस्छु र ढल्किन्छु। मेरो डेरामा एकपटक बाजे आइपुग्नु भा’छ। त्यतिबेला मैले रक्सी किनेर ल्याइदिँदा वहाँले खान अस्वीकार गर्दै भन्नु भा’थियो। “अरू पो अनपढ, अबुझ, अज्ञानी छन् तर तँ त बुझ्झकी, पढेलेखेको छस्, त्यसैले तैँले मलाई रक्सी होइन, चिया दे। जाँड–रक्सी त मूर्ख, अबुझहरूले मात्र दिन्छन्।” साँच्चै बाजेले त्यतिबेला रक्सी पिउनु भएन। यस्तै–यस्तै असङ्ख्य स्मृतिहरू मनमस्तिष्कभरि खेलाउँदा–खेलाउँदै थाहा नपाई निदाएँछु।
भोलिपल्ट बिहानै म र लक्ष्मण शिवगञ्जतर्फ लाग्यौँ। घर पुग्दा वातावरण अलि असहज बनेको थियो। बोजूहरू, काकाहरू, भाइ–बुहारीहरू, बहिनीहरू सबै आँगनमा असरल्ल भेलिएका छन्। म पुगेपछि कोही रून थाले, कोही अलि ढुक्क भए। छिमेकीहरू सबै अन्योलपूर्ण र स्तब्ध छन्। म जस्तै प्रायः सबैले साँझको छाक बारेछन्। कारण अचानक गाउँमा धागोले बाँधेको पत्र आयो, धनसिं आङ्देम्बेको मृत्युको खबर बोकेर। हो कि हैन, स्पष्ट हुन पनि सम्पर्क चाहियो। टेलिफोन छैन पहाडमा। जाऊँकि भने पनि गाडीको बाटो भएर पनि दुई दिन लाग्छ। घटना नभई यस्तो पत्र त त्यसै नआउनुपर्ने। यस्तै–यस्तै कौतूहलपूर्ण परिवेश, जिज्ञासा खडा भयो।
भोलिपल्ट जेठा फूपा र माइला फूपालाई वास्तविकता बुझ्न पहाड पठायौँ। खबरको वास्तविक टुङ्गो नलागुन्जेल हामी अलिनै बस्यौँ। घटना घटेको र नघटेको स्पष्टता छैन। मैले भने आफ्नो प्यारो बाजेको प्रत्यक्ष र प्रभाविलो शोकमा दुखेर पुरै छाक अलिनै बिताएँ।
आज पर्सिपल्ट।
खबर लिएर फुपाहरू आउने दिन। हल्दार चोकमा राम, लक्ष्मण, अनु, कुसुम, प्रेम, विजय, सबै भएर गाडी कुर्‍यौँ। चार बजे बस आयो बैगुनधुराको तर अहँ वहाँहरू आउनु भएन। ४.३० को पनि बस आयो, त्यसमा पनि आउनु भएन। क्रमशः अन्तिम बस पनि आइपुग्यो। हुनुहुन्न होला भनेर मन मारी फर्किन लाग्दा फुपाहरू बसबाट उत्रनु भो।
हामी अचम्भित भयौँ। फुपाहरूसँगै बाजेलाई पनि देख्दा। स–परिवार, छिमेकीहरू सबै–सबै तीन छक्क पर्‍यौँ बाजेको उपस्थितिले। यता बाजेको मृत्युको खबर, उता बाजेको आगमन, कस्तो! अकल्पनीय घटनाको पात्र भएका छौँ हामीहरू यतिबेला। हर्ष र आश्चर्य भरिएर आयो हामीभित्र। आउनसाथ बाजे कराउन थाल्नु भो “म जिउँदो हुँदा–हुँदै कसले म मरेको चिठी पठायो, त्यो पक्कै कुनै शत्रुको चाल हुनुपर्छ। मेरो छोरा–बुहारी, छोरी–ज्वाइँ, नाता–नातिनी, शोकमा पार्ने त्यस पापीहरूको भलो नहोस्। तिनीहरू खुत्रुक्कै मरून्।”
चोकबाट बाजे कराउँदै उफ्रिदै घरतर्फ लाग्नुभयो। घर पुग्नासाथ मलाई बाजेले एकान्तमा बोलाएर लानु’भो र जिज्ञासा राख्‍न थाल्नु भो। “हेर नाती मलाई अरूसँग गुनासो छैन, उनीहरू अनपढ छन्, अबुझ छन् तर तँसँग गुनासो छ, तैँले कुन आधारमा मलाई बारिस्? मेरो लाश देखिस् कि ? चिहान देखिस् कि ? लु भन।”
बाजेको प्रश्नलाई दिने उत्तर मसँग थिएन। म त्यहाँबाट पन्छिन तुरुन्त दमक हिँडे।
केही महिनापछि थाहा भयो। शिवगञ्ज हवल्दार चोक स्थित मूलघरमा तीनराते तङ्‌सिङ् (चिन्ता) भएको थियो। मातेर हल्ला गर्नुहुन्छ भनेर बाजेलाई खबर कसैले पनि दिएनछन्। त्यही रिसमा बाजेले पहाड गएर आफैँले आफू मरेको खबर लेखी हुलाकमार्फत् पठाउनु भा’को रहेछ।
यता संयोगले भनौँ या दुर्घटनाले आफूले चाहिँ गम्भीर बिडम्बनाका साथ जिउँदो बाजेको (क्रिया गरियो) छाक बारियो।

http://sahityasarita.org/Issue_27/Prakash_Angdembe_27.htm

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *