नेपाली साहित्यका कथा, उपन्यास, शब्दचित्र, निबन्ध, समालोचना र सौन्दर्य चिन्तनका साधक ऋषिराज बराल प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ र कुशल प्राध्यापक हुन् । उनका बीसभन्दा बढी विविध विधाका कृतिहरू प्रकाशित छन् भने ।
प्रस्तुत ‘कुहिरो र घोडेचढीहरू’ कृति तेह्र ओटा शब्दचित्र निबन्धहरूले सजिएका छन् । यसका विषयवस्तु उनी माओवादी पार्टीका पूर्णकालीन कार्यकर्ता हुँदा देखेका, भोगेका, सुनेका र साथीसँगको उठबसलाई निबन्धात्मक तरिकाले प्रस्तुत गरेका छन् ।
कृष्ण सेन ‘इन्छुक’ साथीसँग गहिरो मित्रता राख्ने साहित्यिक राजनीतिक व्यक्तिसँग पनि अरूकै कारण भनाभन भएकोले आफू पछुताउमा परेको उल्लेख गर्दै उनलाई नेता, कवि, सम्पादक, मानवअधिकारवादी र सहयोद्धाका रूपमा देख्दछन् । यीमध्ये उनी क्रान्तिकारी मानिसलाई उद्वेलित पार्ने कविका रूपमा बरालले सेनजी ‘अन्तिम अध्याय लेखिन नै बाँकी छ’ मा चित्रण गरेको छ ।
‘मभित्रको ज्वलामुखी’ मा पार्टी प्रशिक्षण सुखद रहेको र सरकारको दमन अप्रेसनले कयौं ती साथीहरूले जीवन गुमाएकोमा दुःखी र र्फकंदै नफर्केकोमा बाटो कुरिरहेको कुरा उल्लेख गरेका छन् ।
बरालले ‘आहा ती दिनहरू’ निबन्धमा देशमा जनरेडियो स्थापनापछि साथीहरूले पाएको दुःख, रेडियो गुञ्जँदा दुष्मनहरू त्रसित भई सेनाको हेलिकप्टर गस्तीका विरुद्ध बनेको मोर्चाको बारेमा जानकारी दिँदै दुःखकष्ट भोग्नु परे पनि ती दिनहरू रमाइला, गौरवशाली र आनन्ददायक थिए भनेर चर्चा गरेका छन् ।
‘अविजित योद्धाहरूसित’ निबन्धमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादलाई आफ्नै रणकौशलद्वारा परास्त पार्ने, चुनौती दिने योद्धाहरू कष्टसाथ क्यान्टोन्मेन्ट बसाइलाई जीवनवृत्ति र क्याम्पलाई नयाँ बस्ती भन्दै प्रशंसा गरेका छन् ।
निबन्धकार पुँजीवादको जगजगी किलो सेरा टु अभियान चलिरहेको समयमा भट्टेडाँडा आक्रमण समाचार छापेवापत पत्रकारलाई दिएको दुःख, यातना र प्रेस सामग्री जफतका सम्बन्धमा ‘बिर्सदै गएका विम्बहरू’ शीर्षकमा केन्द्रित छन् । पुराना लेखक शक्ति लम्सालका बारेमा केही नबोलेकोमा बरालले सत्तालिप्सा र रसिला भेट्टाएका भन्न पछि परेका देखिँदैन । टाउकोको मोल तोक्ने जनहत्याराहरूले आदर्शद्वारा डोर्याइएकाहरूलाई अर्ति उपदेश दिने र सिकाउने भएकोमा उनी बिर्सिदै जाने युगको संज्ञाका साथ बिम्ब र आदर्श फेरिएकोमा हाइहाइ मौसमवाद र उपभोक्तावाद भनेर चित्त बुझाएका छन् ।
बराल ‘वैशाखीको सौन्दर्यशास्त्र’ निबन्धमा पुस्तककोे भूमिका किन लेखाइन्छ, त्यसको औचित्य कत्तिको छ भन्ने बारेमा केन्द्रित रहेको पाइन्छ । आवश्यकता र वाध्यता भएकोले माओवादी लेखकहरू पनि आफ्नो कृतिमा भूमिका लेखाउँछन्, भूमिका लेखनबाट नै कृति राम्रो हुन्छ भन्ने मान्यता उनीहरूमा पाइन्छ । भूमिका धेरैलाई लेखाउने व्यक्ति र नेताको सामिप्य देखाउनु हो भन्ने उनको ठम्याइ छ । आफ्नै साथीहरूले आधार इलाका विरोधीको आक्षेप लगाउँदै ढुङ्गामुढा गरेको सन्दर्भ कोट्याएर ‘विद्रोह बोल्ने मनहरू’ मा जितेका खबरले विम्ब बनेको र सहादत प्राप्त गर्न लागेका साथीहरूले झण्डा र पार्टीको निमित्त भनेका कुराले भावुक भएको कुरा उल्लेख गरेका छन् । खरिपाटी भेलामा नेतालाई आफ्नै कार्यकर्ताले गरेको व्यवहारबाट दुःखित हुँदै उनी हरिया झिँगाहरू भित्रिएकामा दिक्दार मान्दछन् ।
‘सत्ता र पूर्णविरामहरू’ निबन्धमा कवि विरामलाई कविताकै कारण आएका धम्कीले मन झस्किएको र आफू पनि विरामजस्तै भएको सङ्केत गरेको पाइन्छ । विरामको जीवन आदर्श, समर्पण र कविताले लोभलाग्दो र गरिमामय बनाएको ठोकुवा गर्दै उनले विरामको कलम सत्ताका लागि बन्दुक नै बनेको धारणा व्यक्त गरेका छन् ।
माओवादी पार्टी खुला भएको तीन वर्ष बित्दा पनि पुरानै संसारमा रहँदा दन्त्यकथासँग तुलना गर्दछन् । समाज, मानव जीवन र क्रान्ति भनेको नयाँ-पुरानोबीचको द्वन्द्व हो, इतिहासको गति विकासको सेरोफेरोमा केन्द्रित हुने भएकोले फेर्ने र फेरिने सहज नभई घुमाउरो हुने उनी ‘शान्तिभित्रको लडाइँ’ अर्थात् शान्ति भनेको….निबन्धमा उल्लेख गर्दछन् ।
‘जाग्राम लालभन्ज्याङहरू’मा निबन्धकारले राष्ट्र, राष्ट्रियता र जनजागरणका निमित्त केही कविताका पङ्क्तिहरू उद्धृत गर्दै तालमेल र सहमतिका नाममा सीमा खुम्चिएको, अस्मिता लुटिएकाले बोली र कलमले नपुगेर नै बन्दुक उठाएको प्रसङ्ग उठाएका छन् । बराल ‘कवि, छापामार र बल्कोनीमा बस्नेहरू’ निबन्धमा विद्रोहमा कलमहरू छापामारमा फेरिने, कलममा बारुद भरिने, बारुद कवितामा रूपान्तरित भएर दुष्मन र आफैँभित्रका विकृतिका विरुद्ध लड्न पुग्ने प्रसङ्ग उठाउँछन् । उनी लेख्नुलाई काला शब्दसँग खेल्नु नभई मोर्चा, युद्ध र छापामारमा सहभागी हुने ठान्दछन् । माओवादी पार्टीमा रातोकालो दुबै भएकाले सफा गर्नुपर्ने आवश्यकता देखेर उनीजस्तै आपत्ति आए पनि सत्यका पक्षमा कलमलाई छापामार बनाइराख्ने प्रण गर्दछन् । आगो लिन गएका प्रमिथसहरू नफर्केका, घोडचढीहरू बाटोमै दिशाहीन, गन्तव्यहीन भई अलमलिएका कुरा ‘कुहिरो र घोडचढीहरू’ मा व्यक्त गरेर बरालले माओवादी युद्धका कुरा प्रस्ट पार्न खोजेका छन् । रगतले लेखेको इतिहास, वीरताले भरिएको सौर्यगाथा छरिएका र च्याटिएकाले उनी भावुक, चिन्तित र उद्वेलित हुँदै त्यसको उत्तर अझै युद्धलाई ठानेका छन् ।
प्रस्तुत ‘कुहिरो र घोडचढीहरू’ कृतिका निबन्धहरूमा बरालले शब्द खेलाउँदै, शब्दजाल फिँजाउँदै विषयवस्तुका गहिराइमा पुगेका छन् । उनका निबन्धहरूमा माओवादी बाहेकका प्रसङ्ग नउठाएको हुनाले निबन्धकार पक्षपातीजस्तो देखिन्छन् । माओवादी पार्टीमा धमिरा, हरिया झिँगाहरू देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै उनले त्यसलाई निर्मूल पार्नसके मात्र पार्टी फस्टाउने धारणा राखेको पाइन्छ । कुनै कुनै शीर्षक निबन्धमा प्रसङ्ग बदलिएको पाएर केही खल्लो अनुभूति नहुने होइन । आफ्नो दुःखसुख गरेर जीवन व्यतित गरिरहेका निर्दोष व्यक्तिलाई युद्धताका मारिएका र आश्रति परिवारले पाएको दुःखका विषयमा उनले कहीँ कतै पनि दुःखका एक शब्द व्यक्त नगर्नु कमजोरी वा एक पक्षीय सोंच भनेर मान्नैपर्ने हुन्छ ।
कृति ः कुहिरो र घोडचढीहरू (शब्दचित्र निबन्ध)
लेखक ः ऋषिराज बराल
प्रकाशक ः समयबद्ध प्रकाशन, काठमाडौँ
संस्करण ः प्रथम, फागुन २०६६
पृष्ठ ः ८८
मूल्य ः रु.१००
