नेपाली साहित्यको अनुसन्धान-समालोचनाका क्षेत्रमा डा. कुमारप्रसाद कोइराला (२०१३) आफ्नो दोस्रो कृति (पहिलो नेपाली आख्यानको अध्ययन, २०५८) लिएर आएका छन् । नेपाली पाठकका सन्दर्भमा सिर्जनालाई ‘अन्धाका देशमा ऐनाको व्यापार’ ठान्दाठान्दै गरिएको यो रचना नेपाली नाट्य साहित्यको अध्ययनतर्फ विद्यमान खाँचो पूरा गर्ने काममा मनग्गे सहयोगी हुने देखिन्छ ।
प्रा. राजेन्द्र सुवेदीका टिप्पणीमा भनिएजस्तै यस कृतिद्वारा नेपाली नाट्यसाहित्यको सैद्धान्तिक र प्रायोगिक अध्ययन भएको छ । खासगरी नेपाली नाट्यसाहित्यसम्बन्धी जिज्ञासाको समाधान हुनुका साथै तिनले स्थापित गर्दै गरेको परिचयका स्वरूपको सङ्केत र हालसम्मका प्राप्तिको संयोजन भएको छ । यसमा भनिएजस्तै प्रस्तुत कृतिमा साहित्यको एउटा महत्त्वपूर्ण विधा नाटकको उत्पत्ति, परिभाषा, तत्व, प्रभाव वा महत्त्वजस्ता विविध सैद्धान्तिक तथा प्रायोगिक पक्षबारे निकै विस्तारपूर्वक प्रकाश पारिएको छ । बीसौँ शताब्दीदेखि आधुनिक नाटकहरूको समेत जानकारी गराइएको छ । नाट्यसम्राट बालकृष्ण समका नाटकमा विद्यमान द्वन्द्वको स्वरूप र केही मुख्य नाटकमध्ये कुनैको द्वन्द्व, कुनैको कथानक आदि र उनका नाटकको समग्रमा मूल प्रवृत्ति र योगदान आदिबारे क्रमबद्धरूपमा सूक्ष्म विश्लेषण गरिएको छ । साथै नेपाली नाट्यसाहित्यका अन्य तीन हस्ती रिमाल र मल्ल विजय तथा अशेषका नाटक र नाट्यकारीताबारे सङ्क्षिप्त तर गम्भीर दृष्टिपात भएको छ । अन्त्यमा समकालीन नेपाली नाटकको सङ्क्षिप्त विकासक्रमसहित हालसम्म प्रकाशित, मञ्चित (अनूदितसमेत) नाटक, नाट्यसंस्था/रङ्गमञ्च, विद्युतीय माध्यमसमेतको निकै विस्तृत विवरण दिइएको छ । यसरी यो कृति सूचना र विषय-विश्लेषणको महत्त्वपूर्ण संगम भएको छ । समाविष्ट विषय र तिनलाई दिइएको क्षेत्रका अनुपातले कृति-शीर्षक अलिक अनपेक्षित लाग्छ । द्वन्द्वको परिचय, महत्त्व, विश्लेषण पद्धति आदि सैद्धान्तिक जानकारीमै आएपछि कुनै द्वन्द्वको विश्लेषणमा नदोहोरिनु पर्ने । साथै सत्-असत्, आन्तरिक-वाहृय, स्त्री-पुरुष आदि जुनै द्वन्द्वमा पनि एउटा पक्षभित्र छन् वा खुलै विपरीत पक्ष पनि रहने कुरामा पर्याप्त दृष्टि नपुगेको महसुस हुन्छ । रचनाक्रममा नाटकको सैद्धान्तिक ज्ञान पछि एकैचोटि समका नाटकमा आउँदा क्रमिकताको अभाव लाग्छ । सम्भवतः अलग अलग समयमा अलग अलग रचित र प्रकाशित रचना पुस्तकाकारमा आउँदा भाव-सङ्गतिमा ध्यान नपुगेको हुनसक्छ । आधुनिक नाटकमा पनि पश्चिमा नाटकहरूको विवरण त मनग्गे पाइन्छ तर आधुनिक हुनाको कारण वा विशेषता भने नपाइनुले खट्किन्छ ।
तथापि सरल भाषा, सहज शैली, विषयवस्तुको गहन विश्लेषणसहित तथ्यपरकरूपले प्रस्तुत यो कृति नेपाली नाट्य साहित्यको समालोचना फाँटमा एउटा गहकिलो कदम भएको छ ।
कृति ः केही आधुनिक नाटक र नाटककार (समालोचना)
समालोचक ः डा. कुमारप्रसाद कोइराला
प्रकाशक ः ओरिएन्टल पब्लिकेशन प्रा.लि. काठमाडौँ
प्रकाशन ः २०६६
पृष्ठ ः १५९ – १०
मूल्य ः रु. १५०।-
