विश्वेश्वरबारेको साहित्यिक दस्तावेज

  • by


विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान विधाका सशक्त स्रष्टा हुन् । ‘चन्द्रवदन’ कथाबाट नेपाली कथासाहित्यमा मनोवैज्ञानिक धाराको सूत्रपात भएको हो र यस धाराको विकास र विस्तारमा कोइरालाको योगदान उच्च महत्त्वको छ । यिनले केवल दुईवटा कथासङ्ग्रह नेपाली साहित्यलाई दिए पनि कथामूल्य र ऐतिहासिकताको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यस्तै ६ ओटा उपन्यास उनका चर्चित छन् । कोइरालाले साहित्यिक जीवनको उत्तरार्द्धमा आएर मात्र उपन्यास विधामा प्रवेश गरेका हुन् ।

यिनै वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनीतिक पृष्ठभूमि सङ्कलित कृति हो- ‘साहित्यमा विश्वेश्वर’ । यस सङ्ग्रहमा ५३ लेखक/स्रष्टाले विश्वेश्वरको साहित्यिक तथा राजनीतिक जीवनको चर्चा गरेका छन् । लेखकहरूले कोइरालाका साहित्यिक एवम् राजनीतिक जीवनका विविध पाटाका धारणा प्रस्तुत गरेका छन् । पुस्तकको सम्पादन पुष्कर लोहनी र श्रीराम श्रेष्ठले गरेका हुन् तर यसमा एउटीसम्म पनि नारी लेखिका नपर्नुले सम्पादनमा ध्यान नपुगेको हो कि जस्तो अनुभूति हुन्छ ।

विश्वेश्वरप्रसाद कोइराला सर्वप्रथम हिन्दीका सुप्रसिद्ध कथाकार प्रेमचन्दबाट अभिप्रेरित भएको देखिन्छ । उनका पहिलेपहिले हिन्दीमा लेखिएका लघुकथाहरू प्रेमचन्दकै सम्पादनमा प्रकाशित हुने ‘हंश’ भन्ने पत्रिकामा छापिएका छन् । कोइरालाले स्वीकार गरेअनुसार चेखव, मोपासाँ, टल्सटय, गोर्की, फ्रायड आदिबाट प्रभाव ग्रहण गरेका छन् । उनले भारतीय साहित्यकारहरू शान्तिपि्रय द्विवेदी, रामकृष्ण दास, मैथिलीशरण, जयशङ्करप्रसाद आदिबाट पनि प्रभाव ग्रहण गरेको कुरा यस सङ्ग्रहमार्फत स्पष्ट हुन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाले कविता पनि प्रशस्त लेखेका छन् । प्रा. बाबुराम तिमिल्सेनाले ‘राजनीति र साहित्य, एक आँखा अनेक दृष्टि’ शीर्षकमा विश्वेश्वरका विविध पक्षको चर्चा गर्नुका साथै उनको कवि व्यक्तित्वको पनि चर्चा गरेका छन् । विश्वेश्वरले करिब २० वटा जति कविता लेखेको कुरा यहाँ प्रस्तुत गरिएको छ । डा. खगेन्द्रप्रसाद लुइटेलले ‘विश्वेश्वरप्रसाद कोइरालाको कथाशिल्प’ शीर्षकमा कोइरालालाई सामाजिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक, नैतिक, आर्थिक संस्कारजन्य कारणबाट उत्पन्न मनोविकृतिलाई केलाउने कथाकारका रूपमा उभ्याएका छन् । पश्चिमी फ्रायडीय चिन्तनलाई सर्वप्रथम नेपाली कथाजगत्मा भित्र्याई निजत्वका साथ नेपाली कथालाई पूर्ण आधुनिकता प्रदान गर्ने कथाकार कोइराला मनोविश्लेषणात्मक यथार्थवादी कथाकारका रूपमा कोइरालालाई प्रस्तुत गरेका छन् ।

विश्वेश्वरप्रसादका बुबा कृष्णप्रसादले चन्द्रशमशेरका सुधारवादी विचारहरूलाई देखेर देशमा राजनीतिक र सामाजिक सुधार गर्नेबारेमा धेरै चिठीहरू पठाएका थिए । एक दिन राणाहरूलाई उपहार पठाउनेक्रममा गरिबी, अशिक्षा, भोक र रोगले ग्रस्त नेपाली जनजीवनको फाटेको अमिलो पसिना गनाउने जीर्ण कपडाहरू सविस्तार लेखिएको चिठीसाथ निर्धक्क पठाए । परिणामतः उनले सर्वस्वहरणसहित एघार वर्षको प्रवासी जीवन भोग्नु पर्‍यो । सर्वस्वहरणसहित देशनिकाला भएपछि विश्वेश्वरप्रसाद कोइरालाले पनि उक्त अवधि भारतीय भूमिमा बिताउनु पर्‍यो । उनलाई सानैदेखि समाजको हरेक गतिविधिले चाँडै छुन्थ्यो । भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक गान्धीको आह्वानअनुसार सरकारी प्राथमिक पाठशाला बहिष्कार गरेर उनी राजनीतिक सत्याग्रहको मैदानमा उत्रन पुगे ।

वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएको हुनाले विश्वेश्वरप्रसाद कोइराला २०१६ सालमा जनताद्वारा निर्वाचित पहिलो प्रधानमन्त्री बन्न पुगे । २०१७ सालको राजनीतिक घटनापश्चात् कोइरालाले सुन्दरीजल जेलमा आठ वर्ष (वि.सं. २०१७-२५) लामो राजवन्दीको जीवन बिताउनु परेको थियो । यही अवधिमा उनले तीन घुम्ती, नरेन्द्रदाइ र सुम्निमाजस्ता उपन्यास पनि लेखेका हुन् । यसरी हेर्दा कोइरालालाई साहित्यलेखनमा उद्यत गराउने कारण राजनीति पनि देखिन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक एवम् साहित्यिक जीवनको विस्तृत व्याख्या गरिएको यो कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको छ ।

कृति ः साहित्यमा विश्वेश्वर (समालोचना)
सम्पादक ः पुष्कर लोहनी/श्रीराम श्रेष्ठ
प्रकाशक ः नुवाकोट साहित्य प्रतिष्ठान, नेपाल
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः ३१२
मूल्य ः रु. २००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *