सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।

उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।

कता-कता चिनेको अनुहारझैँ लाग्यो।

“तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।

ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरिना थिई।

चार वर्षअघि हामी छुट्टिएका थियौँ।

त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।

कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।

विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गर्थ्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।

तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरियोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।

पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।

“के गर्दै छेस्, कहाँ छेस्?” मौनता चिर्दै मैले सोधेँ।

लामो सास फेर्दै ऊ बोली, “बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।” वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।

“तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?” मैले सोधेँ। अस्ति जस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।

एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।

अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।

तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।

उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, “यसलाई के भयो?”

एकैछिनमा उसले मोबाइलको एउटा तस्बिर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।

“को हो यो?” मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, “त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।”

ऊ सम्बोधनमा तिमीबाट ‘तँ’मा झरसिकेकी थिई।

“तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्याएँ,” ऊ भन्दै थिई।

“यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु,” यस्तै यस्तै लामो कुरा गर्यो।

चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, “सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।”

म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।

“अनि?” मैले एउटा प्रश्न तेस्र्याएँ।

“तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।”

“बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।”

यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेरि अर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।

उसले कुरा अघि बढाई, “त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, “तिमी कता? मेरो काम सकियो।” मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारिन्थेँ।

ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रिसाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।

तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको झैं कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।

“म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकर्षित थिएँ।”

“बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, “उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।” अनि, म प्याउली भएर भन्थेँ, “टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?” “मसँग नजिस्क बाबा, छिटो उठ !” ऊ फोन राख्थ्यो।

“ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गर्थ्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।” ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।

मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरिनाले मानिन। भन्थी, “मेरो कारणले उसको जिन्दगी बिगार्नु हुँदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।”

चुरोटको ठुटो टे्रमा राख्दै भनी, “सबै थोक गुमाएँ केही छैन अब मसँग।” अनि, लामो सास तानी।

रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।

फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरिनँ।

“धेरै बाँच्नु छ, जिन्दगी सुधार,” भनेँ। “कसका लागि सुधारौँ? किन सुधारौँ?” ऊ बोली, “बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुध्रिनु छैन।”

म निरुत्तर भएँ।

तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरिनाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्तिष्क भरियो।

उत्तर खोजिरहेँ तर पाइनँ। म रातभरि उसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको प्रेमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्युझिंएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, “म टिचिङ् हस्पिटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरिना भन्ने महिलालाई चिन्नुहुन्छ?” मैले आश्चर्य मान्दै स्वीकारोक्तिमा जवाफ दिएँ।

त्यो पुरुषले भन्यो, “हामीले सरिनाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।” अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरिनाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

नेपाल साप्ताहिक अंक ४१३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *