(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)
स्वागत ः साथीहरू ! सबैजनालाई नमस्कार !
सम्पदा ः मेरो पनि सबैलाई शुभकामना !
स्वागत ः हामी अहिले एउटा नाटक मञ्चन गर्न लाग्दैछौँ । सबैले आ-आफ्नो भूमिका सम्झिनुस् । हामीले गरेको नाटकको अभ्यास सम्झिनुस् ।
सम्पदा ः हाम्रो नाटकको विषय राम्रो छ । प्रस्तुति पनि राम्रो हुनु पर्छ । यो अन्तरविद्यालयस्तरीय नाटक प्रतियोगिता हो । हामीले यो वर्ष निक्कै मिहिनेत गरेका छौँ । त्यसैले हाम्रो विद्यालय प्रथम पनि हुन सक्छ ।
श्रेया ः (आँखा बन्द गरेर नै) तर सम्पदा दिदी ! पोहोर साल पनि त हामीले राम्रो गरेका थियौँ तर निर्णायकहरूले हामीलाई कुनै पुरस्कार दिएनन् । झेल्ली गरे नि !
आरिफ ः (आँखा बन्द गरेर नै) यस पटक पनि त्यस्तै भयो भने ! राम्रो गरेर पनि पुरस्कार पाइएन भने के गर्ने नि ?
स्वागत ः साथीहरू अघिल्लो वर्ष त्यस्तो भयो । सधैँ-सधैँ त्यस्तो हुँदैन । हामीले जहिले पनि सकारात्मक कुरा सोच्नुपर्छ । अवश्य पनि नतिजा राम्रो हुनेछ ।
सम्पदा ः ल अब सबैले आँखा खोल्नुहोस् ।
(सबैले आँखा खोल्छन् । एकले अर्काको अनुहार हेर्छन् । सबैको अनुहार उज्यालो देखिन्छ । सबै नाटक मञ्चन गर्न उत्सुक देखिन्छन् ।)
बिनिता ः गत वर्ष हाम्रो नाटक धेरैले मन पराएका थिए । दर्शकहरूले सुशिल दाइको हँसाउने भूमिका निक्कै मन पराएका थिए ।
दावा ः हो नि । उत्साह दिदीको हजुरआमाको अभिनय पनि सबैले खुबै मन पराएका थिए ।
आकार ः तर पुरस्कार पाइएन नि !
बिनिता ः पुरस्कार नपाएर के भयो त ? पि्रन्सिपल सर र मिसहरूबाट पनि हामीले स्याबासी पाएकै थियौँ । त्यसैले यसपालि पनि राम्रो गर्नुपर्छ है साथीहरू !
सम्पदा ः हो तिमीले राम्रो कुरा गर्यौ बिनिता । पुरस्कार पाउनु नै ठूलो कुरा होइन । बरु यहाँ हामीले राम्रो गर्यौँ भने सबैको मनमा बस्न सक्छौँ । हामीलाई सबैले सम्झिरहनेछन् । पुरस्कारका लागि मात्र कहिले पनि काम गर्नु हुँदैन ।
स्वागत ः महाकवि देवकोटा, बालकृष्ण सम, पारिजातले आजीवन साधना गरिहनु भयो । कुनै पुरस्कारको आश नगरी । आज उहाँहरूको काम र सिर्जनालाई सबैले सम्झिरहेका छन् । त्यसैले राम्रो कर्म गर्नु पर्छ । कसै न कसैले त्यसको मूल्याङ्कन गरिरहेकै हुन्छ ।
श्रेया ः हुन्छ स्वागत दादा ! हामी सकेसम्म राम्रो गर्ने कोसिश गर्नेछौँ ।
सबैजना ः हो । हो । राम्रो गर्नेछौँ । राम्रो गर्नेछौँ ।
सम्पदा ः त्यसो भए अब नाटक खेलौँ । अब नाटक सुरु गर्न तयार बनौँ ।
स्वागत ः सबै साथीहरूलाई धेरै-धेरै शुभकामना ।
सबैजना ः धन्यवाद स्वागत दादा ! धन्यवाद सम्पदा दिदी ।
(सबैजना मञ्चबाट बाहिरिन्छन् । मञ्च अँध्यारो हुन्छ । उज्यालो हुँदा मञ्चमा घना जङ्गलको दृश्य देखिन्छ । बालबालिकाहरू विभिन्न जनावरको भेषमा देखा पर्छन् । उनीहरू विभिन्न हाऊभाऊ गर्दै अभिनय गर्न थाल्छन् । नेपथ्यमा बाँसुरीको मिठो धून बज्न थाल्छ ।)
सबैजना ः (नाच्दै गीत गाउन थाल्छन् )
एकाएका देशका
मान्छेका भेषका
जङ्गल पसे दाउरे दाइ
रूख काटे रमाइ-रमाई
दुःख भयो हामीलाई
माया गर जङ्गललाई ।
(दर्शकहरूले जोडदारले ताली बजाउँछन् ।)
