सारा ब्यर्थ भयो उमेर ढलिगो गोडा नचल्ने भयो
प्यारो पुत्र भनेर स्नेह गरदा किम्मार्थ ब्यर्थै भयो ।
माताको ममता बढेर दिनहूँ हा पुत्र मेरा भनी
नातीको अझ नातिनी पनि भए माया बढेरै अनी ।।
आयो दुःख घुमेर फेर घरमा कस्तो अचम्मै हरे
ज्ञानी वा धनको सुवास भए नी मान्दैन त्यस्ले अरे ।
पैसा दौलतको अगाडि अझ झन् मुर्छित हुन्छ अरे
स्वास्नीका वशमा परेर जनले आमा त त्याग्छन् अरे ।।
पानी पिण्ड दिने छ पुत्र घरमा चिन्ता नमान्नु भनी
सोच्थेँ यो मनमा विकार भइगो मिथ्या भयो त्यै पनि ।।
यस्तै रीत हुने रहेछ जगमा पालो सरेकै सरी
उस्ले आखिरिमा यही तवरले भोग्नै त पर्छ हरि ।।
मीठा चुम्वनका डुबेर रसमा माता भई झुत्रिनी
मस्तै यौवनका पिपासु मन भै नालीसरीको बनी ।
लाम्टो चुस्न पुगेर आज ववुरो खेल्दै छ लाम्टै तिर
पित्रीको त भएन पीर रति मै ध्यानी भए आखिर ।।
सारा याम गयो रहेन करमा लाटो छयो जिन्दगी
हात्मा छैन कुनै उपाय अबता दुःखी भयो जिन्दगी ।
रामे होस् बहुतै सुधार गतिलो स्वस्नीतिरैको पनि
केही दुःख कवै नपाइ सजिलै चल्ला दिवानी बनी ।
विशालमार्ग, नारायणगढ,चितवन
शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर (ऽऽऽ.।।ऽ.।ऽ।.।।ऽ.ऽऽ।.ऽऽ।.ऽ) १२.७ मा विराम
website: www.pallawa.com.np
E-mail: gorkhesailo”yahoo.com
