भीडमा एक्लो हुँदा कस्तो हुन्छ? अनुभव नगर्ने धेरै कम होलान्। एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन।
यी दुईमध्ये कुनले बढी सताउँछ होला? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्नु भनेर बुझ्नुपर्ला कि? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर? अचेल विश्वभरि यसको बहारजस्तै आएको छ। ध्यान गरेर संसारबाट मात्र होइन, आफैँबाट पनि एक्लिने। तर, एक्लो भएर एक्लिनुचाहिँ पीडादायी नै हुन्छ। मौन कारागारजस्तो। चल्न त सबै चलिरहेकै हुन्छन्। बाध्यताको चलाइजस्तो अथवा भारी बोकेको खच्चडको हिँडाइजस्तो। देखिने अनुहारको के कुरा? नदेखिने मनले पो गर्छ, जे गर्छ। नरोकिने करौँतीले नदेखिने गरी रेट्दा नदेखिने गरी नै दुख्छ। न कसैलाई देखाउन मिल्ने, न कसैलाई भन्न मिल्ने। वैँशालु असुन्दर युवतीको आत्मालापजस्तै, सुन्न नसकिने।
मलाई यस्तै लागिरहेको छ, बिहानदेखि। कहिले बहकिएजस्तो, कहिले छचल्किएजस्तो। बगेर जतासुकै पुग्दा पनि रोक्ने कुनै बाँध छैन, आफूसँग। न बाँध्ने कुनै डोरी छ, न लठ्याउने मन्त्र नै छ। अनियन्त्रित छ, मन। केही गर्न नसक्नुको अर्थ सहनु नै हो। सहिदिन्छु, म। स्वदेशमा त भइरहेको गर्न सकिँदैन भने परदेशमा सम्भव हुने कुरा भएन, चित्त पनि बुझाएकै छु।
किन अन्धकार बनेको बेलामा पनि नांगो स्वतन्त्रता नदिनु? कठ्यांगिँरदा पनि एक्लै, पसिना पुछ्दा पनि एक्लै, जूनसँग पनि एक्लै, चन्द्रसँग पनि एक्लै। साक्षीसमेत छैनन् कोही। बेकार किन आफैँलाई नाकाबन्दी ठोकेर खबरदारी गराइदिनु? बहकिन चाहँदा बहकिन दिन्छु, गर्न दिन्छु भन्नुपर्यो, जुन समयमा जसरी जे गर्न मन लाग्छ? स्वतन्त्रता हो मनको, अधिकार पनि हो कि? नभने पनि कमजोरी त हो नि !
बाहिर निकै चिसो हावा चलिरहेको छ, मनजस्तै। एकछिनपछि पानी बिर्बिराउन थाल्छ। सडक राम्रोसँग पखालिँदै छ, मनजस्तै। फेरि ससाना गिर्खाजस्ता हिउँ (स्लिट) बर्सिन थाल्छ, मनमा जस्तै र केहीबेरपछि हिउँ पर्न सुरु हुन्छ, चिसो मनजस्तै। हावामा बहकिँदै झरिरहेको छ हिउँ, मनजस्तै। एकप्रकारका चराहरू हिउँसँग रमाइरहेका छन्, बथान भएर। भुर्रभुर्र उड्दै फेरि भुइँमा बस्दै हिउँलाई चुच्चाले ठुँगिरहेका।
प्रकृतिको परविर्तित दृश्य र चराहरूको रमाइलो मलाई नै लक्षित गरिरहेको ठान्छु। एक्लो छु र कमजोर छु भन्ने ठानेरै त होला, उडिरहेको मनलाई अझ आकास्याउन किन खोजिरहेछ?
त्यसै पनि गुँड फर्किने सोचले अधीर भइरहेको बेला। दिन गन्ती गर्न र बाटो नाप्न थालिसकेको बेला। मुरीका मुरी कुराहरू गुन्जिरहेका बेला। यी नाटकझैँ लाग्ने परदिृश्यहरूले किन लखेटिरहेका छन् मलाई नै?
आफैँले आफैँलाई लखेटिरहेका बेला भनौँ आफैँले आफैँलाई समात्न नसकिरहेका बेला सेतो हिउँमाथि लोखर्के जोडी खुर्र यताबाट उता, उताबाट यता दौडिएको देखिन्छ, झ्यालबाट।
त्यसै पनि देशले, समाजले, संस्कृतिले, परिवारले, आफ्नोपनले एक्लो र एकान्त भोगिरहेका बेला सँगै बस्ने साथी दीपक घर फर्किने दिन गनीगनी सुनाउँछ। प्रत्येक दिन ऊ घटेको बाँकी दिन सुनाउँछ। क्यालेन्डरमा तारखि काट्छ। त्यतिबेला उसको अगाडि वास्ता नगरेको जस्तो गरे पनि च्वास्स बिझ्छ भित्रसम्म। त्यसपछिको झन् एकान्त र एक्लोपन सम्झेर।
आखिर समय त हो, कसका लागि जमेर बस्छ र? समयले कसैलाई कुर्दैन, समयलाई मात्र कुर्ने हो। जान्नेले त्यसलाई सदुपयोग गर्न सक्छ, नजान्नेले खेर फाल्छ। आकाशका बादलहरू कसलाई सोधेर दौडिरहेका हुन्छन् र? फूलहरू कसैको आदेशले फुल्ने हुन् र? सबैको समय छ, हुन्छ भन्छु, शक्ति अपरम्पार छ। बुझ् नेले देख्न पनि सक्छ तर देख्नेले नबुझ्न पनि सक्छ। यी सबै आफूमा निर्भर हुन्छन्। कुरो दृश्य दृष्टिको पनि होइन। त्यस्तो क्षमता भएको भए गुँड छोडेर एक्लिनुपर्ने कुनै बाध्यता थिएन। रहर पनि होइन, बाध्यता पनि होइन। नजानिँदो मोह, अलिकति भए पनि भविष्य बलियो बनाउने आशा र सम्भावनाको पीडा।
कहिले लाग्छ, आफूभित्र बाँधिएका सबै डोरीहरू च्वाट्ट चुँडालेर स्वतन्त्र बनूँ। कतिन्जेल कल्पनाका हाँगाहरू बढाएर कमजोर ठान्दै जाने? कतिन्जेल अदृश्य पीडाका नीलडाम हेरेर टोलाइरहने? भत्काउनै खोज्ने हो भने समयको खोर कति न बलियो होला र? त्यसो पनि होइन। हार्ने मानसिकताले युद्धभूमिमा सैनिक भएर जानुको के अर्थ? उसको पोसाक, उसको हातहतियार, उसको तालिम, उसको लगानी सबै खरानी। शरीरको मात्र उपस्थिति के उपस्थिति ! युद्धमा जाने फलामजस्तो हुनैपर्छ, प्रेम गर्नेले फूल बन्न सिक्नैपर्छ। मन्त्र नजान्ने पण्डितले होम गर्नुको के अर्थ?
बहादुरहरू आफ्नो लक्ष्यका लागि जे पनि गुमाउन तयार हुन्छन्। प्रेमीहरू एकआपसमा पग्लेरै बग्न चाहन्छन्। एकपटक जब म अमेरकिाको बोस्टनबाट नेपाल फर्किन विमानस्थल पुगेको थिएँ, त्यतिबेला एक जोडीको प्रेम-आँसुलाई राम्ररी देखेको थिएँ। उनीहरूको बिदाइ दर्दनाक थियो। मेरै नजिक थिए तिनीहरू। भारतीयजस्तै लाग्ने भर्खरका जोडी। अंकमाल गरेर धेरै बेर रोए। पछि फेरि आपसमा आँखा जुधाए। दुवैले दुवैको आँखा पुछिदिए। फेरि मुस्कुराए, फेरि चुमे र फेरि अँगालोमा बाँधिए र फेरि रोए। जाने बेलामा दुवैले दुवैलाई बेसकन समाते, मानौँ अब छुट्टिन सकिँदैन भनेजस्तो गरी। तर, विस्तारै फुत्किए र चुमे फेरि। मलिनो हाँसो हाँसेर छुट्टिए। केटो गएपछि केटी रुन थालिन् भक्कानिएर। रुमाल भिजेर निथ्रुक्कै थियो। आँसुको धारा बग्दै थियो, एकैछिनमा उनको मोबाइलको घन्टी बज्यो। हतारले फोन उठाइन् र हाँस्दै कुरा गर्न थालिन्। केटोले नजिकैको सिसाबाहिरबाट फोन गरिरहेको थियो।
भावविभोर भएको थिएँ म। त्यतिबेला मौसम पनि पिलन्धरे बनेको थियो। डम्म बादल लागेर उज्यालो हुन सकेको थिएन, एकैछिनमा सिमसिमे पानी बर्सिन पो थाल्यो। प्रकृति पनि यति कमजोर भएर हुन्छ? प्रेमी-प्रेमिकाको बिछोडसँगै आकाश चुहिन थाल्ोको थियो। कस्तो संयोग ! अरूको दुःखमा दुःखी हुनु र सुखमा सुखी हुनु ठीकै हो तर सम्भव हुन्छ र सधैँ ! यस्ता घटना एकै निमेषमा हजारौँ, लाखौँ कहीँ न कहीँ भइरहेकै हुन सक्छन् नि !
व्यस्तता नै भनौँ। समय कटिरहेको धेरै दिन थाहै भएन। फुर्सदका समय पनि रमाइलै थिए। तर, समयले कोल्टो फेर्यो एकैपटक। बाँकी दिनहरूका योजनाहरू क्षणिक आएको भूकम्पले भताभुंग पारििदएजस्तै भयो। जसको कुनै विकल्प थिएन। जे भयो, भयो। सहनु एक मात्र उपाय बाँकी भएपछि सहनै पर्यो। यस फुर्सदलाई एक प्रकारले इमानदारीको पुरस्कार पनि ठाने, चित्त बुझाउन। अरूलाई उभ्याउन खुट्टा दह्रो बनाउन खोजिरहेका बेला आफैं कमजोर हुनुपर्यो। विडम्बना पनि नमीठो विडम्बना ! शासन व्यवस्थामा शक्तिको नाश भएजस्तै। शक्तिशाली बन्न षड्यन्त्र गर्नुपरेजस्तै। भए पनि नभए पनि नियति त्यस्तै भोग्नुपर्यो।
फुर्सदका कारण धेरैतिर खुट्टा टेकाउँछु। दिउँसोको चर्को घाममा निस्कन्छु। ठूलो पार्कमा बच्चाहरू पुच्छर हालेका चंगा उडाइरहेका देखिन्छन्, दसैँको निकटताको आभास गराउँछ परदेशमा। गर्मीले नांगिएका शरीरहरू। छाती, पेट, ढाड, हात, खुट्टा शरीरभरि देखाउन मिल्नेसम्म अंगमा कुँदिएका टाटु प्रदर्शनी युवकयुवतीले त गरे गरे फेसन बनाएर। बूढाबूढीहरू पनि त्यस्तै छन्। यसले शिवरात्रिका नांगा बाबाजीहरूलाई सम्झिन्छु, सेन्जो सहरमा।
चंगाले दसैँ सम्झायो। दसैँले पीङ मच्चायो, जमरा फलायो, टीका लगायो, घर पुर्यायो, परिवार भेट्टायो। सम्झनाको लहर फैलिँदै फैलिँदै सबै ठाउँ पुर्यायो। बाँकी केही भएन। सम्झनाको संग्रहालय मनभित्र भएपछि के पो बिर्सनु र? सम्झनाहरू लामो लिक बने रेलका। त्यसपछि रेल सम्झनाको लिकमा गुड्न थाल्यो। लिकको कुनै स्टेसन नहोस्, निरन्तर गुडिरहोस् रेल। परदेशमा यति म चाहन्थे, आँखा चिम्लेर सबै पाइने मीठो सम्झना तर महँगो। मीठो सम्झनामा चुर्लुम्म डुबेर नुहाउनुको अनुभव सधैँ फुर्सदमा चाहना राख्थेँ म।
महिनौँको रुन्चे मौसमलाई साटेर मीठो स्मृतिको कारागारको बन्दी मानेँ मैले। गुलाफजस्तै फक्रेको अनुहारको फोटो खिच्न मन लाग्दा कतै एक्सरेले जस्तै मन पो खिचिदिन्छ कि भन्ने अलिकति डर छ। बाहिरको त देखिएँ, देखिएँ, भित्रका कमजोर आँसुहरू किन प्रदर्शन गरिरहनु? आँखा उज्यालो थियो घामजस्तै, रात परे पनि निदाउन नसकेका बेला आफूसँग रातलाई पनि जाग्राम राख्न खोजथेँ तर वशको कुरो हो र? अलिकति खुसीमा, जे पनि जित्ने फूर्ति किन परदेशमा नै हुन्छ? मलाई मात्र हो कि अरूलाई पनि यस्तै छ?
यो जित हो कि हार? जीवनको यो समयको? कसले पो जोख्न सक्ला तराजुमा! सकोस् पनि कसरी? कहिले जितेको ठान्छ आफैँलाई हराएर, कहिले हार्छ आफैंलाई दाउमा लगाएर। यो अनौठो स्वादको के इतिहास? के वर्तमान? यति गर्न नसके कहाँ दिन कटाउन सकिन्छ र परदेशमा !
नेपाल साप्ताहिक अंक ४१४
