तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली


हाइकु हुर्कने परिवेश
नेपाल उचाइ भौगोलिक विशेषताले जैविक एवं सांस्कृतिक विविधायुक्त छ। हिमाली क्षेत्रको हावापानी, वैदिक र वौद्ध सभ्यताले नेपालीमा सिर्जनाको जवानी अत्यन्त उर्बर बनाएको छ। एशियाको सभ्यतामा हिमाली क्षेत्रको विशिष्ट योगदान छ र हिमाली क्षेत्र नेपालमा अत्याधिक एवं महत्वपूर्ण भाग समेटिएकाले यहाँका बासिन्दा सौभाग्यशाली छन्। तर हजारौं वर्षदेखि आकर्षणको केन्द्र रहेको यो भाग अझैं नेपाली साहित्यले छिचोल्न सकेको छैन। सय वर्षभन्दा अघि नेपाल पस्ने जापानी भिक्षु इकाइ कावागुचीले पोखराको सौन्दर्यपान गरेर मुक्तकण्ठले प्रशंसा गरे झैं नेपालका विभिन्न क्षेत्रका विशेषतापूर्ण स्थानहरूमा अबका पिढीले यात्रा गरी साहित्यको सिर्जना गर्नु वान्छित छ। यात्रा साहित्य केही जुर्मुराए पनि यात्रा काव्य फस्टाउन सकेको छैन। जापानी परम्परामा माचुओ वासोले यात्राकाव्य सिर्जनामा नयाँ आयाम थपेर नयाँ स्थलको भ्रमण अनुभूतिका केही विवरण सहित छोटो कविता लेख्ने साहित्यको प्रभावकारी शैली विकास गरेर साहित्यमा विशेष योगदान गरेका छन्। नेपालमा एउटा सानो चिनारी स्वरुप १७ कविहरूले ततस्थानीय अभिव्यक्ति स्वरुप नयाँ वातावरणमा जुन सिर्जना गरे त्यो “अन्धगल्छी”का रुपमा आएको छ। हुन त चार दशक अघि नै जापानबाट भित्रिएको छोटो मीठो प्रशिद्ध हाइकु शैलीको कविता नेपाली साहित्यिमा अपरिचित छैन तापनि बीचको शीथिलताले यसले पनि गति लिन पाएन र उल्लेख्य रुपमा आउन सकेन। आजको नेपालमा अब ओझेल नपर्ने गरी हाइकु अधिराज्यव्यापि बनिसकेको छ। यो बाढी जस्तै उर्लिएको छ र केही समयपछि सङ्लँदै सुन्दरतम सिर्जना हुन सक्ने अनुमान स्वत: लगाउन सकिन्छ। नेपालको प्रकृति र संस्कृति जापानी वातावरणसँग अत्यन्त सान्निध्य राख्ने हुँदा हाइकु फस्टाउन खास मलजल दिन नपरे पनि सुरुमा केही रेखदेख नगरी हुर्काउन कठिन हुन्छ। अत: हाइकुका बारे आधारभूत कुराहरूको सामान्य जानकारी जो कोहीलाई हुनु वान्छित छ।

हाइकुको कखरा
जापानमा कविता सातौं-आठौं शताब्दीमा फस्टाएको देखिन्छ। यसैताकाको “मानयोसु” ग्रन्थ २० वटा पानामा ४,५०० कविता संकलित छन्। विभिन्न समयमा रचित यो सिर्जनामा साँढे चार सय वर्ष जतिको अभिव्यक्ति छन्। यसमा अधिकांस तांका ढाँचाका कविताहरू छन्। यसकै विकास क्रममा वौद्ध धर्मका एक शाखा जेनवादीहरूले प्रकृतिलाई आत्मसाथ गरी जीवनको रहस्य खोतल्ने रुपमा हाइकु प्रयुक्त भयो। विम्ब विधानबाट संवेदनको चुचुरीमा पुगेर भावातीत हुँदै भागवत प्राप्ति र मुक्ति दिने काव्यका रुपमा हाइकु जेनवादीमा प्रभावशाली मानिन्छ। दार्शनिक दृष्टिले यो काव्यको मर्म हिमालबाटै नि:सृत मान्न सक्ने ठाउँ प्रशस्त छ। वेदका ऋचा, मन्त्रहरू र लोकभाकाका अनेक आयाम केलाउँदा हाइकु पराइ लाग्दैन। स्निग्धता र निस्पृहता नै उच्चता हो। हाइकुको रचना स्वरुप संस्कृत परम्पराबाट टाढा छैन। मात्राको गणना अर्थात वर्ण व्यस्थामा रचिने काव्य सबैमा परिचित छ। सूक्ष्म काव्यका रुपमा ५, ७, ५ अक्षरमा तीन हरफको १७ वर्णमा व्यवस्थित हाइकु जीवन बोधक प्रकृतिपूर्ण विम्वविधानको विशिष्ट काव्यिक विधा हो। विम्वले व्योम समेट्छ। मरमाणुमा विश्व-ब्रह्माण्ड प्रतिबिम्वित हुन्छ।

जापानमा ताङ्काबाटै हाँगा फाटेको वा ग्रह छुट्टेको हाइकुले पूर्ण रुपमा सन् १९९२ मा कवि मासाओका सिकीले सुधार गरेपछि स्वतन्त्र एवं बलियो काव्य उपविधामा स्थापित भएको हो। तीन पातमा ५, ७, ५ अंकरङ्कित शब्द संयोजनमा जम्मा १७ पूर्ण युक्त वर्ण हाइकु संरचना शास्त्रभित्र ऋतुगत प्राकृतिक र सांस्कृतिक विम्वविधानद्वारा भावाभिव्यक्ति हुन्छ। नेपालीमा हलन्त र जोडे मोडेको अक्षरलाई पूर्ण अक्षर नमान्दा राम्रा हाइकु राम्रै बन्दछन्। कविहरू स्वतन्त्र भए पनि हाइकु नाम दिएर लेखिंदा आधारभूत संरचनामा रहनु राम्रै हुन्छ। अरू हाइकु खाले कविता, तीन हरफे कविता र छाडा संरचनामा हाइकु आ‍-आफ्नै तर्कमा बाँच्ने भऐ पनि जापानी रुपमा रचेर हाइकुलाई हाइकु नै बनाउने प्रयासको खाँचो छ। नेपाली परिवेश र भाषिक सांस्कृतिक दृष्टिमा सबल हाइकु सिर्जना राम्ररी हुन सक्छन्।

हाइकुले ध्यानमग्न बनाउन सघाउँछ। जीवनको सूक्ष्म चिन्तन र प्रकृतिका गहन गवेषणले खँदिला बनेका हाइकु परमाणुबम जत्तिकै शक्तिशाली हुन्छन्। जापानी हाइकुमा यस्ता चमत्कार प्रशस्तै पाइन्छन्।

क्योसि ताकाहामा (१८७४-१९५९)को एउटा हाइकु
सर्प चिप्लियो
आँखाले मात्र हेर्छ
घाँसमा बसी।

सुजुताकानो (१८९३-१९७६)को हाइकु
माकुरा जाल
कसिंदै बाँधिएछ
लिली अगाडी।

प्राविधिक पक्ष
जापानी परम्पराको हइकुका प्राविधिक पक्ष महत्वपूर्ण मानिन्छ।

संरचना स्वरुप
हाइकु तीन हरफको पंक्तिमा रहन्छ। पहिलो हरफमा ५ अक्षर ननाघ्ने शब्द संयोजन, दोस्रोमा ७ र तेस्रोमा पुन: ५ अक्षरयुक्त संरचना नै हाइकुको रुप हो। यसरी १७ अक्षरले रचना हुने हाइकुमा मात्राको महत्व स्थापित छ।

विम्ब विधान
हाइकुमा ऋतु सम्बद्ध विम्ब हुनु पर्दछ। हाइकुलाई अक्षर र शब्द संयोजले रुपमात्र खडा गरेर पुग्दैन। त्यो बुख्याँचा मात्र हुन्छ। जब बेजोड विम्बमा जीवन प्रतिविम्व झुल्कनछ त्यो जीवन्त बन्छ। रुखको भाषा अर्थात “किगो”ले जीवनको भाषा बोल्छ र ऋतुसँग समन्वित भई परिवर्तन सँगै प्रवाहित हाइकुले गहिरो चिन्तन र दर्शन दिन्छ।

ऋतुको अनुक्रमण संयोजन मौसम र त्यससँग सम्बद्ध तारा नक्षत्रको स्थिति, भौगोलिक पक्षमा पर्वत, नदी, वारी आदि घटनाहरू (पर्व, दिवसहरू), दैनिक जीवनका मानवीय पक्ष, जीवजन्तु, वनस्पति सबै ऋतुगत विम्वले जीवन विम्व दिन्छन्। राम्रो ऋतु वसन्तमा लाली गुराँस फक्रेको र आरु पहिले नै फुलेको अनेक विम्व विधानको विन्यास हाइकुमा महत्वपूर्ण मानिन्छ। ऋतुगत शब्दकोष (साइजिकि) देशगत रुपमा हुनु पर्ने हुन्छ। नेपालमा ६ वटा ऋतुका स्पर्शमा हाइकु व्याप्त हुन सक्दछ।

संयोजन प्रविधि
प्राविधिक दृष्टिले हाइकु निर्माणमा कविहरूले काम अभियन्ता जतिकै जटिल र ज्यामितीय कोण दृष्टिकोण रहनु पर्छ। यसमा दर्जनौं प्रविधिहरू विकसित छन्। उदाहरणका लागि हास्य प्रविधिमा हाइकु यसरी उत्रन सक्छ।

नेताको नाक
देखाउनै नहुने
खै केले छोप्ने?

एकाकीपनको सावी प्रविधिमा हाइकु अर्कै बन्छ:
तकिया रोयो

खुम्चियो र फालियो
चिसो ओछ्यान

सौन्दर्य चेतको भावी प्रविधिले सुन्दरता झल्काउँछ।
स्वयंभूस्तूप
आँखा दोलायमान
आरु फुलेछ।

रहस्यको अथाह गहिराइमा लाने युगेन प्रविधिले कुहिरो, गल्ली आदिमा अर्कै ठाउँ पुर्याउँछ।
नालको छेउ
डुङ्गा दोलायमान
आँधी र हुरी।

यस्ता थुप्रै प्रविधिहरूले हाइकुलाई प्राविधिक बनाएका छन्। प्राविधिक पक्ष र सांस्कृतिक एवं भौगोलिक भिन्नताका विम्व बुझाउन कठिन छ। यसैले हाइकु उल्था कठिन काम हो। एक रुपता ल्याउन नसकिएर अंग्रेजीमा पनि भिन्नता भेटिन्छ।

An old pond
A frog jumps in water.

Old pond
Leap splash
A frog.

An ancient pond
A frog jumping into it
The sound of water.

जापानी कवि वासोको प्रशिद्ध हाइकु
फुरुईकेया
कावाजु तोविकोमु
मिजुनो ओतो।

उल्था गर्दा नेपालीमा
पुरानो ताल
भ्यागुताको उफ्राई
जल तरंग।

बुढो पोखरी
भ्यागुतो उफ्रिदियो
जल आवाज।

जीर्ण पोखरी
भ्यागुताको छलाङ
जल आवाज।

नेपाली हाइकु उल्था गर्न पनि सांस्कृतिक, प्राकृतिक विशेषता छायाँमा उतार्न कठिन छ। नेपालीमा भए झैं अक्षर गन्तीमा अंग्रेजी असंभव छ तर केही हदसमा उत्रन नसक्ने होइन।

नेपाली विम्वयुक्त हाइकु
सुतेकी सेती
उठेको माछापुच्छ्रे
पोख्रेली स्पर्श।

Sleeping Seti
Standing Machhapuchchre
Pokharean’s touch.

सुन्दर रुपमा उत्रिए पनि विम्वले अन्य परिवेशमा बुझ्न कठिन छ। नेपालीमा सही रुपमा स्मृतिजन्य हाइकु कमै भए पनि सिर्जना हुन थालेका छन्। समाट शब्द संयोजनका हाइकु नामधारी वाक्य बनोटमा धेरै आएका छन्। हाइकुको विम्वलाई खेलाउँदै ध्यानपूर्वक ध्यानमा लाने सिर्जना कमै छ। हुन त २०५०को दशकको तुलनामा ६०को तीन वर्ष नबित्दै दोब्बर पुस्तक प्रकाशित नभएका हैनन्। नेपाली हाइकुमा शंकर लामिछानेले १०१९ सालमा रचेका माकुरा जाले हाइकु सटिक छ। स्मरणमा उत्रन्छ।

माकुरा जाल
झोलिएको ओसले
तन्किंदै गयो।

उनको रचना कम भए पनि उत्कृष्ट रहेको छ । पछि अग्रज पिंढीमा कम देखा परे पनि नयाँ पिंढीमा अधिराज्यव्यापी भएको आजको सन्दर्भ लिंदा नेपाली हाइकुको भविष्य उज्यालो छ। केही साश्वत चिन्तन र सबल सफल हाइकु नेपाली साहित्यमा भित्रिसकेको छ।

सम्यकसिर्जन
हाइकु रचना त्यति सजिलो छैन। कुनै मान्छेको आकृति राम्रो देख्दैमा यो त सारै सुन्दर भनिए पनि उसको चरित्र र भित्रि चित्र सबल नभएसम्म पूर्णता प्राप्त मान्न नसकिए झैं हाइकुको चुरो तिख्खरो नभई हाइकु हाइकु हुँदैन। यसका लागि एउटै हाइकु रचनामा पनि मनमा धेरै कुरा खेलाएर साश्वत दर्शन, सौन्दर्य चेतन र गहिरो चिन्तन चाहिन्छ।

नेपाली हाइकुमा आफैं विशिष्ट हाइकु आउन बाँकी नै भए पनि विहानले दिवाको रुप दर्शाउँछ भने झैं अग्रज पिंढीको सक्रियतामा बढ्दै गरेको हाइकु युवा पिंढीमा जमजमाएको हुन्छ।

किशोर सराजन अधिकारीको हाइकुले वाल जीवनमै हाइकु उतारेका छन्।
फर्सीको मुन्टा
काउली तरकारी
म गरीब रे।

प्रकाशित पुस्तकहरू केलाउँदा युवा पिंढीमा दर्जनौं कविहरूका मीठा हाइकु प्रशस्तै देखा परेको पाइन्छ। पुराना पिंढीमा एक दर्जन जति नाम चलेका कविहरूले हात हालेको पाइए पनि पुस्तकाकारमा संकलित हुन निकै बाँकी छ।

शास्त्र सम्मन विम्व विधान र मात्रात्मक संरचनाका हाइकु कमै भए पनि हाइकु शैलीका व्यापक विषयको अभिव्यक्ति काव्य पनि कम प्रभावकारी छैनन्। व्यङ्ग्यवत सेनर्यो चाहिं अलिअलि आउन थालेका छन्। नेपाली युवा कविको साधनामा निरन्तरता रह्यो भने स्सतो र संख्यात्मक हैन कसिलो र गुणात्मक चिन्तन सिर्जन भएमा हाइकु बढी प्रभावपूर्ण हुन नसक्ने हैन। मान्छेको मूल्यवान समय र सुन्दर सोच एवं आत्मज्ञानका लागि पनि अत्यन्त महत्वपूर्ण हाइकुले दिने स्वादमा ध्यानद्वारा ज्ञान मात्र हैन भावातीत आत्मानन्दले निर्वाण प्राप्त गर्न नसघाउने हैन। यसका लागि विशुद्ध हाइकु हाइकु नै रचिनु पर्दछ।

हाइकुलाई खुला छोडेर अनेक आयाममा प्रवाहित भइन्छ र यस्ता हाइकुमा जीवनका झिल्का झुल्केर मनै उज्यालो हुन सक्दछ।

आकाशे स्याउ
पोखरी छोप्ने झ्याउ
डुङ्गा खियाउ।

थुम्के पहाड
दोलालघाट तल
नदी बग्दैछ।

प्यास लागेर
कुवा खोज्दै थिएँ म
समुद्र पाएँ।

सर्प देख्दैमा
भ्यागुतो मुख बायो
सर्पले खायो।

शंख फुकेर
मैदानमा ओर्लिए
ब्रह्मा युद्धमा।

कस्तो बालक!
पोखरीको चन्द्रमा
हात पो हाल्छ।

ढोका खोलेर
भित्र पस्यो चोर
लगेन छोड्यो।

सिम खेतमा
भ्यागुतो उफ्रिएछ
चमत्कार भो।

(नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सवका उपलक्षमा नराप्रप पद्य विभाग र नेपनिप रिसर्च सेन्टर साहित्य विभागद्वारा २०६२ फागुन १३ गते आयोजित हाइकु महोत्सवमा प्रस्तुत कार्यपत्र।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली”

  1. कुमार जी, शिर्षकमा हाइकु
    कुमार जी, शिर्षकमा हाइकु हुनुपर्नेमा हाएकु भयको रहेछ करेक्सनको लागि अनुरोध छ

  2. शीर्षकमै गल्ती होला भन्ने त
    शीर्षकमै गल्ती होला भन्ने त सोच्या’ पनि थिइन।
    गल्ती अौंल्याइदिनुभा’कोमा धन्यवाद छ, प्रकाशजी। सच्या’छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *