यो सीमा रेखा जसले
मेरो निधार कोरेको छ
अब त्यसको समाधिस्त गर्दछु
यो रेखा जसले भीष्मलाई
कौरव रेखामा उभ्यायो,
यो रेखा जसले कृष्णलाई पाण्डव रेखामा उभ्यायो
उभ्यायो, द्रोण, कर्ण लगायत
धेरै धेरै महापुरुषहरू
महाभारतको त्यो युद्ध मैदानमा
र गर्यो नरसंहार
अब त्यो हत्यारा रेखाको समाधिस्त गर्दछु ।
शीत युद्धको पारी डाँडाबाट
कराउने स्याल,
विश्व युद्धको वारिबाट कराउने फ्याउरो
किन बासिरहेछ भाले
खुनले लथपथिएको रेखामा उभेर
अब त्यो रेखाहरू दफन गर्नुपर्छ
त्यही रेखाबाट उठेको दुर्गन्धले
मानवताको करङसम्म पनि
भष्म भैसकेको छ
यस्तो आणविक रेखा मलाई चाहिन्दैन
शीत युद्धको रेखा मलाई चाहिन्दैन
चाहिन्दै चाहिन्दै चाहिन्दै
हत्यारा, खूनी, जातिय, धार्मिक, आणविक
सबै रेखा मलाई चाहिन्दैन
किनभने रेखाहीन उज्यालोमा उभेर
आफूलाई हेर्न चाहान्छु,
संसार हेर्न चाहान्छु
देश, आँगन र सबै हेर्न चाहान्छु
रेखाहिन आँगनमा फुलेको रंगीन फूल हेर्न चाहान्छु
समुद्रमा किन मिल्छन् धेरै खोलाहरू
किन धेरै फूल फुल्छन् एउटै बगैंचामा
यी सबैलाई राखेर कुरा गर्न चाहान्छु
सबै रंग समान हुँदाहुँदै
किन छुट्टिन्छ पहेँलो, सेता र कालो
मलाई तोड्नुछ खेतका गराहरू
मलाई फोड्नुछ रुखका हाँगाहरू
अब म सबै रेखाहरू मेट्न चाहान्छु
त्यसैले ती सीमा स्तम्भहरू
सीमाहिनतामा समाधिष्ट गर्न चाहान्छु ।
देश सुब्बा
