स्रष्टाहरू जीवितै छँदा उनीहरूको सम्मान गरिनुपर्छ भन्ने मान्यता धेरैको रहेको भए पनि यथार्थ चाहिँ अलि भिन्न छ । मान्छे कृति र कीर्तिले बाँच्छ, मरेर गएपछि सम्झिने कुरा यी नै हुन् भनेर चित्त बुझाए पनि पछि यिनै कुरालाई बेवास्ता गरेर धेरैको चित्त दुखाएका छौँ हामीले । उदाहरण अघि सार्नुपर्दा मनग्गे नाम आउँछन् यस सन्दर्भमा । नेपाली भाषा र साहित्यका सन्दर्भमा पनि यस्तै भएको छ । कतिपय स्रष्टाहरू योगदान र सिर्जनाका दृष्टिले अब्बल रहे पनि तिनको सम्झनासम्म गरिएको पाइँदैन । स्रष्टाहरूको जन्म शताब्दी मनाउने सन्दर्भमा पनि यस्तै भएको छ ।
साहित्य क्षेत्रमा स्रष्टाहरूको जन्म शताब्दी मनाउने कार्यको थालनी भएको इतिहास करिव पाँच दशकको मात्र रहेको छ । स्रष्टाको जन्म शताब्दी भव्यरूपले देश-विदेशमा समेत त्यतिकै उत्साहपूर्वक लागेर मनाउन थालिएको भने भर्खरै मात्र हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म शताब्दीलाई यसको मुख्य उदाहरण मान्दा हुन्छ । नेपाली शिक्षा परिषद्ले वि.सं. २०२३ सालको भदौ महिनामा युवाकवि मोतीराम भट्टको जन्म शताब्दी तीन दिनसम्म मनाएको इतिहाससँगसँगै स्रष्टाहरूको जन्म शताब्दी मनाउने परम्पराको थालनी भएको पाइन्छ । नेपाली शिक्षा परिषद्का सदस्य- सचिव रमा शर्माका अनुसार त्यतिखेर स्रष्टा गोपाल पाँडे ‘असीम”को सक्रियतामा मोतीरामको जन्म शताब्दी विविध कार्यक्रम गरेर मनाइएको थियो नाट्यसम्राट बालकृष्ण समले लेख्नुभएको ‘मोतीराम’ नाटकसमेत त्यसै बखत प्रदर्शन गरिएको थियो ।
वि.सं.२०२३ साल भदौ ३० गतेको गोरखापत्रमा प्रकाशित यो समाचारबाट पनि उक्त समारोहको राम्रै झलक पाइन्छ ।
भाषा र साहित्यको विकास देश र जातिको उन्नतिको आधार कवि मोतीराम भट्ट जन्म शताब्दी समारोह प्रारम्भ शीर्षक दिएर ‘गोरखापत्र’ मा प्रकाशित समाचार –
काठमाडौँ, भदौ २९ गते । कवि मोतीराम भट्टको जन्म शताब्दी र अन्य स्व.कवि-लेखकहरूको तीन दिनसम्म मनाइने सामूहिक जयन्ती समारोहको आज साँझ त्रिभुवन विश्वविद्यालय भवनमा प्रधानन्यायाधीश श्री भगवतीप्रसाद सिंहले उद्घाटन गर्नुभयो ।
सोही समाचारमा उल्लेख छ-समारोह समितिका सचिव गोपाल पाँडेले शिक्षा मन्त्रालयले समारोहको निमित्त रु. १,०००।- अनुदान दिएको कुरा पनि बताउनु भयो ।
मोतीराम भट्टको जन्म शताब्दीको आखिरी दिन (२०२३, भाद्र ३१) गते गोरखापत्रमै प्रकाशित अर्को समाचारले त्यतिबेला यो समारोहलाई महत्त्वका साथ हेरिएको प्रष्ट हुन्छ ।
श्री ५ बाट नाटक नजर
काठमाडौँ, भदौ ३१ गते । कवि मोतीराम भट्ट शताब्दी तथा अन्य कवि लेखक सामूहिक जयन्ती समारोह अन्तर्गत आयोजित ३ दिने कार्यक्रमको आखिरी दिन आज श्री ५ महेन्द्र पुलिस क्लबमा रोयल नेपाल एकेडेमीका सदस्य बालकृष्ण समद्वारा लिखित मोतीराम नामक नाटक प्रदर्शित गरियो ।
श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानी सरकारहरूबाट पनि उक्त नाटक नजर गरिबक्स्यो (रासस)
नेपाली शिक्षा परिषद्ले वि.सं.२०४०-४१ सालमा एक वर्षसम्म कवि शिरोमणि लेखनाथ पौड्यालको शतवाषिर्की मनाएर लेखनाथ साहित्य सदन (सोह्रखुट्टे काठमाडौँ) को शिलान्यास, लेखनाथका प्रतिनिधि कविताको प्रकाशन आदिजस्ता काम पनि गर्यो । काठमाडौँको रानीपोखरीमा भानुभक्तको, धरानमा मोतीराम भट्टको, लेखनाथ साहित्य सदनमा लेखनाथ र गोपाल पाँडे ‘असीम’को कमलपोखरीमा बालकृष्ण सम र ल्हासामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक स्थापना गरिसकेको छ । बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दीसमेत वि.सं.२०५९ र २०६६ मा मनाइसकेको छ परिषद्ले ।
स्रष्टाहरूको जन्म शताब्दीको सन्दर्भमा सबभन्दा व्यापकरूपले र लामो समयसम्म मनाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दी नै हो । देशभित्र र बाहिरसमेत त्यतिकै उल्लेख्य र उल्लासमय वातावरणमा देवकोटा जन्म शताब्दी मनाउने काम भएपछि यसलाई उदाहरणीय कामको रूपमै लिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा अध्ययन प्रतिष्ठान आदिले मात्र होइन, विभिन्न साहित्यिक सङ्घ-संस्थाले राजधानीलगायत विभिन्न जिल्लामा देवकोटा शताब्दी वर्ष मनाए । यसै सन्दर्भमा मधुपर्क मासिक, समकालीन साहित्य, बगर दायित्व, नव-कविता शब्दयात्रारचना, शब्दसिन्धु, नारीस्वर, भृकुटी आदि विभिन्न पत्र-पत्रिकाले देवकोटा विशेषाङ्क प्रकाशित गरे । यसै सन्दर्भमा त्रिमूर्ति निकेतनले स्रष्टा डा. मोदनाथ प्रश्रतिको अध्यक्षतामा लक्ष्मीप्रसाद देवकोटा शत वाषिर्की समारोह समिति गठन गरेर भव्यरूपले देवकोटा जन्म शताब्दी मनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनजस्तो बृहत् र आँटिलो कामसमेत सम्पन्न भयो । देवकोटाका कृति-रचनासम्बन्धी विविध कार्यक्रम मात्र होइन, देवकोटासँग सम्बद्ध एक दर्जन खँदिला अन्य कृतिसमेत प्रकाशमा आए । स्रष्टाद्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको सोच र सक्रियतामा आयोजित यो बृहत् कार्यक्रमका लागि सरकारका तर्फबाट समेत २५ लाख रुपियाँ प्राप्त भएको थियो ।
यसरी वि.सं. २०२३ सालमा युवाकवि मोतीराम भट्टबाट थालिएको जन्म शताब्दी मनाउने परम्पराको थालनी महाकवि देवकोटाको जन्म शताब्दी वर्ष २०६६ सम्म आइपुग्दा यसले व्यापक रूप लिइसकेको छ । यसैबीचमा जन्म शताब्दी मनाइनुपर्ने अन्य कतिपय स्रष्टाहरूको स्मरणसमेत गरिएन भने कतिपयको जन्म शताब्दी मनाइएको पनि पाइन्छ । कवि शिरोमणि लेखनाथ, नाट्यसम्राट बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्गेल, पहलमान सिंह स्वाँर, वासुदेव भट्टराई, सोमनाथ सिग्देल, युद्धप्रसाद मिश्र, गुरूप्रसाद मैनाली, भवानी भिक्षु, चित्तधर हृदय, मोतीलक्ष्मी उपासिका आदि स्रष्टाको जन्म शताब्दी मनाइएको पाइन्छ तर माधवप्रसाद देवकोटा, राममणि आदी, टुकराज मिश्र, बदरीनाथ भट्टराई, रूद्रराज पाण्डे, ऋद्धिबहादुर मल्ल, सूर्यविक्रम ज्ञवाली आदिजस्ता स्रष्टाको जन्म शताब्दी मनाइएको भने पत्तो भएन वा यिनको सम्झनासमेत गरिएन ।
कवि धरणीधर कोइरालाको सभापतित्वमा २०३४ साल पुस ९ गते काठमाडौंमा बसेको एउटा बैठकले २०३५ सालको मार्ग कृष्ण द्वादसीदेखि वर्षभरि स्वर्गीय साहित्यकार पहलमानसिंह स्वाँर शतवाषिर्की मनाउने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार पहलमानसिंह स्वाँर शतवाषिर्की मनाउने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार नेपालभरि नै विभिन्न कार्यक्रम भए, स्वाँरको चित्राङ्कित हुलाक टिक निकालियो, कैलालीमा हुलाक घरको स्थापना, पुस्तक प्रदर्शनी, पहलमान सिंह स्वाँर स्मृतिग्रन्थको प्रकाशन जस्ता काम भए ।
वि..सं. २०४० सालमा प्रसिद्ध गद्यकार चक्रपाणि चालिसेको जन्म शताब्दी मनाइयो । जन्म शताब्दीकै अवसरमा उहाँको जन्मथलो कटुञ्जे (भक्तपुर) मा चक्रपाणिको प्रतिमा स्थापना, चालिसेको चित्राङ्कित विशेष हुलाक टिकट प्रकाशमा आयो ।
वि.सं. २०४४ सालमा इतिहासकार एवं साहित्यकार बाबुराम आचार्यको शतवाषिर्की मनाइ इतिहास शिरोमणि स्मृति ग्रन्थसमेत प्रकाशमा ल्याइयो । यस्तै वि.सं. २०५८ सालमा कथाकार, कोशकार पुष्कर शम्सेरको शतवाषिर्की मनाएर पुष्कर शम्सेर स्मृति ग्रन्थ प्रकाशित गरियो ।
वि.सं. १९६७ सालमा जन्मिएका सहित्यकार एवं अनुवादक गोविन्दप्रसाद भट्टराईको जन्म शताब्दी वर्ष हो । पृथ्वीमहेन्द्र महाकाव्य, भावना महाकाव्य, पूर्वीय काव्य सिद्धान्त, कवित जगन्नाथ भट्टराईको जीवनी, सत्य संकल्प (उपन्यास) नेपाल र नेपाली, मूर्तिपूजा जस्ता कृतिसहित रामाङ्क नाटिका, वृत्तकल्प लतिका, महामुनि भरतको नाट्यशास्त्र, श्रीमद्भागवत गीता आदि कृतिका अनुवादक गोविन्दप्रसाद भट्टराईको बारे कतै उल्लेख समेत गरिएको छैन । वि.संं. १९६७ सालमा सिन्धुलीको झाँगाझोलीमा जन्मिनु भएका भट्टराईको निधन २०४३ सालमा भयो यस्ता स्रष्टा साधकको जन्म शताब्दी मनाउनुपर्ने हो हामीले । कमसेकम उहाँको स्मृतिमा केही त लेख्नुपर्ने होइन र ? पण्डितराज सोमनाथ शत वाषिर्क समारोह समिति काठमाडौँले २०४१ मा सोमनाथ सिग्देलको शत वाषिर्कीको अवसर पारेर समालोचक नरहरि आचार्यद्वारा लिखित ‘पण्डितराज सोमनाथ सिग्देल र उनको महाकाव्य साधना (२०४१) प्रकाशमा ल्याएको थियो । सोही पुस्तकमा प्रकाशकका तर्फबाट समितिका सदस्य-सचिव शिवहरि मरहट्ठा लेख्नुहुन्छ-‘ प्रखर शास्त्रीय पाण्डित्यका दृष्टिले तात्कालिक समाजमा निकै उच्च स्थान ग्रहण गर्ने विद्वान्हरूको नामै बिर्सने स्थिति आइसकेको छ । यसै परिप्रेक्ष्यमा सोमनाथ शर्माको शत वाषिर्क समारोहको सन्दर्भमा पण्डितराज सोमनाथलाई चिन्ने, चिनाउने र उहाँको योगदानको संस्मरण गर्ने सानो प्रयत्नको परिणति नै ‘पण्डितराज सोमनाथ शत वाषिर्क समारोह समिति, नेपाल २०४०’ को उदय हो ।
यसबाट के प्रष्ट हुन्छ भने । विशिष्ट योगदान दिएर ख्याति कमाइसकेका स्रष्टाहरूलाई समेत चिन्न र चिनाउनु पर्ने अवस्थामा पुग्ने हामीले कमसेकम स्रष्टाको जन्म, जन्मजयन्ती, शत वाषिर्की आदिमै भए पनि सम्झन सक्छौँ । यति काम मात्रै पनि धेरै स्रष्टाको सन्दर्भमा हुन सकेको छैन ।
श्रीमद्भागवत् वाल्मीकि रामायणजस्ता बृहत् आकारका ग्रन्थलाई सरल र सुबोधरूपले नेपाली गद्यमा अनुवाद गरेर प्रकाशमा ल्याउने, इतिहासकारका रूपमा समेत चर्चित वासुदेव भट्टराईको बारेमा युवा साहित्यकार अमोददेव भट्टराई र यो पङ्क्तिका लेखकले उहाँकै शत वाषिर्कीको अवसर पारेर वि.सं.२०४५ सालको वैशाखमा बासुदेव भट्टराई स्मृतिग्रन्थ प्रकाशमा ल्याइसकेको छ । यस्तै, शारदाका संस्थापक, अनुवादक ऋद्धिबहादुर मल्ललाई सम्झेर उहाँकै जन्म शताब्दीताका उन्नयनले ‘ऋद्धिबहादुर मल्ल विशेषाङ्क’ प्रकाशमा ल्याएको कुरा पनि उल्लेख्य छ ।
यसबीचमा आधुनिक नेपाली कथाका अग्रज, प्रणेता गुरूप्रसाद मैनाली, कथा, उपन्यास, कविताका क्षेत्रमा चर्चित स्रष्टा भवानी भिक्षु, कवि युद्धप्रसाद मिश्र, नेपाल र नेपाली भाषाका प्रसिद्ध स्रष्टा चित्तधर ‘हृदय’, अग्रज कथाकार मोतीलक्ष्मी उपासिका आदिको जन्म शताब्दी हामीले आ-आफ्नै किसिमले मनाइसकेका छौँ । स्रष्टाहरूको जन्म शताब्दी मात्र होइन, यसै समयावधिमा हामीले आख्यान लेखनको सय वर्ष पनि मनायौँ । नेपाली भाषा साहित्य र पत्रकारितामा विशिष्ट योगदान दिने गोरखापत्रको शत वाषिर्की पनि त्यतिकै उत्साहले मनायौँ तर यसैबीचमा हामीले कैयौँ स्रष्टाको शतवाषिर्की मनाएनौँ, उहाँहरूको सम्झनासम्म गरिएन ।
स्रष्टा जन्म शताब्दीको सन्दर्भमा कुरो गर्दा वि.सं. २०६८ साल धेरै स्रष्टाको जन्म शताब्दीको वर्ष हो । नेपाली कथा, नाटक, काव्य क्षेत्रका स्रष्टा भीमनिधि तिवारी, उपन्यासकार मोहनबहादुर मल्ल, साहित्यिक पत्रकार एवं उपन्यासकार काशीबहादुर श्रेष्ठ, अनुवादक खड्गमान मल्ल, स्रष्टा सोमनाथ घिमिरे ‘व्यास’, कथाकार एवं निबन्धकार मातृकाप्रसाद कोइराला आदि स्रष्टाको जन्म शताब्दी वर्षको रूपमा रहेको २०६८ को आगमनपूर्व नै हामीले आवश्यक योजना र तयारी गर्नसके यी स्रष्टाप्रति न्याय गरेको ठहर्ला । साहित्यिक इतिहासमा स्रष्टा र साहित्यका लागि राज्यपक्षले खर्च गरेको उदाहरण धेरै कम मात्र पाइन्छ । कैयौँ स्रष्टाहरूलाई सम्झिने उहाँहरूको सम्मान गर्ने काम सङ्घ-संस्था, स्रष्टाका परिवार स्वयम् अग्रसर भएर गरिदिने गरेका छन् । हाम्रै साहित्यमा कतिपय यस्ता स्रष्टा छन् जसलाई जीवितै छँदासमेत परिवारले बेवास्ता गरेको देखिन्छ । कतिपयले चाहेर पनि सम्झिन सकेका छैनन् । यस्तो सन्दर्भमा स्रष्टालाई सम्झिने र तिनको स्मृतिमा काम गर्ने जिम्मा हाम्रै हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म शताब्दी वर्षले जसरी व्यापक र बृहत् रूप पायो, जसरी देशबाहिरसमेत जन्म शताब्दी मनाइयो, त्यसैलाई हेरेर मात्र काम गर्ने हो भने कमसेकम स्रष्टा जन्म शताब्दीमा मात्र भए पनि हामीले तिनको सम्झना र सम्मान गर्न सक्थ्यौँ ।
