गर्जन झिकेर स्वप्लिन स्वरमा, मीठा वाणी दिए,
पल्टाई इतिहास नयाँ युगको, थालनी गरे
फेरि भाँडभैलो झिकेर ठूलो हुने होड गरे,
सहिदको आत्मा र जनको भरोसा नै लत्याए
डाँफेलाई नचाउन भाका हाली, गाउँदै लेकाली गीत,
गर्दै राष्ट्रियता नेपाल आमाको, साँठगाठ शिकार सित
झैं लाग्छ नेपाली कोमल हृदयमा तीतो र टर्रो हुँदै
ओइलिन्छन् जागर युवा तनमा, श्रम गर्न विदेशिँदै
दर-दराजमा पर्णकुटी जीर्ण, झुप्राहरूका कथा
नाङ्गा आँङ अनि जन-जातिका, ती दर्दानक ब्यथा
रुन्छन् द्यौराली र पाटी-पौवाहरू, मर्मतको खातिर
बस्छन् चौतारी ती बटुवा जनको पर्खाइमा
डस्नेछन् बिछ्छी र काला अरिङ्गाल, नहोस् धोका सदा
घोप्नेछन् नीलकाँडा-डमरू आदिले, लडिरहे सर्वदा
बिलम्ब नगर ऐक्यबद्ध हुन, सर्वत्र आहृवान छ
सार्थक संविधान दिगो शान्ति चाहियो, देश-जन खातिर
युवामञ्च २०६७ असोज
