Skip to content

पोकली झरना सेवा समाजका कामहरू

कुनै पनि विशेष लक्ष्य नलिइकन सामाजिक संस्थाको गठन गरिँदैन । संस्था गठन गरेर म गाउँ समाज र देशलाई यो कुरा दिनेछु भन्ने लेखाजोखा पहिले नै गरिनु पर्छ । हुन त यो देशमा सामाजिक संस्थाको नाममा डलरको खेती गरेर मोटाउनेको संख्या ९९ प्रतिशत छ । अर्थात् अझै बढी हुन सक्छ ।

हाम्रो गाउँको पोकली झरनाको प्रसिद्धि स्वदेश र विदेशमा उत्तिकै छ । गाउँघर जिल्ला अर्थात स्वदेशमा यसको महत्व धार्मिक रुपमा छ । तर त्यहाँ भित्र लुकेको सुन्दरताको रहस्य झन अनमोल छ । हामीले के देख्यौं भने यस्तो अलौकिक प्राकृतिक सम्पदा हामीसँग छ । तर पनि सरकार र जिल्ला विकास समिति कानमा तेल हालेर वस्छन् । विकासको सुरुवात किन गर्दैनन् श्र महान पर्यटकीय क्षेत्र बन्न सक्छ । अन्य जान्दा जान्दै पनि किन प्रचार प्रसार भएको खण्डमा यो पर्यटकीय स्थल बन्न सक्ने ठम्यायौं । धार्मिक क्षेत्रको रुपमा प्रचार त छँदै छ त्यो पनि झन फैलिएर जाने छ । यी यस्तै लक्ष्य र उद्देश्य लिएर हामी पोकली झरना सेवा समाज नामक सामाजिक संस्था लिएर प्रकट भएका छौं । २०६३ साल मंसिर १६ गते रत्न राज्य क्याम्पसमा भएको भेला पश्चात् हामीले यो पोकली झरना सेवा समाज गठन गरेका हौं । संस्था दर्ता गर्न जाँद हामीसँग फुटेको कौडी पनि थिएन कागतीको गेडा समेत चुस्न नपाई हामी संस्था दर्ता गर्न सफल भयौं । साथीहरुको अदम्य उत्साहको कारण पनि हामीलाई संस्था दर्ता गर्न सजिलो भयो । पोकली झरना सेवा समाजसँग एउटा उच्च कोटीको धार्मिक शक्ति छ जसले विछोडिएको मिलन गराउँछ । मनका दुर्गुणहरु फालिदिनेछ । गोजीमा पैसा नभए पनि नयाँ काम गर्न उक्साउँछ जाँगर दिन्छ । यही भएर पनि होला हाम्रा साथीहरु निस्वार्थ भावना लिएर आज पनि कि्रयाशील हुनुहुन्छ । म समाजमा आवद्ध भएर लागिरहनु भएका साथीको जुन त्याग छ त्यसको उच्च सम्मान गर्दछु । शुन्यबाट सुरु भएको हाम्रो पोकली झरना सेवा समाजले आज उल्लेखनीय काम गर्न सफल भएको छ । पत्रपत्रिका तथा एफएमहरुमा यसको निरन्तर समाचार सम्प्रेषण भइरहेको छ । गाउँमा जागरण बढेको छ । ओखलढुंगाबाट विविध काम लिएर राजधानी आउँदा अधिकांसले पोकली भरना सेवा समाजको सराहना गरिरहेका छन् । यो पनि त समाजको एउटा गतिलो काम हो जुन आज भन्दा अगाडि भएको थिएन । साथीहरुलाई म पोकली भरना सेवा समाजप्रति अझ सशक्त भएर काम गर्न आग्रह गर्दछु । आखिर हामीले केही पनि गरेनौं भने यसको महत्व विगतको स्थितिमा फर्कन्छ । त्यसको लागि पनि हामीले केही गर्नु परेको छ । मूल कमिटिमा भएका साथीहरुको उत्साहमा कमी आयो भने पोकली झरना सेवा समाजले केही गर्न सक्तैन । नाम मात्रको हुन्छ । आज पोकली झरना सेवा समाजको नाम लिएर कुनै अरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पोकली झरनाको प्रचार गर्नुपर्ने देखिन्छ । यसमा साथीहरुको अझ कि्रयाशीलता बढोस भन्ने म चाहन्छु । प्रचार प्रसारबाट हामीले एक वर्षमा एक हजार विदेशी पर्यटक तान्न सक्यौ भने मात्रै पनि गाउँलाई ठूलो लाभ हुने देखिन्छ । मेरो तर्फबाट अहिले संचार माध्यम मार्फत सकेजति प्रचार गरिरहेको छु । यो निरन्तर रुपमा जारी रहने छ । हुन त हामीले छोटो समयमा नै पोकली झरना सेवा समाजलाई राम्रै उचाईमा पुर्यायौं । यसलाई अरु उच्च पार्ने काममा हामी सबै समान लक्ष्य लिएर लाग्न जरुरी छ । सामूहिक रुपमा काम गर्दा छिटो काम फत्ते हुन्छ भन्ने हामीले सोच्नु पर्छ । हाम्रो गाउँ स्वास्थ्य र शिक्षाको स्तर उकास्नुपर्छ । गाउँमा एउटा एउटा प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्न सक्यौ भने ठूलो काम हुन्छ । अरु गाउँका जनताले पनि ठूलो लाभ पाउँछन् । एउटा काममा सफलता मिलेमा स्वतः काम गर्नेलाई हौसला बढ्छ । हौसलाका साथ सामाजिक काममा लाग्दा रोकावट कतैबाट आउँदैन । खुट्टा तान्न खोज्नेहरु पनि चिप्लेर आफै पछारिन्छन् । त्यो दैवी शक्ति पोकली झरनासँग छ । हामीले गाउँको विकास गर्न कुन उपाय अपनाउँदा सजिलो पर्ला भनेर सोच्न जरुरी छ । आफूले उब्जाएको उपाय भए काम गर्न सजिलो हुन्छ । त्यसको लागि हाम्रो सामूहिक एकता चाहिन्छ । त्यसो भए जस्तो सुकै काम गर्न सम्भव छ । हामी जुगौंदेखि अन्धकारमा रहेको गाउँलाई लिखु खोलाबाटै विद्युत उत्पादन गरी झलमल्ल पार्न सक्छौं । अहिले पोकली भरना सेवा समाज त्यसमा लागि परेको छ । र चाँडै हाम्रो टुकी युगको अन्त्य हुनेछ । हामी सबै साथीहरुले के सोच्नुपर्छ भने हामी हाम्रो समाजलाई के दिन सक्छौं । गाउँलाई गरेको सहयोग आफ्नै लागि हो भन्ने भावना बढेर गयो भने हामी बाँच्नुको पनि सार्थकता रहन्छ । आज गाउँमा कसैको खुट्टा भाँचियो भने वा हात भाँचियो भने उपचार गर्ने ठाउँ छैन । गाउँलाई सडकले छोएको छैन । कसैलाई केही भयो भने डोकोमा हालेर घण्टौं लगाएर सदरमुकाम पुग्नुपर्छ । यसका लागि हामीलाई अस्पताल नितान्त आवश्यक छ । हामी सबै मिलेर गर्यौं भने हामी अस्पताल स्थापना गर्न बाध्य पार्न सरकारलाई सक्छौं । शिक्षालाई पनि हामीले सँगसँगै लैजानुपर्छ । गाउँमा हाम्रो उच्च माध्यमिक विद्यालय छैन । उच्च माध्यामिक विद्यालय भए आर्थिक अवस्था कमजोर भएकाहरुको ठूलो उद्दार हुने थियो । उनीहरुले आफ्नो काम गर्दै अध्ययन गर्ने मौका पाउने थिए । पोकली झरना सेवा समाजका सदस्य साथीहरुले यता पनि ध्यान दिएर रणनीति बनाई काम गर्न जरुरी छ । अन्त्यमा हामी अहिले जुन अवस्थामा छौं अर्थात् हाम्रो संस्थासँग प्रशस्त धन दौलत छैन । तर हामीले चोखो मनले काम गर्न थाल्यौं भने हामीले पैसा हौइन पैसाले हामीलाई खोज्दै आउने छ । आजसम्मको काममा साथीहरुको त्याग लगन र समर्पणको म दिलैबाट हार्दिक धन्यवाद दिन्छु । आगामी दिनमा पनि नयाँ साथीहरुलाई निस्वार्थ भावना लिएर दिनदुःखीको सेवामा जुट्दै सामाजिक विकासको काममा लाग्न हार्दिक आग्रह गर्दछु ।

धन्यवाद

गुरु केदार बराल
पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *