Skip to content
KrishnaKShrestha


“बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनिदिनु न ल, अनि खसी पनि काट्नु पर्छ नि यो पाली त ।” दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिंड्दै गरेको बेला भन्छे । सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको देखेर होला उसलाई पनि यो दशैंमा नयाँ लुगा लागाउने रहर लागेको ।

“हुन्छ बाबा हुन्छ म किनिदिउला सबैथोक” कपाल सुम्सुम्याउदै रामे उत्तर दिन्छ, आफ्नो छोरीको खुसीको लागि भएपनि । किनकि पोहरसालको दशैंमा एकसरो लुगा किनी नदिंदा सपना कति रात खानै नखाई रोइबसेकी थिइन । अनि कति आफ्नो मन रोएको थियो छोरीको त्यो रोदनले गर्दा । त्यसैले यो पटक भने किनिदिने पक्का गर्छ ।

सायद दशैंमा सबैका छोराछोरी नयाँ लुगा लगाएको देख्दा उसलाई पनि लगाउन मन लाग्दो होला, अनि सधैं खोले, गुन्द्रुक खाई खाई वाक्क लागेर मासु खाने रहर लागेको होला उसलाई पनि ।

तर रामेको वास्तविक आर्थिक स्थिति यति नाजुक हुन्छ कि उसको कमाइले परिवारको दैनिक हातमुख जोड्न पनि धौधौ हुन्छ । बिहान खाए बेलुका पुग्दैन, अनि बेलुका खाए बिहान पुग्दैन । रातदिन भोकभोकै मरीमरी भारी बोकेर कमाएको तलबले जेनतेन ५ जना परिवारको जीवन मुस्किलले धान्न पुग्छ उसको । त्यसैले उसको परिवारको लागि यस्ता दशैँ, तिहार जस्ता चाडपर्व आउनु भनेको ठूलो समस्याको रुपमा उभिएको हुन्छ ।

रामे फसादमा पर्छ – “कसरी किनिदिने छोरीलाई नयाँ लुगा अनि खसी?”

सोच्न थाल्छ “त्यति धेरै पैसा कसरी जम्मा गर्ने? कोसँग सापटि लिने?” । पैसाको लागि ऊ झन बढी काम गर्न थाल्छ । यतिसम्म कि रामे कति दिन खानै नखाई, अनि कति रातहरु सुत्दै नसुती आफ्नो छोरीको खुसीको लागि मरी मेटछ ।

दशैं नजिकिसकेको हुन्छ , सकी-नसकी उसले लुगा किन्ने पैसा र खसी किन्ने पैसा कमाउन सकेको हुन्छ । घटस्थापनाको दिन थियो । बुबाछोरी दुबैजना दशैंको लुगा किन्न बजार जान्छन । बजारभाउ छोईसक्नु हुदैन, त्यसैले सस्तोमा किन्नको लागि धेरै ठाउँ डुलेपछि बल्ल सस्तोमा लुगा किनेर घर फर्कंछ्न ।

भोलिपल्ट छोरी नयाँ लुगा लगाउन पाएकोमा धेरै खुसी हुन्छे । उसमा खुसीको कुनै सिमा हुदैन । सपना रमाएर फुरुक्क फुरुक्क उफ्रेर नाच्छे त कहिले के गर्छे ? भनेर साद्धेनै हुदैन । कहिले बजार निस्केर आफ्ना साथीलाई “यी हेर मेरो दशैंको लुगा”भनेर देखाउछिन त कहिले कस्लाई । खुसीको कुनै सीमा नै हुदैन उसमा ।

अब टेन्सन बाँकि थियो खसी किन्ने कुराको । रामे खसी किन्नको लागि बजार निस्कन्छ । बाटो बीचमा एक्लै घुम्दा घुम्दै उसलाई केही अफ्ठ्यारो भएको महसुस हुन्छ । उसको मुटुमा चस्स घोचेको जस्तो भान हुन्छ । “सायद काम धेरै गरेकोले होला दुखेको” मन मनै सोच्छ । तर पनि छोरीको खुसीको लागि सहेरै भएपनि धेरै ठाउँ सकी-नसकी खोज्न जान्छ । धेरै महँगो खसी मात्र फेला पार्छ उसले । अनि फेरि अर्को ठाउँ खोज्न हिड्छ । खोज्दा खोज्दै रात परिसकेको हुन्छ हिड्न पनि नसक्ने अबस्थामा हुन्छ थकाइले गर्दा ।

रामे थकित भएर घर फर्कि खाना नखाएरै सुत्न खोज्छ । खान मन लाग्दैन , उसलाई दिउँसोको भन्दा झन गाह्रो भएको महसुस हुन्छ । छाती दुख्न थाल्छ तर आफ्नो परिवारलाई आफु बिरामी भएको कुरा भन्दैन, किनकि यदि आफु बिरामी भाको छु भनेर थाहा दिईयो भने “अस्पताल जानुपर्छ अनि खसी किन्न राखेको पैसा सबै खर्च हुन्छ र यो दशैंमा पनि छोरी फेरी रुन्छे । खसी किन्ने खसी किन्ने भनी ” भनेर त्यो रात जबरजस्ती सहेरै सुत्छ । उसलाई रातभर पनि खसीकै चिन्ता हुन्छ । बरु उसलाई आफ्नो रोगको बारेमा चिन्ता लाग्दैन । अनि भोलिपल्टपनि बिहानै उठेर खोज्न हिड्ने निधो गरि निधाउछ दिनभरको थकाईले ।

भाले बास्नु अघि नै निंद्रा खुल्छ रामेको । उठ्न खोज्छ, उठ्न सक्दैन चल्न खोज्छ सक्दैन । अब भने आफुलाई सारै गाह्रो भएको महसूस हुन्छ उसलाई । त्यतिबेला उसको मुटु अनौठो तरिकाले धडकिएको हुन्छ । ऊ छट्पटिन्छ अनि कराउन थाल्छ बेहोसीमै । अनि उसको स्वर सुनेर सबै जना बिउझिन्छ्न ।

उठेर “के भयो तपाइलाई” उसको श्रीमतीले सोध्छे ।

“हैन केही भाको छैन मलाई” रामेले बास्तबिकता लुकाउन खोच्छ ।

“त्यसो भए के भयो नि त ” सबैले सोध्छन ।

“अस्पताल जाउँ त्यसो भए ।”

ऊ मान्दैन । मलिन अनि थकित आवाजमा “मलाई ठीक छ अलिकति हिजो हिडेकोले थाकेको होला । म ठीक हुन्छु, केही बेर आराम गरेपछि । बरु आज आमाछोरी पल्लो गाउको मोहनलाई मैले खसी भनेको थिएँ हिजो । आज हेर्न जाऊ, म जान सक्दिन होला । ”

औंलाले कोटलाई देखाउँछ र भन्छ, ” ऊ त्यो खल्तिमा पैसा छ लिएर जाऊ । अनि अलिकति मोलमोलाई गरेर मिलाएर लिएर आऊ” ।

आमाछोरी सबेरै निस्कन्छन खसी किन्नको लागि बिरामी घरमा एक्लो छाडेर । दिनभर डुलेर खसी पाउँछन । खसी पाएपछि सपना धेरै खुसी हुन्छे । सकी-नसकी आफैले खसीलाई डोर्याएर घर सम्म ल्याउँछे । उसमा खुसीको कुनै सीमा हुदैन । ऊ बाटोमा कहिले खसीसँग कुरा गर्छे त कहिले खसीमाथि चढ्छे। घर पुगेपछि सपना डोरी समातेरै आफ्नो बाबालाई खसी देखाउन भनेर कोठामा जान्छे ।

“बाबा बाबा हेर्नु त कति ठूलो खसी है?” सपना ठूलो स्वरले भन्छे कोठाको ढोकामा छिर्ने बित्तिकै ।

रामे केही बोल्दैन।

सपना नजिक गएर फेरी “बाबा हेर्नु न दशैंको खसी भन्या” हात समाएर भन्छे । तर केही बोल्दैनन मात्र टोलाएर रहन्छ रामे ।

अनि सँगै रहेकी सपनाकी आमा त्यो अबस्था देखेर डराउक्षछे ।

“हजूरलाई के भयो ? पानी खानुहुन्छ? हामीले खसी किनेर ल्यायौं हजूर उठ्नु न भन्या”आत्तिएर भन्छे ।

तर पनि केही बोल्दैनन ।

पानी खुवाउछे करुवाले । रामे अनि अलि चलमलाउन थालेको जस्तो देखिन्छ । यस्सो खसीलाई हेरेको जस्तो गर्छ त्यातिकैमा उसको दुबै आँखा बन्द हुन्छ अनौठो तरिकाले ।

रामेको मुटु छाम्छे, मुटु चल्न छोडिसकेको हुन्छ। नाडी छाम्छे, रगत बग्न रोकिसकेको हुन्छ । शरीर पुरै चिसिसकेको हुन्छ । यो अबस्थामा रहेको आफ्नो श्रीमान, परिवार र संसार छोडेर गएको हो भन्ने कुरा थाहा पाउछे उसले । ऊ डाँको छोडेर रुन थाल्छे अनि मूरुछा पर्छे पछारिएर भुईंमा । अनि आमा सँगसँगै सपना पनि आफ्नो खुसी (दशैंको खसी) समाती रहेको डोरी छोडेर आमासँगै रुन थाल्छे । सिंगो घर स्तब्ध हुन्छ र रुवावासी चल्न थाल्छ । यो पालीको दशैं पनि पोहरको दशैं जस्तै भयो सपनाको लागि उही रोदन खसी अनि नयाँ लुगा भएरै पनि । सपना त्यसैले रोईरही दिनभर, कहिले खसीको मुख हेर्दै त कहिले आफ्नो प्यारो बाबाको मुख हेर्दै ।

आज सपनालाई खसी हैन आफ्नो बुबा प्यारो लागेको छ । यदि उसले आफ्नो बाबुको अबस्था बुझेकी भए, अनि दशैंको लागि खसी किन्न कर नगरेकी भए छोरीको खुसीको लागि ज्यानको माया मारेर रामेले काम गर्ने थिएन होला । अनि यो ठूलो घटना हुने थिएन होला । तर बिचरीलाई के थाहा? उसलाई त अरु जस्तै दशैं मनाउनु छ अनि राम्रो लगाउनु छ भन्ने कुरा मात्र थाहा छ । किनकि ऊ सानै थिई अनि अबोध बच्ची थिई ।

3 thoughts on ““त्याग””

  1. कथा मार्मिक र समय सान्दर्भिक
    कथा मार्मिक र समय सान्दर्भिक छ। लेखिसकेपछि वाक्यको बनोट र कथाको बगाई अनि शब्द चयनमा अलि ध्यान दिन आवश्यक छ; केही हदसम्म त सम्पादन गरिएको छ नै।

  2. सामाजिक भाब बोकेको छ कथाले,
    सामाजिक भाब बोकेको छ कथाले, कथाकार लाइ धन्यवाद. कृष्ण जी को गज़लहरु पढ्ने रहर छ ,ओनेगाइसिमस्

    प्रकाश पौडेल माइला

    1. prakash dai, thank u for your
      prakash dai, thank u for your comments. will publish my gajal soon………………….

Leave a Reply to prakashpoudel Cancel reply

Your email address will not be published. Required fields are marked *