Skip to content


मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा।

धेरै दिन भएछ नगएको
र निकै टाढा आएछु म
आफ्नै छायाँलाई छिचोलेर
मेरो स्वरुप बदलिएको यो सहरमा।

त्यो नीलो फूल/त्यो अमृतपानी बोकेर झुल्ने धानका बाला
त्यो न्यानो मखमली घाम/प्रथम प्रेयसीको त्यो पहिलो छुवाई
आँखाको डिलमा शीतल स्पर्श गर्ने जूनको किरण,
आहा, सम्झिंदै मनमा आनन्दको रसायन
मात्तिँदै, लाडिँदै झ्रना झैं बग्न थाल्छ शरीरभरि।

फेरि छुन मन लाग्छ
परिश्रमले रसाएको पसिना जस्तै पवित्र शीत,
फेरि देख्न मन लाग्छ
अञ्जान मालीले रोपेको रङ्गीन जङ्गली फूलहरू
त्यो प्रकृतिको हरियो गलैँचामा बसेर
खेल्न मन लाग्छ
काला, सेता अनि छिर्बिरे सानासाना पाठाहरूसँग।

एकपल्ट जाउँ न मन,
त्यही गाउँ र सुनौँ फेरि त्यो धुन।

जाउँ फेरि त्यही गाउँ,
जहाँ नदी गाउँछ, जहाँ धरती नाच्छ
र जहाँ गुञ्जिन्छ
पातहरू बताससँग ठोक्किएर
जीवनको सुन्दर कविता।

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *