Skip to content


मानिस जङ्गली प्राणी
फोहोर, धूवाँ र गोलीमा लिप्त भएको
कुहिएको दुर्गन्धित बतास
निस्किरहेछ जहाँबाट चारैतिर

जसलाई रोक्न
तिमीहरूले पनि सकेनौ
बेकाम भयो
अनि दुर्गन्धको अंश बन्यौ

अलग्गिन सकेनौ आफ्नै दुर्गन्धबाट
नाक खुम्च्याएर पनि
त्यो भीडको अङ्ग बन्यौ

आफ्ना विचारहरूमा
आफैँलाई कोट्याइरहेका थियौ
खोजिरहेका थियौ आफैँलाई
खरानीभित्र रहेको आगोको सानो झिल्कामा

तब मैले त्यहाँ भएका
मानिसहरूलाई नियालेर हेरेँ
जो छरपस्टिएका थिए छेउछाउमा
प्रयत्न गरेँ तिनीहरूभित्र चियाउने

फेरि टालिएका थाङ्नाहरूलाई
विस्तारै-विस्तारै
च्यातेँ, कोट्याएँ
मुश्किलले भित्र पसी
त्यसभित्रको फोहोरलाई देखेँ

तह माथि तह जमेको थियो
त्यतिखेर दुर्गन्धको एक तीव्र लहर
छिर्‍यो मेरो नाकभित्र
र रिङगाई रह्यो मेरो शरीरलाई।

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *