नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् ।

चीनसँग नेपालको युद्ध हुँदा इष्ट इण्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए । केही समयपछि उनी फर्केर गए । वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर ‘अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालको भनाइ छ ।

त्यसपछि वि.सं. १८७७ मा अङ्ग्रेज नागरिक सी. यू. एटनले नेपाली भाषाको व्याकरण तयार गरी भारतको कलकत्ताबाट नेपाली भाषामा प्रकाशित गराएका थिए । त्यसैगरी वि.सं. १९४४ मा ए. टर्नबुलले ‘नेपाली व्याकरण र शब्दावली’ को प्रथम संस्करण भारतकै दार्जीलिङबाट प्रकाशित गर्नुभएको थियो । वि.सं. १९८७ मा प्रकाशित भएको राल्फ लिलि टर्नरको लण्डनबाट प्रकाशित ‘व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश’ नै सबभन्दा ठूलो शब्दकोश मानिएको छ ।

यसपछि नेपाली भाषाको शब्दकोश निर्माणको क्रम चल्यो । नेपालका उत्साही भाषाविद्हरूले पनि यस कामको थालनी गरे । वि.सं. १९८८/८९ ताका पण्डित चक्रपाणी चालिसेको दुई स-साना शब्दकोश, पण्डित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित र नेपाली भाषा प्रकाशिनी समिति (ने. भा. प्र. स.) बाट प्रकाशित ‘सङ्क्षिप्त नेपाली शब्दकोश’ साथै वि.सं. २०१९ मा भाषासेवी बालचन्द्र शर्माद्वारा सम्पादित र रोयल नेपाल एकेडेमीबाट प्रकाशित ‘नेपाली शब्दकोश’ प्रकाशनमा आयो ।

वि.सं. २०४० मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ‘नेपाली वृहत् शब्दकोश’ प्रकाशनमा ल्याएको यस शब्दकोशमा ५७ हजार जति मात्र शब्दहरू रहेका छन् ।

वि.सं. २०५७ सालमा नेपाली बजारमा आएको ‘नेपाली शब्दसागर’ शब्दकोशलाई वसन्तकुमार शर्म्मा ‘नेपाल’ द्वारा धेरै वर्ष लगाएर तयार पारेको उक्त शब्दकोश नै हालसम्मका अन्य नेपाली शब्दकोशका कृतिहरूमा अद्वितीय एवं विशाल ग्रन्थका रूपमा रहेको छ । यस शब्दकोशभित्र एक लाख आठ हजार शब्दहरू रहेका छन् ।

संसारमा भएका केही विचित्र शब्दकोश शब्दकोशलाई अङ्ग्रेजीमा ‘डिक्शनरी’ भनिन्छ । ‘डिक्शनरी’ शब्द ल्याटिन शब्द ‘डिक्शनरियस’बाट लिएको हो । जसको अर्थ हो ‘शब्दहरूको समूह ।’ सन् १२२५ मा एक अङ्ग्रेज विद्वान् जोन गारल्याण्डले पहिलोपल्ट शब्दकोशको लागि डिक्शनरीको प्रयोग गरे । सन् १५५२ मा पहिलोपल्ट रिचर्ड हृयू लोट नामक व्यक्तिद्वारा निर्मित अङ्ग्रेजी शब्दकोश सामु प्रकाशमा आयो जसको नाम थियो- ‘एक्सेडेरियम एन्गलीको ल्याटिनम-प्रो टायर नकुलिस’ । यसमा २६ हजार शब्द थियो जुन निकै लोकप्रिय पनि भयो ।

विश्वको अङ्ग्रेजी भाषाको सबैभन्दा ठूलो शब्दकोश ‘दि अक्सफोर्ड इङ्गलिस डिक्शनरी’ हो, पहिलोपटक तयार गर्दा ७१ वर्ष लागेको थियो । यसमा २० भाग र कुल २१ हजार ७ सय २८ पेज थियो । सुरूमा सन् १८८४ देखि १९२८ सम्मको अवधिमा यो शब्दकोश सामान्य रह्यो । त्यसपछि सन् १९८९ मा दोस्रो संस्करण प्रकाशन भयो । यसमा जम्मा ६ लाख १६,५०० शब्दहरूलाई रूप दिइएको छ भने २४ लाख १२ हजार चार सय रेखाचित्र र उद्धरणहरू सङ्ग्रहित छन् । यसमा भएका अक्षर र अङ्कलाई छुट्याएर हेर्ने हो भने तिनीहरूको सङ्ख्या लगभग ३५ करोड पुग्दछ ।

‘ला इनसाइक्लोपेडिया युनिभर्सल इलस्त्रदा युरोपिओ अमेरिकाना (La Encyclopedia Universal Ilustrada Europeo Americana) नामक विश्वकोश विश्वको सबैभन्दा विशाल विश्वकोश हो यसको सङ्कलन गराउने काम मेडि्रड तथा वार्सिलोनाको जे. ए. स्पासा एण्ड सन्स नामक कम्पनीले गरेको थियो । १६ करोड ५२ लाख शब्द भएको यो विश्वकोशमा एक लाख पाँच हजार पृष्ठहरू छन् । सन् १९८३ अगस्टमा यसको एक सेटमा १०४ खण्डहरू थियो । यसको मूल्य दुई हजार तीन सय २५ अमेरिकी डलर प्रति एक खण्डको पर्दछ । यो नै विश्वको सबैभन्दा महँगो विश्वकोश मानिन्छन् ।

विश्वको सबैभन्दा व्यापक शब्दकोश- अङ्ग्रेजी भाषाको विश्वकोश ‘इनसाइलोपेडिया ब्रिटानिया’ हो । सन् १७६८ डिसेम्बर देखि १७७१ को बीच एडिनवरा, स्कटल्याण्डमा सबैभन्दा पहिलो यो प्रकाशित भएको थियो । पहिलो पटक प्रकाशित भएको यो विश्वकोश अहिले ३२ भागमा विभाजित छ । यसमा ३३ हजार एक सय ४१ पेज र चार करोड ४० लाख शब्दहरू सङ्कलित छ भने यसलाई आजको रूपमा ल्याइपुर्‍याउन करिब चार हजार विद्वान्हरूको योगदान रहेको अनुमान गरिन्छ ।

एक अनौठो विश्वकोश सोभियत सङ्घको विज्ञान प्रतिष्ठानको भाषाशास्त्र संस्थानले विश्व भाषाहरूको एक विश्वकोश (इनसाइक्लोपेडिया) तयार पारेको थियो । अनेकौ खण्डमा विभाजित सो बहुभाषीय कोशमा सात हजारभन्दा बढी भाषाहरूबारे जानकारी दिइएको छ । भाषा विज्ञानको इतिहासमा यस प्रकारको यो पहिलो प्रयास मानिएको छ । यस अनौठो विश्वकोशमा पृथ्वीको थुप्रै देशहरूमा बोलिने भाषाहरूको विशिष्ट विशेषता- इतिहास, भूगोल तथा संगोत्रीय सम्बन्धबारेमा पनि विस्तार पूर्वक प्रकाश पारिएको छ ।

अमेरिकाको ‘एन. टी. सी. पब्लिसिङ्ग ग्रुप (N.T.C. Publishing Group) ले त्यस्तो शब्दकोश तयार पारेको छ । जुन परम्परागत रूपमा कागजमा नभई कम्प्युटरको एउटा ‘डिस्क’ को रूपमा रहेको छ । कम्प्युटरमा उक्त डिस्क राखी स-साना कुँजीहरू थिच्ने वित्तिकै चिनियाँ, डेनिस, डच, अङ्ग्रेजी, फिनिस, फ्रान्सेली, जर्मन, इटालियन, जापानी, नर्वेजियन, स्पेनिस र स्विडीस गरी जम्मा १३ भाषाहरू मध्येको एक भाषाको शब्दको अन्य ११ भाषामा शब्दको हिज्जे, परिभाषा अनुवाद, समानार्थ तथा विपरीतार्थ शब्द थाहा पाउन सकिन्छ । निर्माताहरूले यसलाई ल्याङ्ग्वेज अफ दि वर्ल्ड (Language of the world) नाम दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *