विवाह आखिर जति सुकै पछि नै गर्नु परँे पनि प्रत्येक किशोरकिशोरीहरूले पहिले नै आफ्नो भावी जीवनसाथी यस्तो होओस् भनी सोचिसकेका हुन्छन् । अतः प्रत्येक किशोरले एक सुयोग्य पत्नी र प्रत्येक किशोरीले एक आदर्श पुरुषको कल्पना गरेको हुन्छ । कल्पना गरेअनुसार तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्नको लागि कोसिस पनि गर्दछ तर सोचेअनुसारको प्रायः कोही नभएको पाइन्छ । जस्तो कि एउटा उच्च शिक्षा हासिल गरेकी एवं ठूलै कम्पनीमा उच्च पदमा आसिन स्त्रीको लागि आफ्नो सुयोग्य वर पनि नपाउनु, भारतीय समाजमा झैं दाइजोको लोभले केटीको कुनै पक्षमाथि विचारै नगरी विवाह गर्नु, विभिन्न लोभ प्रलोभनमा परी आफ्नो क्षमताको विचारै नगरी अन्धोपूर्वक प्रेम विवाहमा पर्नु आदि इत्यादि पछि गएर हुने मानसिक असन्तुष्टिका औषत कारणहरू हुन् तर धेरथोर असन्तुष्टि नवविवाहित दम्पतीहरूमा पाउनु स्वभाविकै हो किनभने दुवै आ-आफ्नै परिवेशमा हुर्केका हुनाले एक अर्काप्रति राम्ररी नभिजेसम्म केही अस्थायी स्वभावका असन्तुष्टिहरू हुन सक्छन् तर एक आपसका रुचि विचारमा धेरै नै अन्तर देखिएमा ती दुईबीच अन्योलपूर्ण वातावरणको समेत सिर्जना हुनसक्छ ।
प्रत्येकले विवाह पहिले आफ्नो सपनाको राजकुमार, राजकुमारी खोजिसकेका हुन्छन् । तीमध्ये कसैको विवाहभन्दा पहिले आफ्नो प्रेमी प्रेमिकासमेत हुन्छन् । यस्तो अवस्थामा श्रीमान् श्रीमतीबीच आफ्नो प्रेमी प्रेमिकाको गुणको खोजी हुन थाल्दछ र सोहीबमोजिम नपाउँदा मानसिक असन्तुष्टि उत्पन्न हुनजान्छ ।
लोग्ने स्वास्नीबीचको आलोचनात्मक व्यवहारबाट पनि मानसिक असन्तुष्टि पैदा हुनजान्छ । त्यस्तै पत्नीद्वारा कुनै परपुरुषको प्रशंसा गर्नु तथा पतिद्वारा कुनै परस्त्रीको प्रशंसा गर्नु पनि असन्तुष्टिको प्रमुख कारण हुनजान्छ ।
यदि लोग्नेभन्दा स्वास्नीको आर्जन बढी भएमा अथवा लोग्ने बेरोजगार भएमा पनि नवविवाहित दम्पतीबीच मानसिक असन्तुष्टि बढ्न जान्छ ।
बिनाकारण स्वास्नी धेरै माइत गइरहने प्रक्रियाले पनि लोग्ने स्वास्नीबीच असन्तुष्टि बढ्न जानसक्छ, त्यस्तै स्वास्नीलाई घरमा समय नदिने र सधैं ढिलो घर पुग्ने प्रक्रियाले पनि नवविवाहित दम्पतीबीच असन्तुष्टि पैदा हुनजान्छ ।
कहिलेकाहीँ नवविवाहित लोग्ने स्वास्नीले एक अर्कालाई प्रभावित पार्न विवाह पहिलेको आफ्नो प्रेम सम्बन्धको कथासमेत सुनाउँदछन् । यो एकदम डरलाग्दो मोड हो । यसले लोग्ने स्वास्नीबीच असन्तुष्टि मात्र पैदा गर्ने होइन वैवाहिक जीवनमा समेत नराम्रो असर पार्न सक्छ ।
हाम्रो समाजमा प्रायः जसो विवाह लमीको माध्यमद्वारा गर्ने गराइन्छ यसर्थ प्रायः लमीहरूले एउटा सत्य कुराको लागि पाँचवटा झूठको सहारा लिई दुवै पक्षलाई आकषिर्त गराई विवाह गरिदिन्छन् । जब सत्य थाहा लाग्दछ, मानसिक असन्तुष्टि मात्र बढ्ने नभई कतिको सम्बन्ध विच्छेदसमेत भएको घटना हामी पाउँदछौं ।
कतिपय लोग्ने स्वास्नीबीच एक अर्कालाई बढी योग्य देखाउन अथवा बढी प्रभावित देखाउन झूठो व्यवहारसमेत गर्दछन् तर पाप धूरीबाट कराउँछ भनेझैं जब यो रहस्य थाहा पाउँछ अनि मानसिक असन्तुष्टि बढ्न जान्छ ।
नवविवाहित दम्पतीमा सन्तुष्टिको एक महìवपूर्ण कारकतìव हो -सहवास । यदि दुवैबीच एक अर्काको सन्तुष्टिलाई ध्यानमा राखी सन्तुष्टि प्राप्त गरेमा फूल फुले झैं नयाँ जिन्दगी फुल्न जान्छ । यसको विपरीत यौन क्रियामा एक मात्रको असहयोगी भावना रहेमा मनमा एउटा नराम्रो असन्तुष्टि जन्माइदिन्छ । जसको कारणले दैनिक जीवनमै दखल पर्न सक्छ ।
अतः उपरोक्त तथ्यहरूलाई दृष्टिगत गरी समयमै सचेतता अपनाएमा अवश्य पनि असन्तुष्टिहरूले घेरिएर बस्नु पर्ने हुँदैन र सुरुदेखि नै सुखमय जिन्दगी बिताई जीवन नै रङ्गीन बनाउन सक्नुहुन्छ ।
