श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।
ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० लागेका ।
ऊ रवि हो । सामान्य नाम । आकाशको घामसित कुनै सरोकार छैन । सायद धर्मले हिन्दू र कर्मले पावनसिन्धु । बाबुआमाले ढिलो, ५०तिर छोरो पाउँदा सूर्य भगवान झैं प्रतापी होस् भन्ने प्रतीकात्मक आकाङ्क्षा बोक्छन् ।
सत्तरीतिर लाग्दानलाग्दै बाबु पूरै अन्धो हुन्छ र आमा पूरै अन्धी ।
ऊ हुन्छ श्रवणकुमार नभएर पनि श्रवणकुमार ।
क्याम्पस छुट्छ । र, छुट्छ कम्प्युटर विज्ञानमा सफ्टवेयर पायोनियर बन्ने महान् सपना पनि ।
तर, ऊ छुटेको सपनाले उदास भए पनि भेटेको विपनाले दुःखी हुँदैन । ऊ त्यस साँचोको मान्छे हुन्छ, जो बौद्धिक वातावरणमा पनि अनुकूलता प्राप्त गर्न सक्छ । उसलाई एउटै दुःख हुन्छ, ऊ बाबुआमाका गुमेका आँखा फिर्ता ल्याउन केही गर्न सक्दैन ।
सकेजति आशा बोकी ऊ बाबुआमालाई देशका सबैजसो आँखा अस्पतालहरूमा पुर्याउँछ, श्रवणकुमारले झैँ खर्पनमा राखी होइन, भाडाका गाडीहरूमा राखी । तर, सबै व्यर्थ ।
बाबुआमाले सजिलै स्वीकार गर्छन्, यो उनीहरूको भाग्य हो, कुनै रोग होइन र अरू आँखा परीक्षण गर्न जान अस्वीकार गर्छन् । सबभन्दा राम्रो आशा नहराएर अनन्य भक्त छोरो रिसाइदिन्छ । स्वाभाविक नै हो ।
“यहीँको एउटा अस्पतालमा एक जना जान्ने डाक्टर आएको छ, किन नजचाउने त ?” रिसाइसकेपछि छोरो फेरि रिसाउँदैन । “छोरा, हामी बूढाबूढी भइसक्यौँ । बुढ्यौलीको कुनै उपचार हुँदैन ।” परम्परागत अन्धविश्वास ! फेरि नरिसाएको छोरो रिसाउँछ ।
“नरिसाऊ छोरा । हामी बाबुआमाको साँचो भक्ति गर्छौं भने हाम्रो अन्तिम इच्छा पूरा गरिदेऊ …।” ऊ बुझ्छ अविवाहित छोरोसित मायालु बाबुआमाको अन्तिम इच्छा के हुनसक्छ, त्यसैले चुप भई बस्छ । उसलाई त्यस्तो केटीमान्छेसित बिहे गर्ने मन हुँदैन, जसलाई ऊ माया गर्दैन । र, माया अँझै भएको छैन कसैसित ।
मायाको पर्खाइमा बिहे अपहत्ये हुन्छ । मायाबिनाको बिहे बेकारको बोझ मात्र हुन्छ । अरू शब्दमा । तर, पर्खाइको कुनै सीमा हुँदैन । यदि माया जीवनभर पर्खाइको घटना भयो भने के गर्ने त …।
“छोरा, तिमीलाई थाहा छ हामीसित पर्खिबस्ने समय छैन । हामी डाँडामाथिका घाम, कालका दूतहरू कुनै पनि बेला हामीलाई लिन आउन सक्छन् । त्यसभन्दा पहिले नातिनातिनीका मुख हेर्न पाए …।”
बाबुआमालाई चुप भई बस्ने आवश्यकता हुँदैन, त्यसैले क्रमशः क्रमशः अन्तिम इच्छालाई व्याख्या गरिरहन्छन् ।
बढीमा महिना दिनभित्र ऊ छिमेकको एक केटीमान्छेसित बिहे गर्छ । निश्चय पनि महान् त्याग, जुन समाजले बुझ्दैन ।
बाबुआमा खुसी हुन्छन् । अब उनीहरू एकैपल्ट परत्रका लागि भगवान् भजन र वरत्रका लागि बाजेबजै बन्ने सपना देख्छन् । शौभाग्यवश बुहारी पनि लक्षणकी पर्छे, सासू-ससुरालाई राम्रै सेवा गर्ने खालकी ।
केही महिना बित्छन् खुसीहरूमा र महान् त्यागका सन्तुष्टिहरूमा । तर एक दिन ऊ अर्थात् छोरो रवि अर्थात् लोग्ने रवि बिरामी हुन्छ । पहिले कुनै लक्षण नदेखाएर । ऊ कसैलाई खबर नगरी चिकित्सककहाँ जान्छ ।
“के भयो ?” सोधिन्छ । “थाहा छैन डाक्टर तर म अस्वस्थ महसुस गर्दैछु,” ऊ भन्छ । “त्यसो भए केही नहुनुपर्ने कुराहरू भइरहेछन् । मलाई जाँच्न दिनुहोस् ।” उसलाई भनिन्छ अनि जाँचिन्छ उसको शरीरमा सबैतिर । कुनै रोग देखापर्दैन । “तपाईं स्वस्थ हुनुहुन्छ । आफूलाई अस्वस्थ मान्नु तपाईंको मनोविज्ञान हो ।”
उसलाई उसको जाँचको नतिजा सुनाइन्छ । नतिजा अनपेक्षित हुन्छ, अप्रिय हुँदैन । ऊ खुसीखुसी घर जान्छ र खुसीखुसी आफ्नो अस्वस्थताको कुरा बिर्सन खोज्छ । तर, बिर्सन सकिँदैन ।
“के भयो ?” यसपालि चिकित्सकले होइन, बाबुआमाले सोध्छन् चिन्तित भई । “केही भएको छैन । म एकदम ठिक छु । चिन्ता गर्नुपर्दैन ।” ऊ भन्छ, बाबुआमाका चिन्तादेखि चिन्तित भई । “छोरा, तिमी हाम्रो बुढेसकालका सहारा हौ …।” बाबुआमाले चिन्ता गर्न छोड्दैनन् । अनन्य भक्त छोरोले बाबुआमाको कुरालाई स्वार्थ भनी बुझ्न मन पराउँदैन । त्यसै दिन बाबुआमाले थाहा पाउने गरी ऊ बाहिरतिर घुम्न निस्कन्छ ।
“डाक्टर, म साह्रै नै अस्वस्थता महसुस गर्दैछु । मेरो मनोविज्ञान ठिक छ ।”
“विश्वासपूर्वक भन्दै हुनुहुन्छ ?”
“अवश्य ।” तर, चिकित्सकलाई विश्वास पर्दैन ।
“ठिक छ, म फेरि जाँच्नेछु । ढुक्क भई बस्नुहोस् । चिन्ता गरी आफ्नो एम्युन प्रणालीलाई असफल नपार्नुहोस्,” चिकित्सकले भन्छ अनि आफ्नो काम थाल्छ । उसलाई एक विशेष यामीय उपकरण ९च्यदयतष्अ भ्त्रगष्ऊभलत० भित्र राखिन्छ । ऊ बुझ्छ, यो सामान्य जाँच होइन, माने केही गम्भीर र खर्चालु कुरा छ ।
“Genetic Disorder” यामीय उपकरणले नतिजा प्रकाशित गरिदिन्छ तर कुन खालको प्रकाशित गर्न सक्दैन ।
ऊ बुझछ, जीनमा गडबडी … ।
“ठिक छ … । तपाईंलाई मानवजीन थेरापी आवश्यक छ ।” चिकित्सक भन्छ । आफ्नो योग्यताको कुनै तहमा अन्योलग्रस्त भई । जब ऊ अस्पताल भर्ना हुन्छ, अन्धाअन्धी बाबुआमाबाट यो कुरा लुकाउन सफल हुँदैन । उनीहरू हाहाकारमा पर्छन् । रुन्छन् । बेस्सरी रुन्छन् । उनीहरूका नदेख्ने आँखाहरूबाट देखिने आँसुका खोला बग्छन् । ऊ विश्वास दिलाउने प्रयास गर्छ, उसको रोग गम्भीर छैन । त्यसैले चिन्ता चिन्ताहीन छ, शोक शोकहीन छ, दुःख दुःखहीन छ । ईश्वरमाथि भरोसा राख्नुपर्छ, जसलाई प्रार्थना गरिन्छ । अन्धाअन्धी बाबुआमा ईश्वरमाथि भरोसा राख्छन् र बलिन्द्रधारा आँसुका प्रार्थना गर्छन् । अस्पतालको शय्यामा साताभरि नै केही फरक कुरा हुन्छ । ऊ अर्थात् छोरा रवि कुनै उपचारमा गुज्रँदैन । कुरो स्पष्ट छ, मानवजीन थेरापी भनेको जीन स्थानान्तरण ९न्भलभ त्चबलकाभच०द्वारा रोगोपचार गर्ने विधि हो र यस्तो पहिलो परीक्षण सन् १९९०मा सुरु गरिएको थियो । रोगीको Adenosine Deaminase Geneलाई Bymphocytesमा स्थानान्तरण गरेर । किनभने यो सन्जाइमदोष Immune Deficiency तर्फ लक्षित थियो र अत्यन्त घातकसिद्ध हुन्थ्यो । तर, यहाँ खास रोग पत्ता लागेकै छैन । कुन रोगको उपचार गर्न कुन जीन स्थानान्तरण गर्ने ? अनि कहाँ ?…
ऊ चिकित्सकका निम्ति एक प्रयोगको वस्तु भइदिन्छ र आफ्ना निम्ति एक गम्भीर पाठक । विषय मात्र जेनेटिक्स ।
जीन- सन् १९०९मा सबभन्दा पहिलो डब्ल्यू जोहानसेनद्वारा नाम दिइएको ।
मेन्डल, डब्ल्यूएस सूट्टन- जीनका शास्त्रीय धारणाहरू । टिएच मोर्गन- ड्रोसोफिला मेलानो गाष्ट्रकमाथि प्रयोगात्मक कार्य । क्रोकोजोम- त्यो माध्यम, जसबाट वशंानुगत गुणहरू सर्दै जान्छन् एक पुस्तादेखि अर्को पुस्तासम्म । मोर्गनको क्रोमोजोम सिद्धान्त (Cromosome Theooy of Inheritance)- यो धारणा राख्छ कि क्रोमोजोमहरू पृथक् एकाइहरूबाट बनेका हुन्छन्, जसलाई जीन भनिन्छन् ।
जीनहरू नै विशेष गुणहरूका यथार्थ संवाहक हुन् ।
जीन उत्परिवर्तन (Gene Mutation) जीनको रसायनिक संरचना- डिएनए अणुहरू ।
डिएनए संरचना र द्विगुमान/Self Duplication ।
सन्देशवाहक आरएनए ।
स्ट्रक्चरता जीन, रेगुलेटरी जीन ।
जेनेटिक कोड र प्रोटिन सिन्थेसिसको नियन्त्रण ।
जीन कन्भर्सन/जीन सक्सप्रेसन/जीन म्यानिप्युलेसन/जीन ब्याङ्क/जीन लाइब्रेरी/जीन फ्लो/जीन पुल/जेनेटिक ड्रिफ्ट/जेनेटिक लोड/जेनेटिक म्यापिङ्/जेनेटिक भेरिएसन/जेनेटिक स्प्लाइसिङ्/-ट्रान्सडक्सन)
ऊ आफूलाई पूरै जीनको ब्रह्माण्डमा हराइदिन्छ । र, सोच्छ भावुक कवि भएर कि ऊ जीनको एक सानो पृथ्वी हो । तर, उसलाई के भएको छ ?
यसपालि चिकित्सकले उसलाई सोध्दैन, उसले चिकित्सकलाई सोध्छ ।
“वंशानुगत दोष,” चिकित्सकले जानकारी दिन्छ ।
“त्यो भनेको के हो त ?” उसले सोध्छ ।
“वंशानुगत दोष भनेको तपाईंको निशेषिच कोषको क्रोमोजोम जीनमा भएको दोष हो । मेरो आसय जाइगोट् सेल ।”
“के मैले बुझ्नुपर्छ जन्मभन्दा पहिले मैले अपराध गरेको थिएँ ?”
“होइन, होइन, त्यसरी नलिनुहोला । विज्ञानको सत्यतालाई भावनामा लिनुहुँदैन ।”
चिकित्सक भन्छ । ऊ केही भन्दैन । उसलाई जे बुझ्नुहुन्छ पहिले नै बुझिसकेको हुन्छ । अर्को दिन अर्थात् भोलिपल्ट जब अन्धाअन्धी बाबुआमा उसको स्वास्नीको सहारा लिई उसलाई भेट्न आइपुग्छन्, ऊ बोल्न अस्वीकार गरिदिन्छ । उनीहरू बुझ्न सक्दैनन् उनीहरूको एक मात्र छोरोलाई के भइरहेछ … ।
“छोरा, हामीलाई हाम्रो मृत्यु हुनुभन्दा पहिले यसरी नमारिदेऊ…। नमारिदेऊ…। दया गर छोरा…. ।” अन्धाअन्धी बाबुआमा बिलौना गर्छन् । त्यसले उसलाई विस्फोट गराइदिन्छ ।
“मूर्ख अन्धाअन्धी ! आफ्ना अपराधी जीनहरूद्वारा आँसु नबगाउनु । म घिन मान्छु दुवैलाई ।”
स्वास्नीलाई विश्वास लाग्दैन ऊ के सुन्छे । अन्धाअन्धी बाबुआमालाई विश्वास लाग्दैन उनीहरू के अनुभव गर्छन् । तर, जीवनका यथार्थ विश्वासहरू र अविश्वासहरूभन्दा परै हुन्छ । यथार्थ घटित भइसकेको हुन्छ । कुरा त्यति नै हो ।
उसको रोगको लक्षण के हुन्छ भने कुनै लक्षण हुँदैन, अरू जीनसम्बन्धी कारणले हुने रोगहरूमा जस्तै- Phenylketonuria. Icke-lclle Anemia, Tay-Sachs, Spina Bifida Water on the Brain आदि चिकित्सकलाई थाहा हुँदैन कसरी नवः आविष्कृत वंशानुगत गुण विक्षेपण (Heriditary Traits Transmission) दोषहरूलाई सच्याउन सकिन्छ । यामीय उपकरणद्वारा साङ्केतित समस्या के समाधानरहित छ त… ?
पहिलेझैँ नै रोगीले याने उसले अस्वस्थताको अनुभव गरिरहन्छ -अनुभव रोगको लक्षण होइन) र कहिलेकाहीँ पसिनाले नुहाइन्छ -पसिना रोगको लक्षणभन्दा बढी श्रमको लक्षण नभए मनोविज्ञान हुन्छ) । यसरी समय आशालाग्दो निराशामा चलिरहन्छ ।
यी दिनहरूमा पनि ऊ दुःखी बाबुआमाप्रति बदलिएको व्यवहार बदल्दैन । यो उसको त्यही बुझाइको प्रतिक्रिया हुन्छ कि उसको जीवन अरू केही होइन, बाबुआमाका सच्याउन नसकिने भूलहरू हुन् । तब अस्पतालमा बसिरहनुको उपयोगिता के छ ‘गिनिपिग’ भएर ?
केही छैन/केही छैन/केही छैन ।
ऊ आफूलाई अस्पतालबाट छुट्टी गर्छ । उसलाई प्रयोग गरिरहेको चिकित्सकलाई पीडादायक विषयमा पारेर ।
घर । ऊ स्वास्नीलाई चिन्छ । ऊ अन्धाअन्धी बाबुआमालाई चिन्दैन ।
“छोरा, यस्तो व्यवहार गर्नुभन्दा हामी दुईलाई घाँटी निमोठेर मारिदेऊ ।”
बाबुआमा भन्छन् बिलौना गरी गरी अनि असहायतापूर्वक सोच्छन् उनीहरूको एक मात्र छोरोलाई कुनै दुष्ट आत्माले सताएको हुनुपर्छ । श्रवणकुमार श्रवणकुमार नै हुन्छ, दुष्टकुमार हुँदैन …!
उनीहरू अन्धो आँखा चिम्लिएर प्रार्थना गर्छन् ः “प्रभो ! छोरालाई पहिलेझैँ जाति बनाइदिनुहोस् …। बरु हाम्रो ज्यान लिनुहोस् …। हजुरकै शरणागत छौँ …।”
तर, बदलीमा कुनै बदली हुँदैन । ईश्वर पुकारा जारिरहन्छ । आशापूर्वक । हो, विश्वासपूर्वक । जहाँसम्म उसको कुरा हुन्छ याने छोरोको ऊ विस्फोटित भई बस्दैन, मौन भइबस्छ ।
आफूलाई पूरै कोठामा थुनेर । ऊ भेट्न चाहने साथीहरूलाई भेट्दैन । सम्बन्धीहरूलाई भेट्दैन । छिमेकीहरूलाई भेट्दैन । किन भन्ने कुरा कसैले बुझ्दैनन् तर जतिले बुझे भनी ठान्छन् उनीहरू त्यसको सम्बन्ध मनसित जोड्छन्,”त्यस्तै हो मन ठेगानमा नभएपछि …।”
एकदिन स्वेच्छिक काराबासको तेस्रो सातामा ऊ याने छोरोले होइन, लोग्नेले स्वास्नीलाई बोलाई भन्छ,”हेर, म कुनै पनि सन्तानको बाबु बन्न चाहन्न । मेरा जीनहरूबाट जुन मैले सजायको रूपमा पाएको छु । जीनहरूको संसारमा म मेरा जीनहरू सधैंभरिका लागि लोप भइगएको हेर्न चाहन्छु । त्यसैले म तिमीलाई मनपर्ने कसैसित बिहे गरिजाने सल्लाह दिन्छु, क्षमायाचनासहित ।”
त्यस्ता कठोर वचन सुनी कसै गरे पनि असल स्वास्नीले के गर्न सक्छे, रुनुबाहेक ?
स्वास्नी रुन्छे बस्सरी । लोग्ने स्वास्नीलाई आराम पुर्याउन केही गर्दैन । पग्लिने त कुरै आएन । ऊ चुप भइबस्छ र आकाशको शून्यतालाई हेरिबस्छ ।
आधा रातमा उसले आफूलाई कोठामाथिको पङ्खामा झुन्ड्याइदिन्छ, सधैंभरिका लागि आफ्ना मानवीय जीनहरू लोप पार्न ।
के यो वंशानुगत भूलसुधार हो त ? मलाई थाहा छैन । मलाई थाहा छ, त्यस परिवारका दुःख र शोकलाई कुनै शब्दहरूमा बयान गर्न सकिँदैन।
नेपाल साप्ताहिक अंक १३७

Kya majja ko lekh.
Sarubhakta
Kya majja ko lekh.
Sarubhakta ka lekh haru yestai naula ra kalpanashil hunchhan. Tehi bhayera malai Sarubhakta ka rachana haru man parchha.
Another good writing from Sarubhakta.
Ramro lagyo
Sarubhakta is
Ramro lagyo
Sarubhakta is Article haru dherai utkristha huncha…………I am crazy fan of his
Actually, I am really impressed by his personal life……I have heard about his live and love story…….which moved him to be a successful Artist of Nepal.
Ujwal Adhikari
Tongmyong University
Korea.