आफू मात्र बाच्नलाई हजार चोटी मर्छ मान्छे
छक्का पन्जा नानाभाँती तिगडमहरू गर्छ मान्छे ।
म नै ठुलो जान्ने भन्छ अहंकार बोक्छ सधै
स्वार्थ पूर्ति गर्नलाई सारै तल झर्छ मान्छे ।
नांगै आयो यो धर्तीमा नांगै हुन्छ जाँदाखेरी
के सोच्छ खै आफूलाई आफ्नै कुटी भर्छ मान्छे ।
तारी दिन्छु भन्छ नदी निर्बल देखे किनारमा
भंगालामा फसाएर एक्लै पारी तर्छ मान्छे ।
रोग लागी थालिएका आफ्नै मान्छे भए पनि
छि:छि: दुर दुर गर्दै छोडी अन्तै सर्छ मान्छे ।
विपदमा कोही छैन आफ्नाहरू पराई हुन्छन
हुने खाने हुँदाखेरि चरणमै पर्छ मान्छे ।
तीर्थ “यात्री” पौडेल
लखनपुर ३ झापा ,नेपाल
हाल :बहराइन
२०६७ / ७ /६
