किन फैलिन्छ अतिवादी आगो
किन मौलाउँछ वैमनुष्यता
किन अशान्ति चारैतिर
किनभने यहाँ एउटा अमानुष रेखा छ
म त्यो रेखामा उभिरहेको छु यतिखेर
जब म त्यो रेखा टेकेर उभिन्छु
त्यसै त्यसै मेरो सगरमाथा फर्फराउँछ
मेरा स्वभावहरू किन सल्बलाइरहेछन्
सलह किराजस्तो
एउटा युद्धको गिद्ध बोकेर
एउटा अहंमको सिँह बोकेर
एउटा शंकाको शंखे बोकेर
चारैतिर अक्टोपस टाउको घुसारेर
शत्रु खोज्दै छु र हेर्दैछु
त्यो रेखामा उभेर
कमिलाका ताँतीजस्तै
हुलका हुल शत्रुहरू
निस्किरहेका छन् मभित्रैबाट
यी शत्रुहरू फैलिएर
नरसंहार गर्दोरहेछ
अतिवादी बन्दोरहेछ
र संसारलाई रगतको
आहाल बनाउँदो रहेछ
त्यसैले म यी सबै शेष नागको
ज्यादती विरुद्ध
टाउकोमा टेकेर उभिरहेको छु यतिखेर