कविता :
मानिसहरू
भर्खरै सुत्न मात्र लाग्दैछन्
भाले पो बास्छ !
विचरा ओछ्यान
अलमल्ल पर्दै
केही भन्न सक्तैन
सुत्न आउने मान्छेलाई ।

म :
भालेको डाकपछि
सुत्ने मान्छे कस्तो होला ?
सपना पनि देख्ला के त मान्छेले ?

कविता :
के याम—कुयाम पनि
छुट्याउन नसक्ने भाले !
तिम्रो नेता जस्तो
संविधान एकातिर,
सभा अर्कोतिर !
मर्नेगरी सुतेपछि
सपनाको के काम ?

म :
हो, हो !
ब्यूँझेर कहिले
सपना बताउँ बताउँ भैसक्यो
सपना बताउन त
ब्यूँझनु पर्दोरहेछ ।
सुन्ने पनि ब्यूँझिएकै हुनुपर्दो रहेछ ।

कविता :
सपना कहाँ त्यस्तो हुन्छ र नेपालीको ?
ब्यूँझदा त्यसले
छोडिसकेको हुन्छ
पर—पर बादलको रासमा
सिमलको भुवामा
उडिरहेको हुन्छ त्यो ।
“सपनाभरी पाएको खुशी ब्यूँझेको हातमा”
— देवकोटा/मुना–मदन
त्यतिकै त विरक्तिएका होइन रहेछन् नि उनी !

म :
शायद भाले पनि
सपनामै बास्यो कि क्या हो ?
सपनाले केवल
सपना मात्रै जन्मायो कि क्या हो ?
बिचरा बिपना
बिरानो भयो
अब त
चिन्न पनि छाडिसक्यो ।

कविता :
त्यसैले होला
रात बाक्लिदै गइरहेको छ
कुकुरहरू
एकनास – एकनास
भुकिरहेका छन्…..
भुकिरहेका छन्……. !

म :
……………. !

कविता :
…………..!

म :
……………….!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *