Skip to content

उसकी स्वास्नी पोइला गई रे !! (वास्तविकवादी कथा)


“थाहा पायौ? त्यो पातर्नी नकचरी सबिता पोइला गई रे” सखारै बिहानको घामको झुल्कोसँगै त्यो पधेरामा दिलमायाले सुमित्रालाई सुनाइन् । बिचरा! ती दुई जना लालाबाला नानीहरूको के हालत होला, सुमित्राले सुस्केरा हालिन्, हुन पनि सबिताका ७ बर्षको छोरो अनि ४ बर्ष कि एउटी छोरी थिए ।

सबिताको विबाह ८ बर्ष अगाडी रणबीरे कान्छासँग भएको थियो । त्यो बेला सबिता १९ बर्षकी कलकलाउदी, राम्री गोरी थिई । सबिता भनेपछि त्यो बेला वल्लो-पल्लो गाउँका केटाहरू मरिहत्ते गर्दथे। भाग्यवस रणबीरे कान्छासँग सबिताको बिहे भयो । हुन पनि त्यो बेला गाउँमा उमेर पुगेका छोरी चेलीको सकेसम्म छिटै बिहे गरिदिनुपर्छ भन्ने मान्यता थियो । रणबीरे कान्छाको घर स्थिति राम्रै थियो, उनीहरू हुने खाने परिवारमा नै गनिन्थे । तर कालान्तारमा पहाड जस्तो आकासे पानीको भरमा खेती किसान गर्नु पर्ने ठाउमा भौगोलिक हावापानी परिवर्तनले उब्जनी कम मात्र हुन थालेको थियो । अब पहिलेको जस्तो खेती किसानले गाउँमा खान पुग्न अलि मुस्किल हुदै थियो, उहिलेको जमानामा जसको धेरै गाई, भैसी, बाख्रा हुन्थ्यो त्यही परिवार धनी मानिन्थ्यो । रणबीरेका दुई जना बिहे भैसकेका दाजुहरू थिए, उसको बिहे भएको १ बर्ष पश्चात अंशबण्डा गरि सबै छुट्टिएका थिए । अब आफै आफैले काम गरि खानु पर्ने भयो, आफ्नो बाबाको सम्पति बाडीएकोले छोराहरूको रबाफ बाबाको जस्तो भएन ।

सबिताको माइती परिवार पनि त्यति गरिब थिएनन्, सुखैले हुर्किएकी थिइन्, रणबीरेसँग बिहे भए पछि सबिता निकै खुशी साथै थिइन् । गाउँमा हुने खाने परिवारमा बुहारी भएर भित्रिनु पनि त्यो बेला गौरबको कुरा हुन्थ्यो । बिहे भएको अर्को साल नै छोरा आयुष जन्म दिएकी थिइन् अब रणबीरेलाई पारिवारिक बोझ बढ्दै गयो, घरमा बाबा, आमा पनि सँगै थिए । समयको क्रमसँगै रणबीरेलाई आर्थिक समस्याले गाज्दै लगेको थियो, उब्जनी राम्ररी नहुने कारणले खेती किसानीमा उसलाई खिन्न लागिरहेको थियो । यस्तै नै उही गाउँमा नै रणबीरे जसोतसो जीविका चलाउदै थियो, पहाडको ठाउँ, दु:खकष्ट त आफ्नो ठाउमा छदै थिए ।

एक दिन रणबीरेले पल्लो गाउँका हरिलाललाई बाटामा भेटे जो विदेश मलेसियामा नोकरी गर्दथे । हरिलालले मलेसियाको सुन्दर बर्णन, रमणीय सहर, सुन्दर केटीहरू अनि त्यहाको मिठा कुराले रणबीरे लट्ठ भए । “ल है मलेसिया जाने भए मलाई म फिर्नु भन्दा पहिले नै खबर गर्नु” भन्ने हरिलालको कुरा उसको दिमागमा घुमिरहेको थियो । यो कुरा रणबीरेले सबितासँग सल्लाह गरे, मलेसिया गएर पैसा कमाएर ल्याउने अनि बरु सहरतिर नै बस्ने निधो गरे । मलेसिया जाने कुरा रणबीरेले बाबा आमालाई पनि सुनाए, बुढेसकालको सहारा विदेश जाने भए पछि यो कुराले उनीहरू खिन्न भए । रणबीरेले हरिलाललाई मलेसिया जान तयार भएको, घरमा सबैसँग सल्लाह भएको निर्णय सुनाए । यता अब सबिताका मनमा अनेक कल्पना गर्न थालिन् । अब सबिता एक्लै सासू ससुरालाई गाउँमा स्याहार सुसार गर्न नसक्ने मनस्थितिमा थिइन् तर श्रीमान रणबीरेलाई भन्न सकेका थिएनन् ।

हरिलाल मलेसिया फर्किए, अब रणबीरे कहिले भिसा आउला भनी दिन गन्न थाले। उसमा जोस उमंग थियो, कौतुहलता थियो । यसरी नै रणबीरेको १ बर्ष जति कुर्न बाध्य भए, आखिर हरिलाल चिनेको मान्छे नै थियो, उसमा आशा मरेको थिएन । नभन्दै हरिलालले मलेसियाबाट भिसा पठाई दिए । अब रणबीरेको खुशीको सिमा रहेन, गाउँ भरि यो कुरा फैलियो, “ल रणबीरे कान्छा पनि लाहुर मलेसिया जाने भयो रे ! ”

अब सबिता एक मनले खिन्न थिइन्, श्रीमानसँग बिछोड हुने देखेर, अर्को तिर सासु ससुरा स्याहार गर्न नसक्ने निचोडमा पुगेकी थिइन् । एक दिन मौका परेर सविताले मुख खोलिन् ” ए ! आयुसका बा, अब यो छोरा पनि ठुलो हुदैछ, यसको पनि पढाईको लागि राम्रो बोर्डिंग स्कुल हाल्नु पर्यो, म र छोरा सहरमा बस्छौ, हुन्न र?” आखिर यो त सविताले छोराको नाम जोडेर सहरमा बस्ने योजना थियो ।

बिचरा रणबीरे अलमल्ल परे, “मलाई केहि दिन सोच्न दे!” उसले जबाफ दिए । रणबीरेले रात भर नानाभाती कुरा खेलाउदा खेलाउदै कतिबेला निदाएछ । उसले भोलिपल्ट आफ्नो स्वास्नी सबितालाई सहर बस्न स्वीकृति दियो । आखिर ऊ अलि सोझो नै थियो, उसले अब बुहारी सहरमा गएर बस्ने जानकारी गराउदा रणबीरेका बाबा आमाका गहभरी आँशुले भरिएका थिए ।

रणबीरेले अब मलेसिया जानलाई तयारी हुन थाल्यो साथै आफ्नो स्वास्नीलाई सहरमा बस्ने बन्दोबस्त पनि गर्दै थियो । बिचरा पाका बाबा आमा जेठा दाजुसँग बस्ने भए, आखिर उसले मलेसिया जाने नै निर्णय गरेकोले, ऊ खाली पैसा कमाउने धुनमा मग्न थियो । ऊ मलेसिया जाने बेला सम्ममा छोरा आयुष ३ बर्षको भईसकेको थियो साथै फेरी सबिता २ महिना कि गर्भवती थिई । रणबीरे मलेसिया जाने बेलामा स्वास्नी सबिता र छोरा आयुषलाई सहरमा कोठा खोजेर राखी दियो र छोरा आयुषलाई नजिकैको बोर्डिंग स्कुलमा भर्ना गरि दियो । रणबीरेले घर ब्यबहार सबै मिलाएर मलेसिया गयो, त्यहा ऊ एउटा मोजा फ्याक्ट्रीमा काम गर्न थाल्यो । यता नेपालमा सबिता छोरा आयुषलाई स्याहार गर्दै आरामसँग दिन बिताउन थालिन्, पहाड गाउँ जस्तो काममा जोतिनु परेन । रणबीरे समय समयमा पैसा पठाऊथ्यो, ऊ मलेसिया गएको ७ महिना पछि सविताले छोरी पाई । स्वास्नीले छोरी पाएको खबरले रणबीरे धेरै खुशी भएको थियो ।
समय बित्ने क्रममा सबितालाई आफ्नो लोग्नेको यादले सताउथ्यो, आखिर लोग्ने बिनाको जीवन पनि उराठ लाग्दो नै हुन्छ, त्यो माथि सबिता भर्खर २४/२५ बर्ष पुगेकी थिइन् । आखिर सविताको कर्तब्य नै छोराछोरीलाई सहरको बोर्डिंग स्कुलमा पढाउनु थियो, छोरालाई स्कुल पठाए पछि तिनी कोठामा टी.भी. हेरेर समय बिताउथिन । कहिले कहिँ सबितालाई बोर लाग्थ्यो, यो उमेरमा लोग्ने आफ्नो साथ नहुदा र मनमा नानाभाती कुरा पनि खेल्थे । सहरमा आफन्त पनि त्यति नभएकोले सबिता कहिले कहिँ एक्लो महसुस गर्थिन । एक दिन धारामा पानी भर्ने क्रममा चिप्लेर सबिता पछारिइन्, तिनलाईसँगैको पल्लो घरको रमेश दाइले उठाएर अस्पताल पुर्याए । यस बेला देखि सबिताको हिमचिम रमेशसँग बढ्न थाल्यो, रमेश अझ सम्म अबिबाहित नै थियो । हुदा हुदा रमेश र सबिता, छोरा आयुष स्कुल गएको समयमा घर कोठामा घन्टौ बसेर कुरा गर्न थाले । छोरी सानी नै भएकोले स्कुल हालेको थिएन । आखिर मान्छेको मनै न हो, कता कता सबिताले रमेशलाई मन पराउन थालेको थियो, यो कुरा गाइगुइ सबिताको घर पहाडमा पनि पुग्यो तर साचो हो कि होइन भनेर सासु ससुरालाई यकिन हुन सकेको थिएन । यो कुरा सबिताका ससुराले चिठीमा लेखेर रणबीरेलाई पठाए, उता मलेसियामा रणबीरे छाँगाबाट खसे झैँ भए । त्यस्तो माया गरेर राखेको स्वास्नी त्यस्तो गर्लिन भनेर विश्वास नै थिएन, अनि रणबीरेले फोन गरेर खारखेर गरे तर सविताले त्यस्तो केहि होइन मेरो विरुद्दमा शत्रुहरूले हल्ला चलाएको भनि सोझो रणबीरेलाई सम्झाउन सफल भइन् ।

सबिता अर्कै केटासँग सल्केको कुरा पहाड गाउँमा जताततै फैलियो, गाँउका अन्य आइमाईहरू सबिताको कुरा काट्न थाले । लोग्ने यसो २/४ बर्ष विदेश गएथ्यो, पातार्नी अर्को केटा खोज्न थालिछे, प्राय सबै आइमाईको मुखमा यहि कुरा निस्कन्थ्यो । हुन पनि रणबीरे मलेसिया गए पछि घर नेपाल नआएको पनि चार बर्ष भईसकेको थियो । उसलाई पनि स्वास्नीको याद नआएको होइन तर केहि पैसा जोहो गरौला र नेपाल आएर यसो सानोतिनो ब्यापार गरेर बस्ने मनशाय बनाएको थियो । र बीच बीचमा आफ्नो स्वास्नीलाई पैसा पठाउदै नै थियो आखिर छोराको बोर्डिंग स्कुलको खर्च छदै थियो । आखिर जे जस्तो भए पनि स्वास्नीले छोराछोरी सम्हालेर बसेको छ, अब एक बर्ष पछि नेपाल आउछु भनेर सबितालाई सुनाएको थियो । तर अफसोच! रणबीरेको यो सपना, कल्पना मात्र सिमित भयो । रणबीरे नेपाल आउने बेला भन्दा ४ महिना अगाडी सबिताले त्यो रमेशको पेट बोकी छे, अब सबितालाई अप्ठ्यारो पर्यो, क्षनिक आनन्दले तिनको जिन्दगी नै बर्बाद हुदै थियो । अर्कातिर रमेशले सबितालाई पत्नी बनाउन स्वीकार गरिसकेको थियो, सबिता जस्ती राम्री आइमाई भेटाउदा रमेशलाई पनि ती सबिताका दुई कलिला लाला बालाहरूलाई बिर्सिए । ए! जे पर्ला सो टर्ला! आखिर सविताले रमेशसँग पोइला जान राजी भई । आखिर जवानी उमेरमा लोग्नेको अनुपस्थितिमा तड्पिएर बस्नु भन्दा अहिले नजिक भएका रमेशसँग हिड्नु नै उतम ठानी सविताले पनि । सबिताले एक दिन छोराछोरीलाई माइती घरमा केहि दिनको लागि भनेर छोडी दिए अनि पुर्व योजना अनुसार रणबीरेले पठाएको बचे खुचेको सबै पैसा साथै माइतीले दिएको गहना लिएर सबिता र रमेश दार्जीलिंगतिर टाप कसे ।

:बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अप्रिल २०१०

6 thoughts on “उसकी स्वास्नी पोइला गई रे !! (वास्तविकवादी कथा)”

  1. साँच्चिकै वास्तविकतावादी कथा
    साँच्चिकै वास्तविकतावादी कथा हो!
    तर सबितालाई मात्रै दोषी मान्नु चाहिं हुँदैन जस्तो लाग्छ।

  2. ठिस बुढा

    स्वास्नी पोइला गई रे !
    बुद्ध चेम्जोंग सर…

    कथा पस्कने तरिका राम्रो छ! कथाको सिरसक राम्रो छ!

    एउटा कुरो:
    हावा दुषित छ, अर्का स्वास्नि ताक्ने गिरोह छ! ख्याल ठट्टा होईन, जमाना खराब छ!

    लाउरया’ स्वास्नि भन्ने भनाई नै छ!

    गल्ति नगर्नुस, स्वास्नि नछाड्नुस!
    हाई रिस्क छ!

    🙂

    बाई

  3. Samaj ma dekhiyeka bhetiyeka pariwes
    Samajik pariwes laai sameter lekhiyeka katha haru lok priya hunchhan nai….keep writing.

  4. अरे यार कस्तो कथा
    अरे यार कस्तो कथा हो यो चूचूचू बिचरा ति लाला बाला नानीहरु

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *