‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रहभित्रका हिम्मतिला सुगन्ध


मोसफल, त्यसमाथि अति विकट सुदूरपश्चिमाञ्चलको उच्चस्थानमा रहेको सुन्दर, रमणीय, मनमोहक र हरियालीले भरिपूर्ण चिसो हिमाली भू–भागभित्र पर्ने जिल्ला हो — दार्चुला । यसै जिल्लाको बाकुमार्मा भन्ने ठाउँमा स्व. पिता अमरसिह महर तथा स्व. माता द्रौपदीदेवी महरका कोखबाट मिति २०३८ साल भाद्र ३० गते जन्मिएर दार्चुला जिल्लाभरिकै नारी साहित्यिक दियोको रूपमा उभिन पुगेकी छन् — कवयित्री भरुणी भागिरथी महर । उनको साहित्यिक यात्राले ‘अर्चना’ उपमा थपेको छ ।

हुनत त्यस क्षेत्र अर्थात् नेपालको प्रायः पहाडी भू–भागहरूमा आजको २१ औँ शताब्दीमा पनि सय्यौँ वर्ष पुरानो रुढीवादले जरा गाडेको पाइन्छ । त्यहाँ नारीहरू प्रायः घरायसी घरधन्दा र स्वामीज्यूको पदवन्दनादिमा जीवन बिताइरहेको पाइन्छ । अर्थात् पितृसत्तात्मक हैकमवाद अझै जिउँदै छ । यस्तो जिल्लामा जन्मिनुभएकी कवयित्रीका पिताजी साह्रै नै उदारमना भएको कारण उनले औपचारिक शिक्षामा बी.एड्. प्रथम वर्ष (नेपाली विषय) सम्मको शिक्षा हासिल गरेकी छन् ।

यसप्रकारको दुर्गम अविकसित विकट भू–भागमा रहेर पनि उनले आफूलाई साहित्यिक अनुष्ठानमा समवेत र समुन्वय गराउँदै आफू र आफ्नै क्षेत्रीय रहन–सहन एवम् गराइभोगाइका समसामयिकता देखी पारीवारिकता र स्थानीय रहनसहनयुक्त वेदनासमेतलाई समेट्दै आफ्नो लेखनप्रक्रियामा आफूलाई समाहित गराएर अहोरात्र जुटेर अघि बढ्दै गरेको देखिन्छिन् कवयित्री भरुणी भागिरथी महर ‘अर्चना’ । जसको फलस्वरूप २०६५ सालमा ‘म कहिल्यै हार्दिन’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ, जुन उहाँको दोस्रो कवितासङ्ग्रह बन्न पुगेको छ । पहिलो सङ्ग्रह मेरो हातमा नपरे पनि प्रस्तुत कवितासङ्ग्रह दोस्रो हो भन्ने कुरा सङ्ग्रहमा उल्लेख भएका वाक्यांशहरूले नै पुष्टि गरेको छ ।

कवयित्री अर्चनाले ‘म कहिल्यै हार्दिन’ नामक कवितासङ्ग्रहको सुगन्ध लिएर गद्यकविता पारखीहरूका माझ देखापरेकी छन् । सङ्ग्रहमा बाहिरी आवरणबाहेक ६८ पेज रहेको छ । जसमा लगभग छ दर्जन कविता अन्वित प्रस्तुत कवितासङ्ग्रहमा आफ्नो क्षेत्रीय रहन–सहन एवम् भोगाइका हर्ष, खुसी, उमङ्ग एवम् वेदनाजस्ता विविधतालाई कविले व्युत्पति, प्रतिभा र साधनाले सरल, तरल र प्रभावकारी पाराले उठान गरेकी छन् । प्रस्तुत कवितासङ्ग्रहले मानतावादी स्वर मुखरित गर्दै नारी कर्मशीलताको यशोगान गाएको छ भने त्यस भेगमा बसोबास गरेका महिलाहरूलाई यो कवितासङ्ग्रह साहित्यिक प्रेरणाको स्रोत बन्न सक्ने अनुभूति यो पङ्क्तिकारलाई भएको छ ।

कविताको सुरुमा कवयित्री भरुणी भागिरथी महर ‘अर्चना’ ले मङ्गलाचरण प्रतीत हुने माताको संस्मरणात्मक वन्दना ‘अमूल्य छ आमाको माया’ कविताबाट आरम्भ गरेको यस कवितासङ्ग्रहले काव्यिक झलकका साथै आगत–विगतका सम्मोहन, साथै ‘जननी जन्म–भूमिश्च स्वर्ग–दपी गरियसी’ भन्ने वाक्यांशलाई पुष्टि गर्न जन्मस्थानको गुनगानका साथै वियोग र संयोग, मृत्यु र जन्म, गृहस्थी र गुनगान, बिदाइ र वेदना, घटना र दुर्घटनाका यावत् पाटाहरूलाई व्यक्तिगत अवधारणाका आधारमा समेटेको पाइन्छ । तथापि व्यावहारिकता जस्तै कवितामा ‘अर्चना’ का पीडायुक्त अभिव्यक्तिले गर्दा रुमानी काँटका स्वछन्दतावादी कवित्वको कमी लाग्दछ । कवितामा भरुणी भागिरथी महर ‘अर्चना’ ले आफूलाई दैवीय अभिघात (Trauma) पुगेपछिको पीडाबोध र आत्मबोधयुक्त शब्दहरूलाई सुन्दर मिठासयुक्त चास्नीमा चुर्लुम्म डुबाउँदै अभिव्यक्त गरिएका कविताका नमुनाहरू यसरी प्रकट गरेकी छन्, जसमा मातृत्वस्मरण एवम् जन्मभूमिको सम्झनाले मस्तिष्कका नशानशालाई झक्झक्याउने चेष्टा गरेको पाइन्छ ∕ हेरौ उनकै शब्दसंरचनाका केही पङ्क्तिहरू —

स्वार्थी सुख पलपलमा पाइन्छ
मैले प्राप्त गरेँ
आमाको माया खोज्न थालेँ
कतै पाउन सकिनँ
अमूल्य छ आमाको माया ।

जङ्गलमा डढेँलो लाग्छ
आकाशमा कालो बादल लाग्छ
धर्तिलाई कुहिरोले ढाक्छ
तर, आमाको मायामा दाग लाग्दैन । (‘अमूल्य छ आमाको माया’, पृ. १)

अपि हिमाल भएको
डाँफे मुनाल नाचेको
चौलानी सलल बगेको
पहाडैपहाडले घेरिएको
मार्मा मेरो स्वर्ग हो ।

त्यो ठाउँमा जन्म पाउनु मेरो गर्व हो
बास, बुरास हरियालीले छाएको
कुहुकुहु कोइलीले गाएको
साना ठूला सबैले भ्रमण गर्दै
हाँसी–खुसी रमाएको
मेरो मार्मा स्वर्ग हो । (‘मार्मा मेरो स्वर्ग हो’, पृ. २)

अर्चनाका केही कविता आधुनिक अधिकविता (etapoetry) को वर्गमा समेत खडा भएको पाइन्छन् । ‘काव्यपठन र साहित्यिक अनुशीलनले आत्मबोध गराउने जुन सभ्यताको दिव्य झलक हो’ अर्चनाको दर्शनकविता पनि यही हो । कवि–कवयित्रीहरूले अकर्मण्यताको विपक्षमा र नारी जागरणका पक्षमा जसरी बुलन्द बनाउन जरूरी थियो, त्यसरी नै आफ्नो कवितामा बुलन्द आवाज उठाएकी छन् भरुणी भागिरथी महर ‘अर्चना’ ले । जिन्दगी प्रेम हो, यो जीवनको विशिष्ट पहिचान उनका कविताले बोकेको पाइन्छ । अर्चनाका सम्पूर्ण कवितामा समसामयिकतामा जीवनज्योतिसम्मका संवाहक र आशावादी स्वर मुखरित भएका छन् ।

उठ आजका नारी हामीले
‘अ’ बाट अलङ्कार बुझ्नुपर्दछ ।
पुरुषको बराबर परिश्रम गर्नु छ
समाजमा आफ्नो पाइला अघि सार्नु छ । (‘उठ जाग नारी’, पृ. ५)

प्रेमीको पीडाले मान्छे
प्रगतिका पाइला रोकिएका हुन्छन्
बोल्ने भाषा अल्मलिएका हुन्छ
भोक निद्रा हराएको हुन्छ
रातदिन मुटु जलेको हुन्छ । (‘प्रेमीका पीडाले मान्छे’, पृ. ६)

जीवन ज्योति हो
जलेपछि निभ्नुपर्छ
सङ्गत बिग्रे आँसु खान्छ
जलाउन नसके निभ्छ ।

जीवन ज्योति हो बाल्नुपर्छ यहाँ
राम्रो समाजको आवश्यकता छ जहाँ
लक्ष्य तोक्नु जीवनको कर्तव्य हो
परिवर्तन अहोभाग्य हो । (‘जीवन ज्योति हो’, पृ. १०)

क्षेत्रीय एवम् स्थानीय चलनचल्तीमा प्रयोग हुने मीठा नेपाली शब्दहरूमा लेखिएको ‘म कहिल्यै हार्दिन’ नामक यो कवितासङ्ग्रहले त्यस भेकमा रहेका नवसर्जक सिकारु एवम् उत्सुक महिला कवयित्रीहरूका लागि पनि केही उपयोगी र मार्गदर्शनको पाटो बन्न सक्ने देखिन्छ । जसले स्थानीय महिलाहरूमाथिको दमनजस्ता विषयमाथि न्यायको चेतना भर्नेजस्ता मानवीय ज्ञान दिने अभीष्टले रचित भएको प्रस्तुत ‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रह वर्तमानको संवेदनशीलताबाट इतर भने छैन । रित्तो संवेदनामा मूर्छित मानवीय मन अर्चनाको कवित्वमा प्रशस्त जँचेको छ, जहाँ कविको वर्तमानप्रतिको सचेतता प्रस्ट हुन्छ ।

कवयित्री अर्चनाको आफूले भोगेका ती संवेदना अनुभवबाट नै अन्य नारीलाई सजग बनाउने र जगाउने उत्प्रेरणा दिने प्रयास सार्थक छ । समालोचकीय चक्रब्यूह सञ्चेतना (Labyrinth Conscience) ले प्रस्तावना गरेको नमुनागत विविधीकरणको ऐकिक पद्धतिका आधारमा अर्चनाका कवितालाई नारीवादी दृष्टिकोण, स्वच्छन्दतावादी प्रष्फुटन, प्रदोषकालीन चेतना (Twilight Consciousness ) जस्ता विविध आयामहरूबाट पनि पर्गेल्न सकिन्छ । कवयित्री भरुणी भागिरथी महर ‘अर्चना’ कै शब्दमा केही पङ्क्तिहरू हेरौँ —

बाँच्नुपर्छ नारी हामीले
भृकुटी, तारा, सीताको इतिहास पल्टाएर
फ्लोरेन्स, परिजातको
कुशल देनको अवलोकन गरेर ।

बाँच्नुपर्छ नारी हामीले
पाइलापाइलामा सफलता खोजेर
चन्द्रमामा पाइला टेक्ने नारीको
साहसलाई आत्मसात गरेर । (‘बाँच्नुपर्छ नारी हामीले’ ,पृ. २७)

नारी तिमीलाई
केही गर्न सक्ने क्षमता नभएर होइन
तिमी आफैँमा सीप नभएर होइन
केवल तिमी आफ्नै व्यक्तिगत परिवेशमा
रुल्मिलिएर हौ दभित्÷दबिएका छौ । (‘नारी तिमी’, पृ. ३१)

कवयित्री अर्चनाले स्थानीय रुढीवादको अन्त गर्ने, सबै नरनारी शिक्षित हुनुपर्ने सन्दर्भलाई उजागर गर्दै आफूले पनि केही शिक्षा पाएकोमा गौरवान्तित हुँदै आफ्नो देशको माया–ममतामा महानता दर्साउँदै र भाइबहिनीको माया र स्नेहतालाई स्थायित्व दिने उद्देश्यले कोर–कार गरेकी केही कविताका अंशहरू हेरौँ कवयित्रीकै शब्दमा —

मलाई साथ दियो शिक्षाले
घाँस काट्दै कोदाली चलाउँदै
किताबका पाना पल्टाएँ मैले
भारी बोक्दै चर्को घाममा
अङ्ग्रेजीका टन्सविच गणितका
सूत्र याद गर्थें मैले । (‘मलाई साथ दियो शिक्षाले’, पृ. ३८)

मेरो नेपाल महान् बन्छ
प्रत्येक घरमा शिक्षाको ज्योति फैलिए
नारीले सम्मान र अधिकार पाए
सानो ठूलो सबैलाई ज्ञान भए
कसैले कसैलाई पक्षपात नगरे । (‘मेरो नेपाल विशाल बन्छ’, पृ. ४२)

उपहार हो ईश्वरको
सौन्दर्य हो प्रकृतिको
नाता हो रगतको
आशीर्वाद हो आमा र बाबुको । (‘भाइ–बहिनीको सम्बन्ध’, पृ. ५५)

कवयित्री भरुणी भागिरथी महर ‘अर्चना’ ले आफ्नो ‘म कहिल्यै हार्दिन’ नामक कवितासङ्ग्रहलाई जम्मा–जम्मी ५९ ओटा कविताहरूले सिँगारेकी छन् । कलमकार अर्थात् कवयित्री अर्चनाका स्थानीय अवस्था, समय, स्थान र माहौलको गहिराइमा डुबुल्की मार्ने हो र गम्भीर भएर सोच्ने हो भने सबै कविता एकपछि अर्को झन्भन्दा झन् राम्रा छन् । सबै कविताको व्याख्या गर्न सम्भव पनि हुँदैन, ममा शक्ति पनि नहोला । कुनै पनि काव्यिक शब्दले बोल्न खोजेका विषयवस्तु र कविले लिपिबद्ध गर्न खोजेको सोचाइबीच कहिलेकाहीँ मेल खाँदैन । तसर्थ समीक्षकको दृष्टि र कविको सोच पनि भिन्न हुनुमा कुनै अनौठो मान्नु पर्ने देखिँदैन । जेहोस्, माथि उल्लिखित अवस्थालाई मध्यनजर गर्दा भरुणी भागिरथी महर ‘अर्चना’ को प्रस्तुत कवितासङ्ग्रहले आफ्नै मौलिकता बोकेको छ ।

अन्तमा सुदूर पश्चिमाञ्चलकी नारीहस्ती मान्न सकिने ‘अर्चना’ ले ‘म कहिल्यै हार्दिन’ नामक कवितासङ्ग्रहलाई साथमा लिएर एउटी सफल कवयित्रीको हैसियतमा नेपाली वाङ्मयको मैदानमा उभिन आइपुगेकी छिन् तसर्थ नेपाली वाङ्मयको हरियो फाँटमा म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु । उनका सङ्ग्रहभित्र सङ्गृहीत कविताहरूमा कविको कवित्व प्रस्फुटित भएको देखिन्छ । अर्को पक्षबाट हेर्दा सङ्ग्रहभित्रका कवितामा काव्यिकशैलीले प्रखररूपमा स्थान प्राप्त गरेको छ । कविताहरूमा सामान्यतया क्षेत्रीय, प्रचलित र व्यावहारिक सरल शब्दहरूको प्रयोग अत्यधिक गरेकी छन् । ‘अर्चना’ को ‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ । समग्रमा भन्नुपर्दा कवयित्री भरुणी भागिरथी महर ‘अर्चना’ का साहित्यिक कलम आगामी दिनहरूमा अझ खारिएर तिखारिँदै सगरमाथा शिखर चुम्न पुगोस् भन्दै उनको शारीरिक सु–स्वास्थ्य एवम् दीर्घजीवन तथा उच्च साहित्यिक लेखनीका लागि हार्दिक शुभकामनासहित बिदा हुन्छु ।

गजल कुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
हरिशयनी एकादशी, २०६६ असार १९ गते ।
इमेलः [email protected], [email protected]
साहित्यिक वेभसाइटः www.pallawa.com.np

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रहभित्रका हिम्मतिला सुगन्ध”

  1. गोर्खेज्यू, युवा कवयित्रीको
    गोर्खेज्यू, युवा कवयित्रीको जानकारी अनि वहाँको कृतिमाथिको समीक्षा ल्याएर हामीलाई जानकारी दिनुभएकोमा धन्यवाद छ! वहाँ तथा वहाँको साहित्यिक यात्राबारेमा म अनभिज्ञ थिएँ। तर भूमिका पढ्दा र साभार गरिएका कवितांशहरू पढ्दा एक संघर्षशील, स्वभीमानी तथा राष्ट्रप्रेमी युवतीका बारेमा केही थाहा पाउने मौका मिल्यो। वहाँको कलमलाई शुभकामना।

  2. ल गोरर्खे दाइ खुसी
    ल गोरर्खे दाइ खुसी लाग्यो।
    Ramesh,chitwan

Leave a Reply

Your email address will not be published. Required fields are marked *