मध्ये रात । ट्रिन ट्रिन । फोनको घन्टी बज्छ । दिनभरको थकाइले चुर भएर मस्त निद्रामा रहेको किरणको लागि त त्यो बमको धमाका जस्तै भान हुन्छ । मनमा धेरै आशंकाहरूले परेड खेल्न थाल्दछन् । हुन् पनि सुखको खेती गर्न परदेशमा बसेको बिचरा किरणको लागि मध्ये रातमा बजेको हरेक घन्टीले अशुभ समाचार मात्र सुनाउदै आएको छ ।
दशक बितिसकेको थियो किरण लाहुरे बनेको । सानो उमेरमै बाबु गुमाएको निम्न बर्गीय परिवारमा हुर्केको किरणले आबश्यक शिक्षा हासिल गर्न सकेन । परिवारको जेठो छोरो थियो ऊ । तीन भाइ दुई बहिनीहरूको शिक्षा, विवाह व्यवहार अनि बिधवा आमाको रेखदेखमा भएको जग्गा जमीन केही बेच्यो त केही जमिन्दारकोमा चर्को ब्याजमा धितो राखेको थियो । नोकरीको खोज्ने प्रयास शिक्षाको अभावमा सफल भएन । भारतीय र बेलायती पल्टनमा कोशिश गर्यो सफल भएन । हुर्कदै गरेका दुई सन्तानको खर्च पनि बढ्दै थियो । पहुँच,सिफारिस कोसेली केही पनि जुटाउन नसक्ने किरणको मनमा भबिष्यमा सुख पाउने र वर्तमानको माग पुरा गर्ने एउटै मात्र उपाय विदेश गएर मजदुरी गर्ने जुर्यो ।
निक्कै प्रयास गरेपछि बल्ल अरबमा एउटा काम मिलेको थियो । यहाँ भेडा बथानसित लाक्पा खेल्दा खेल्दै दशक बितेको उसलाई पत्तै भएन । तर उसको शारीरिक, मानसिक अनि पारिवारिक अवस्थामा आएको उथल पुथलले भने किरणको जीवनमा धेरै चुनामी पार गरिसकेको थियो । धेरै आँधीका धक्काले किरणका आँसु सबै सुकाई सकेका थिए । कमजोर शिथिल अनि निरस किरण कसैको आशाको त्यान्द्रो मात्र थियो । ऊ आफ्नै लागि नै आशावादी छैन अब । समयान्तरले उसको सपनाहरू बदलिदिएको छ । उसकोबाटाहरू भत्किसकेका छन् । उसको गन्तब्य अन्धकार तर्फ धकेलिएको छ ।
“यो घन्टीले पनि अशुभको समाचार नै लेराएको त होला नि” भनी उठाउँने चाहना नै गरेन । प्रत्यक घन्टीसँगै ऊ अतितमा फर्किन्छ । लाहुर लागेको तेस्रो बर्षतिर मध्यरातमा एउटा घन्टी बजेको थियो । घरको फोन आयो भन्दै खुसीले उफ्रेर फोन उठाएको मात्र के थियो उताबाट किरणकी आमाले रुँदै रुँदै खबर सुनाएकी थिइन । किरणकी धर्म पत्नी सिता, जसले जीवनमा सँगै बाच्ने सँगै मर्ने भनी सात फेरो लिएकी थिइन्, उसको सिन्दुर थापेकी थिइन । उनले किरणसित अब आशा भरोशा नरहेको भन्दै दुई नाबालक बच्चालाई सासूको जिम्मा लगाएर सुख खोज्न अर्कै पुरुषको हात समाती हिंडेकी समाचार सुनाएकी थिइन । त्यो रात पहिलो चोटी विदेशमा खुबै रोएको थियो किरण । उनीहरूकै सुख खोज्न आफ्नो जवानी धितो राखी मुग्लान पसेको किरणको भक्कानो छुटेको थियो त्यो रात । त्यसपछिका दिनहरू न निद्रा न भोकमा बित्दै गएका थिए । छिट्टो घर फर्कने बिचारले किरण अधिक काममा खट्टिन थालेकोले कमजोर बन्दै गएको थियो ।
फर्कने इच्छा नगरेको होइन किरणले। तर के गरोस् ? उसको लाहुर आउँदा लागेको ऋण भर्खर तिरिसकेको थियो । कमाएजति साहुको ब्याज-स्याज अनि बच्चा र जीवनसंगिनीको खुसीको लागि खर्चदै ऊ खाली हात नै थियो । खाली हात लिएर कसरी फर्कने ? केही कमाउने अनि स्वदेश गएर केही गर्ने सोचेर किरण मरुभूमिको रापमा पिल्सिएर काम गर्दै थियो । जीवनयात्रा लम्ब्याउँदै थियो । आफ्ना सबै खुसी, यौवन र उमंगलाई खरानी बनाएर ।
केही महिनापछि एक रात यसरी नै आफ्नी जन्म दिने आमा र मातृभूमि सम्झेर आँसु झार्दा झार्दै एक छिन के निदाएको थियो ट्रिन .. ट्रिन .. फोनको घन्टी बज्यो । आमाको फोन होला भनेर खुसीले फोन झम्टेर हेल्लो के भनेको थियो, उताबाट आएको भाइको आबाजमा, “किरण आमाले तिम्रो बाटो हेर्दा हेर्दै यो संसार छोडेर जानु भयो आज ..।” भन्ने बाक्य सुनेपछि केही थप सुन्ने सोध्ने साहस भएन किरणमा । आँखाबाट बलिन्द्र आँसु टप्किन थाल्यो, हात खुट्टा काम्न थाले, रातभर रोयो छटपटियो, मरुभूमिको गोठमा उसको रोदन सुन्ने अनि सान्त्वना दिनेको थियो र ? उसको जीवनको बाँकी यात्रा अब पुरा भएजस्तो लाग्यो किरणलाई । ऊ काममा पनि गएन त्यो दिन ।
किरणलाई साहुले नोकरीबाट निकालिदियो । तर उसलाई किन्चित पनि बिस्मात लागेन । घर फर्कने सोचेको थियो, तर के गरोस अस्ति मात्र भएको खर्च आमालाई दशैँ मनाउन पठाएको थियो । हवाईखर्च समेत थिएन । चिनेका साथीहरूसित बिन्ती गर्यो, साथीहरूको पनि ब्यथा उस्तै थियो ।
फर्कने खर्च कै लागि किरण फेरि अर्को ठाउँमा काम गर्न थाल्यो । एक दिन साहुको ऋणको हिसाब गर्यो । सावाँ जति त ब्याज मै तिरिसकेको रहेछ उसले । आफ्नो बास भएको घर जग्गा मात्र फिर्ता पाए पनि गाउँ फर्कने र त्यहीं मर्ने इच्छा सुनाएको थियो केही दिन पहिले साहुलाई फोन गरेर किरणले । साहुले कुनै जवाफ नदिएर फोन राखी दिएका थिए । किरण बिक्षिप्त हुदै मरुभूमि मै मरिने हो कि बाल बच्चाको के हाल होला भनी सोच्दै पिल्सिरहेको थियो । दिन प्रतिदिन आशक्त पनि हुँदैगएको थियो किरण । उसको निद्रामा समेत आशावादी हुने सपनाहरू आउन छाडिसकेका थिए ।
ट्रिन ..ट्रिन ..। घन्टी बजी नै रहेको थियो । किरणको मस्तिस्कमा अनेकौ अशुभ कुरो खेली रहेको थियो । एउटा ट्रिन ..ट्रिन नसकिदै अर्को पटक फेरि बज्न थाल्यो । किरण झन अत्तालियो पक्कै के अशुभ भयो र त्यसको खबर आयो भनेर । मनले मानी नमानी फोनमा हात पुर्यायो । हेल्लो भन्न भ्याएको थिएन उताबाट कुरो सुरु भै हाल्यो ..। यस्तो खबर आउला भनेर त किरणले कल्पना समेत गरेको थिएन । फेरि एक पटक किरणको आँखाबाट तरर आँसु खस्यो “साहुजी, साहुजी।”
किरण बोल्न सकी राखेको थिएन । उताबाट साहुजी बोल्दै थिए, उसले जवाफ फर्काउन सकिरहेको थिएन । जिज्ञासा नै जिज्ञासाले किरणको मनमा प्रश्नहरूको बाढी लेराइदिएको थियो । आज पनि उसको निद्राले बिदा लियो । आँखाबाट आँसु बग्न रोकिएको थिएन ।
किरणले बिहान सबेरै अफ्नो गुन्टा बाँध्यो । राता राता आँखा लिएर ऊ साथीको कोठामा पुग्यो र सबैसित अंकमाल गरेर बिदा माग्यो । साथीहरूलाई विश्वास नै भै राखेको थिएन किरणको कुरामा । उनीहरूले शुभ यात्राको कामना गरे । धेरै बर्षपछि किरणको आँखाबाट खुसीको आँसु झरेको थियो । किनकि किरणको साहुले उसको परिवारको बेहाल देखेर उसलाई स्वदेश फर्कोस् भनेर घर जग्गा फिर्ता मात्र पठाएका थिएनन्, मरुभूमिको पोस्टबक्समा हवाई जहाजको टिकट समेत पुर्याईदिई सकेका थिए ।

मार्मिक तथा सुखद अन्त्य भएको
मार्मिक तथा सुखद अन्त्य भएको कथा!