Skip to content


विराट काव्य प्रतिभाका धनी विश्वका नै एउटा महान प्रतिभा, महाकवि देवकोटा (वि.सं. १९६६-२०१६) प्रजातन्त्रप्रेमी, परम राष्ट्रवादी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रा राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वानको रूपमा चिनिने एउटा प्रख्यात विभूति । यस्ता महान् व्यक्तित्वको बारेमा विद्वान समालोचक डा. ईश्वर बरालको भनाइ मननीय छ –

“वास्तवमा देवकोटा प्रजातन्त्रप्रेमी तथा मानवतावादी कवि थिए र उनी खास गरेर प्रजातन्त्रका प्राप्ति र मानवताका उत्थानको लागि नै सधैँ जसो विद्रोही रहे ।”

यस्तै देशप्रेमी, प्रजातन्त्रवादी देवकोटाका महत्त्वाकाङ्क्षा बारेमा कवि व्यथितको विचार पनि उल्लेखनीय छ -“मलाई जहाँसम्म लाग्छ, देवकोटाले धर्म, सम्प्रदाय, जाति, वर्ण, लिङ्ग आदिमा आधृत अन्याय अत्याचार, शोषण र उत्पीडनपूर्ण सामन्तवादी व्यवस्थाबाट समाजलाई उन्मुक्त तुल्याई न्यायपूर्ण र शोषणरहित समाज व्यवस्थाको लागि जग बसाल्ने महत्त्वाकांक्षा नै अँगालेका थिए । अन्याय, अत्याचार, शोषणका विरूद्ध प्रतिरोध एवं व्यङ्ग्य विद्रोहको ज्वाला ओकल्ने उनका ‘साँढे’ ‘प्रभुजी भेडो बनाऊ’, ‘झञ्झावीर’ जस्ता कविताहरूले पनि उनको यही महान् आकांक्षा नै त मुखरित गरेका छन् ।”

वास्तवमा देशप्रेम, युग बोध र मानवताप्रतिको प्रवल मोह नै महाकवि देवकोटाका समस्त काव्य रचनाहरूका मूल केन्द्रविन्दु हुन् । कविता यात्राका प्रारम्भदेखि नै देवकोटाका कविताहरूमा जुन दीन दुःखीको सेवा भावना र कल्याण कामना देखिएको हो, उहाँका परवर्ती रचनाहरूमा यो मानवतावादी भावना क्रमशः बढ््दै गएको पाइन्छ । महाकविको जीवन दर्शनअनुसार साहित्यमा शिवत्व अथवा समाजको कल्याणप्रद भावना अवश्य हुनुपर्दछ । महाकवि देवकोटा जीवन पर्यन्त युगकविको रूपमा मानवताको सेवामा संलग्न रहनुभयो । कविकै शब्दमा –

“जोरिन्छ जतातिर मानवतासँग
साँध यो दिलको
अनन्त शक्ति र ज्योति धु उत्तम
युगको अमर झिल्को ।”

कविले आफ्नो सम्पूर्ण जीवन जनकल्याणकारी भावनाको प्रचारप्रसारमा नै लगाएको देखिन्छ । कवि भन्नुहुन्छ –

“र्फक र्फक हे जाऊ समाऊ
मानिसहरूको पाउ ।”

कविका अनुसार त्याग नै जीवनका सच्चा सुख निहित छ –

“खोज्छन् सबै सुख भनी,
सुख त्यो कहाँ छ ?”

“आफु मिटाइ अरूलाई दिनु जहाँ छ ।”

उहाँ माली जस्तै परिश्रमको बलमा, कलिला फूललाई फुलाएर नेपाली जीवनभित्र सुगन्ध फिँजाउने आदर्शवादी इच्छा लिएर आफ्नो कर्मपथमा अग्रसर हुनुभयो ।

उहाँका ‘गरीब’, ‘मुनामदन’, महाराणा प्रताप’, ‘रावण जटायु युद्ध’, ‘बाघले बच्चा किन खान्छ’ र ‘साँढे’, ‘झन्झावीर’ जस्ता अनेकानेक रचना र कविताहरू मानवतावादी भावनाकै व्यापक परिधिमा प्रवाहित भएको हामी पाउँछौँ । वि.सं. २००४ सालमा उहाँ भारततर्फ लागेर नेपालको प्रजातान्त्रिक, सङ्घर्षमा सक्रियरूपमा योगदान दिन थाल्नुभयो । उहाँ २००५ सालमा ‘पहाडीपुकार’ लेखेर नेपाली जनताका दुःख पीर, पीडा व्यथालाई जुन सशक्त वाणी दिनुभयो त्यो नेपाली साहित्यको इतिहासमा क्रान्ति चेतना फैलाउने अविष्मरणीय उदाहरण बन्न पुगेको छ । नेपाली क्रान्ति चेतनालाई यस रचनाद्वारा उहाँले प्रबोधित गर्नुभयो र नेपाली जनताका सुसुप्त चेतनालाई जगाउनुभयो । राणाहरूको अनयाय र दमनका प्रतिकार गर्नका लागि र आफ्नो मानवीय हक र अधिकारका प्राप्तिका लागि एकजुट भएर लड्नका लागि नेपाली जनतामा क्रान्ति चेतनाका आहृवान गर्दै कविले शङ्खनाद गर्नुभयो –

“अन्न र वस्त्र घर लिई छाड्छौँ इन्साफको नाऊँमा
ज्यानै पो जाओस् प्राणै पो जाओस, पर्वाह गर्दैनौँ
मानिसलाई चाहिने हक न लिई छाड्दैनौँ
मर्नु त एकदिन अवश्यै पर्छ
पशु झैं न जिऊँ
मानिस हुँ भने, मानिसझैँ जिऊँ
मानिसको हक लिऊँ ।”

“आफ्नो देश नेपाललाई सुन्दर, शान्त, विशाल मान्ने निबन्धकार देवकोटा भन्नुहुन्छ – “जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन … अरू युक्ति खोजून, स्वर्ग पछि दौड्न, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा ।”

कविले आफ्नो कविताहरूमा नेपाली जनताका दीनहीन हालतका वर्णन गर्दै जनतामा आशा र आस्थाका भाव जाग्रत गर्ने प्रयास गरेर, नेपाली जनतामा उत्साहका सञ्चार गर्दै कर्म गर्नेतर्फ जोर दिएर समाजमा सुधार गर्नका लागि देशलाई विकासतर्फ लैजानका लागि, देशका गरिमा बढाउनकालागि उद्बोधित गर्नुभयो । उहाँले भन्नुभएको छ ।-

“रूग्ण देशको कामदार यो
अङ्ग यो सदा हेर ! दुर्बल
मिल सुधार यो, माग मानव
गरि बढाउँदै, देश गौरव ।”

समाजका जर्जर मान्यताहरूले हाम्रो देशलाई अवनतिको गर्तमा धकेलेको छ अतः नवयुगको सृजनका लागि परिवर्तन ल्याउने सन्देश र उद्बोधन पनि कविले दिनुभएको छ –

अड्न न दे क्यै पानी सडे झैँ
बाटो बना नव अबलाई
रङ्ग नयाँ फेर नवीन लहरले
नवीन रहरको गर सिर्जन ।”

कविले ‘रावण जटायु युद्ध’ जस्ता रचनाहरूद्वारा अन्यायीका विरूद्ध आवाज उठाउनका लागि जनतालाई प्रेरित गरेको छ । यस बारेमा विद्वान् प्रा. चूडामणि बन्धु देवकोटाका योगदानका सही मूलयाङ्कन र कदर गर्दै भन्नुहुन्छ ।-

“देवकोटाले आफ्ना परिवारलाई भोकै भोकै राखी खाइपाइआएको सरकारी जागीरसमेत, छाडेर देखाएको त्याग, आफू र आफ्ना परिवारले भोगेका दुःखपूर्ण दिनहरू र प्रवासमा बसेर अन्याय, अत्याचार तथा भ्रष्टताको विरूद्ध गरेको हाँकचाहिँ निश्चय नै देवकोटाको जटायुत्वको प्रतीक हो ।”

यसै सन्दर्भमा कविद्वारा रचित ‘महाराणा प्रताप’ त्यस्तै ‘प्रमिथस’ को सिर्जना पनि देवकोटाले नेपालमा २००७ सालमा आएको प्रजातन्त्रको प्रतीकको रूपमा, नवजागरणको पं्रतीकको रूपमा गर्नुभएको हो । कविको अनुसार प्रजातन्त्रलाई बलियो र स्थायी बनाउनका लागि नेपाली क्रान्ति योद्धाहरू सदैव दुःख झेल्नका लागि र त्याग तपस्याका लागि तत्पर हुनुपर्दछ । त्यसैले महाकवि देवकोटाले ‘प्रमिथस’ का उदाहरण हामी समक्ष राख्नुभएको छ । मानवहितका लागि प्रजातन्त्रप्रेमी, मानवतावादी प्रमिथस सदैव त्याग र उत्सर्गका लागि, दुःख सहनका लागि तत्पर छ –

तयार छु थाटिन, माटिन, फाटिन, लाटिन
सुइरिन, रोपिन, शूलिन, घोचिन सब तयार ।

देवकोटा काव्यका गहन अध्ययन पश्चात हामी यस निष्कर्षमा पुग्दछौँ कि मानवतावाद नै उहाँका सम्पूर्ण रचनाका मूल आधार हुन् । आफ्नो देशप्रति, आफ्नो देशको प्रजातन्त्रप्रति उहाँका हृदयमा असीम माया थियो । – “म माटामा मिलेपनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फुलोस्, फलोस् मर्न न पाओस् ।” उहाँ भन्नुहुन्थ्यो ।

देवकोटा जीवन पर्यन्त मानव कल्याणका लागि समर्पित रहने युगकवि देवकोटाले २०१४ मा रूसको तासकन्दमा भएको अफ्नो एसियाली लेखक सम्मेलनमा साहित्य जगत्लाई दिनुभएको यो सन्देश अत्यन्त उपयोगी र अनुकरणीय सिद्ध भएको देखिन्छ “अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बद्री व्यापक क्षितिज तर्फ आकषिर्त गर्नको निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ । उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानवजातिको जीवन बोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि आत्मा खोतल्नुपर्दछ ।”

स्पष्ट छ कि युगको आकाङ्क्षा र आवश्यकतासित आफ्ना भावा र आकाङ्क्षा जोडेर मानवता उत्थानका लागि उहाा जीवनपर्यन्त प्रयत्नशील रहनुभयो । त्यसैले हामीले अभिमान गर्नुहुने लायकका बहुमुखी प्रतिभाका धनी ‘नेपाली महाकवि देवकोटालाई हिन्दीका विख्यात विद्वान साहित्यकार राहुल सांकृत्यायनले भनेका कथन कति महत्त्वपूर्ण र सान्दर्भिक ठहरिन आउँछ “देवकोटा नेपाली के पन्त, प्रसाद, निराला तीनौं है, इसमें अतिशयोक्ति नहीं है ।”यस्ता महान् काव्य प्रतिभालाई हार्दिक श्रद्धाञ्जली ।

शनिबार, गोरखापत्र
कार्तिक १३, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *