काठमाडौ, कार्तिक १२ –
मानिसहरू अक्सर आग्रहहरूद्वारा वशिभूत हुन्छन् । कुनै आग्रह सामान्य हुन्छन्, तर केही आग्रहहरूले दूराग्रहको श्रेणीमा काम गर्छन् । पन्छाउन सकिने दूराग्रहहरूलाई नपन्छाउँदा हामी अक्सर गल्ती गर्न पुग्छौं । जीवनको सामाजिक व्यवहारदेखि लिएर मानिस र तिनका कर्महरूलाई हेर्ने र बुझ्ने मामिलामा त्यस्ता आग्रह र दूराग्रहहरूले हामीलाई प्रभावित गरिरहेका हुन्छन् । एउटा लेखक वा उसको कुनै सिर्जनालाई बुझ्ने कुरामा समेत दूराग्रहले हामीलाई दोषी बनाइरहेको हुन्छ । एउटा पाठकको हैसियतले मैले त्यस्तो अवस्थासँग पटक-पटक साक्षात्कार गरेको छु ।
लियो तोल्सतोयको उपन्यास ‘वार एन्ड पिस’ मैले धेरैपछि निकै ठूलो आँट गरेर पढेको थिएँ । त्यस उपन्यासको काया, त्यसका अनगिन्ती पात्रहरूको सञ्जाल, विश्व साहित्यमा त्यसबारे गरिएका टिप्पणीहरू सबैको योगले मेरो मानसमा त्यस कृतिबारे एउटा विराट पूर्वाग्रह निर्माण गरिदिएको थियो । त्यो निकै जटिल उपन्यास हो, त्यसलाई पढ्न निकै कठिन हुनेछ भन्ने पूर्वाग्रह मेरो दिमागमा यस्तरी बसेको थियो कि मैले त्यसको आवरण पृष्ठलाई सुमसुम्याउँदै, कहिले पढुँला भनेर आफैंसँग प्रश्न गर्दै थुप्रै समय बिताएको थिएँ । तर जब एकदिन मित्र राजकुमार केसीले आफूसँग त्यसका चारवटा ठेलीहरू छन् भन्ने सूचना दिए, मैले उनीसँग ती ठेलीहरू मागेर पढन थालेँ । मस्कोबाट हिन्दीमा प्रकाशित ‘युद्ध र शान्ति’ शीर्षकको त्यो उपन्यास पढ्न थालेपछि मेरो दिमागको कुनाकाप्चातिर काइ परेर बसेका दूराग्रहजस्ता पूर्वाग्रहहरू लगातार पखालिन थाले । त्यो उपन्यास मलाई महानमात्र लागिरहेको थिएन, अत्यन्त आल्हादकारी तथा आनन्ददायकसमेत लागिरहेको थियो । मेरो उपन्यास पठनको यात्रामा त्यो एउटा विशिष्ट क्षण थियो ।
केही अरू किताबहरूका बारेमा पनि म त्यही अनुभवबाट गुज्रिएको छु । मदनमणि दीक्षितको उपन्यास ‘माधवी’ पढ्दाको क्षणमा पनि मलाई पूर्वाग्रहले अत्याइरहेको थियो । तर जब पढ्न थालेर पढिसक्ने हुटहुटीले समात्यो, तब मलाई त्यो उपन्यास सरलमात्र होइन, अत्यन्त आकर्षक लागिरह्यो । नेपाली साहित्यका उत्कृष्ट दस उपन्यासहरूमध्ये माधवी पनि एउटा हो । नेपाली साहित्यमा यही स्तरको उपन्यास निकै समर्थ उपन्यासकारले मात्र सिर्जना गर्न सक्छ, तर अचेल त्यस्तो समर्थवान स्रष्टा खुलस्त दृष्टिगोचर भइरहेको छैन ।
यस प्रसङ्गलाई मेरो छेउबाट हालै उम्किएर गएको एउटा सानो घटनासँग गाँस्न चाहन्छु । दशैंको पूर्वसन्ध्यामा अकस्मात् मैले कोजाग्रत पूणिर्माको दिन वितरण गरिने पद्मश्री पुरस्कार अर्पण समारोहमा उपस्थितिको निम्ता पाएँ । तीन वर्षअघि म त्यही पुरस्कार अर्पण समारोहमा त्यसैगरी आमन्त्रित भएर गएको थिएँ । कार्यक्रम छरितो र आनन्ददायक भएको थियो । त्यही सम्झनाले धकेलिएर यसपटक मैले सहजै त्यस निम्तालाई स्वीकार गरेँ । तर यसपटक पुरस्कृत कृति मैले पढ्न भ्याएको थिइन ।
कथाकार ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’लाई नवोदित प्रतिभा अमर न्यौपानेको कृति ‘पानीको घाम’सँगै पुरस्कृत गरिएको थियो । तर ती दुवै कृति मैले नपढेको हुनाले कार्यक्रममा मेरो सहभागिता एउटा नालायक पाठकको जस्तो हुनलाग्दै थियो । त्यसैले मैले कमसेकम ‘अकल्पनीय’ त पढेरै जान्छु भन्ने अठोट गरेँ । मेरो अठोटलाई साहित्यकार खगेन्द्र सङ्ग्रौलाले सघाइदिनुभयो । उहाँसँग त्यो किताब थियो र मैले तुरुन्तै पाएँ । ‘अकल्पनीय’ बजारमा आएको धेरै भइसकेको थियो । पढ्नमा निकै उत्साहित र छरिता ‘भोरासियस रिडर’हरूले यसलाई उतिखेरै पढिसकेका थिए । तीमध्ये एकजनाले मलाई त्यो किताब त्यति गतिलो छैन भन्ने प्रतिक्रिया दिएका थिए । मलाई यसरी प्रतिक्रिया दिने ती पाठक मैले पत्याएका थोरै पाठकहरूमध्ये एक थिए । त्यसैले यसबेला पनि मैले उनको प्रतिक्रियालाई पत्याएँ । यस पत्यारले मलाई त्यो किताब पढिहाल्ने जाँगर मारिदिएको थियो । कुनै बेला पढुँला, अहिले नै किन हतारिने भन्ने मलाई लागेको थियो । तर त्यही किताबलाई लिएर हुने कार्यक्रममा आमन्त्रित भइसकेपछि नपढी जानु मूर्खता हुनेछ भन्ने मलाई लाग्यो । त्यसैले मैले त्यसलाई पढेँ ।
ध्रुव सापकोटालाई मैले ‘जिन्दगी अर्थात् टाइम बम’ शीर्षकको कथादेखि ध्यान दिएर पढ्न थालेको हुँ । रूपरेखामा छापिएको त्यो कथा त्यतिन्जेल मलाई मनपरेका आधुनिक कथाहरूमध्ये एक हो । त्यसपछि मैले धेरथोर ध्रुव सापकोटालाई पढिरहेको छु । ढिलो गरी पढेको यही ‘अकल्पनीय’ हो । यसलाई पढ्न थाल्दा दूराग्रहको रूपमा मस्तिष्कको कुनामा बसेको पूर्वाग्रहले मलाई पछ्याइरहेको थियो । तर पढ्दै जाँदा यसको छरितो भाषाले मलाई तानिरह्यो र अलिकति पूर्वाग्रह पखालियो । पढ्दै जाँदा यसको विषयगत नवीनताले तानिरह्यो र फेरि अलिकति पूर्वाग्रह पखालियो । पढ्दै गएर पढिसक्दा यसको कथ्यले प्रभावित गर्यो र बचेखुचेको पूर्वाग्रह पूरै पखालियो । अकल्पनीय उपन्यासलाई थातबास गुमेको, जरा उखेलिएको, आफ्नो जमिनबाट निर्ममतापूर्वक लखेटिएको एउटा अभागी अनागरिकको कथा भन्न सकिन्छ । उपन्यास पढिसक्दा मलाई यस्तै लाग्यो । उपन्यासकी नायिका पेमाले विचरण गरेका भूगोल र उनले बिताएका दिनहरूले देश नहुनेहरूको पीडालाई विविध प्रकारले दर्शाएका छन् । सिक्किमबाट तिब्बत र तिब्बतबाट फेरि सिक्किम हुँदै भुटान पुगेकी पेमाले भुटानबाट समेत लखेटिएर नेपालमा शरण लिएकी छ । उपन्यासले बुनिरहेको कथा प्रक्रियालाई उत्कर्षमा पुर्याउँदै अन्ततः ऊ नेपालबाट पनि लखेटिएकी छ । अब ऊ कहाँ पुगी कसैलाई थाहा छैन । पाठकलाई
एउटा सोचनीय विन्दुमा छोडेर उपन्यास सकिन्छ । तर उपन्यासले मस्तिष्कमा दिने प्रभाव सकिँदैन । एउटा सफल आख्यानको विशेषता सायद यो पनि हो ।
‘प्रगतिवादी’ पाठशालाबाट प्रशिक्षित लेखक तथा पाठकहरूले यस उपन्यासलाई मन नपराउने सम्भावना एकदम धेरै छ । किनभने यस उपन्यासले त्यस किसिमको पाठशालाबाट प्रशिक्षित वा दीक्षित लेखकहरूले टिप्नै नसक्ने विषयलाई टिपेको छ । तिब्बतका शासक वा धर्मगुरु दलाई लामाले उतिबेला तिब्बतबाट पलायन गर्दा तिब्बतका आमजनताले चिनियाँहरूका सम्बन्धमा बनाएको धारणालाई उपन्यासमा स्थान दिइएको छ । तर यस सम्बन्धमा उपन्यासकारको टिप्पणी कतै छैन । तिब्बतमा हल्ला फिँजाइएजस्तो चिनियाँहरू उपन्यासमा छैनन् । तर आफ्ना साथीहरूसँग तिब्बतबाट भागेर सिक्किमतिर लाग्दा पेमाले भेटेका चिनियाँहरूले उनीहरूलाई पुल बनाउने काममा रोजगारी दिएका छन् । सजिलै तर्न नसक्ने खोलो तारिदिएका छन् । हल्लाको शब्दचित्रमा देखिएका चिनियाँहरूभन्दा उपन्यासभित्र आएका वास्तविक चिनियाँहरू फरक छन् । यस किसिमले बुझेर पढ्ने पाठकहरूलाई उपन्यासमा प्रच्छन्न तवरले आएको विचारले धेरै अप्ठेरो पार्दैन । तर सुरुमै भनिएजस्तो दूराग्रहको स्तरमा पूर्वाग्रहले मस्तिष्कलाई अतिक्रमण गरिदियो भने पर्नसक्ने अप्ठ्याराहरू यसमा फेला पर्छन् ।
उपन्यास ‘अकल्पनीय’ पढिसकेर पुरस्कार अर्पण समारोहतिर यात्रा गर्दा मैले ध्रुव सापकोटालाई दोस्रोपटक विशेष ध्यान दिएँ । पहिलोपल्ट ‘जिन्दगी अर्थात् टाइम बम’बाट म उनीप्रति ध्यान दिने ठाउँमा पुगेको थिएँ । ‘अकल्पनीय’ले यसको पात्र पेमाको माध्यमबाट मलाई ध्रुव सापकोटाको अवलोकन क्षमतासँग अवगत गराएर उनीप्रति ध्यान दिने ठाउँमा पुर्याइदियो । यसको निम्ति म उपन्यासकार ध्रुव सापकोटालाई मात्र होइन, यस उपन्यासलाई पुरस्कृत गर्ने संस्थाका अगुवा जीवा लामिछानेलाई समेत धन्यवाद दिन चाहन्छु ।
गैरआवासीय नेपाली जीवा लामिछानेले आफ्नो आम्दानीको केही हिस्सा नेपाली साहित्यको उत्थानको निम्ति लगानी गरेका छन् । राम्रो हो । पहिला उनले मोफसलका स्रष्टाहरूका कृतिहरूमध्ये सर्वोत्कृष्टलाई पुरस्कृत गर्ने नीतिलाई संस्थागत गरेका थिए । अहिले मोफसलमात्र होइन, देशभरिका कृतिहरूमध्ये मात्र पनि होइन, विदेशमा बसेर नेपाली साहित्य लेखिरहेका साहित्यकारहरू समेतलाई पुरस्कारको हकदार बनाइदिएका छन् । यो झन् राम्रो कुरा हो । यही राम्रो अनुभूतिलाई साथमा लिएर नगेन्द्रराज शर्मा, चूडामणि बन्धु, खगेन्द्र सङ्ग्रौला, कृष्ण गौतम र साथीहरूले यसपालीको दशैंलाई विदा गरेका छन् ।
प्रकाशित मिति: २०६७ कार्तिक १३ ०७:५६
कान्तिपुर
