सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी
दशैंमा त आइन म तिहारमा आउँला दिदी
साथीसंगी सबै मिली गाउँ शहर डुलीडुली
देउसी भैलो रमाएर तिहारमा गाउँला दिदी
तेलझैं नसुकियोस अनि लामो आयु होस
भन्ने आशिष धेरै तिहारमा पाउँला दिदी
मिठामिठा मिठाईसँगै सेलरोटी पकाईकन
अघाइने गरी सबले तिहारमा खाउँला दिदी
“चाचाहुईया” “चाचाहुईया” पिङ खेल्न परिवार
मिलिजुली बजारतिर तिहारमा धाउँला दिदी
बर्षौं भयो परदेशमा जुवातास नखेल्या पनि
साइतमा च्याँखे हाल्न तिहारमा जाउँला दिदी
केही गरी फेरि पनि आइन भने भाइ “कृष्ण”
रुँदै रुँदै चिठी लेखी तिहारमा पठाउँला दिदी