पात्रहरूः—
(१) सुजन,
(२) धीरेन्द्र,
(३) अमित,
(४) सुधा (करिव १२, १३ वर्षका बालबालिकाहरू) र
(५) विजेन्द्र (उखाने दाइका नामले प्रसिद्धी कमाएका ५० बर्षीय मानिस)

(ठूलो चौरमा रहेको रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । उनीहरू विजेन्द्रको खोजीमा उत्सुक चेहरा लगाएर यताउता हेर्छन् ।)

सुजन ः— (चारैतर्फ हेर्छ, एक्लै भुतभुताउँछ ।) उखाने दाइ आए त कति रमाइलो हुन्थ्यो ।

धीरेन्द्र ः— (सुजनतिर हेर्दै) हैन, ए सुजन ! के भन्दै छौ ? कि हामीलाई सराप्दै छौ ?

अमित ः— झिँगाको सरापले डिँगो मर्दैन भनेझैँ सुजनको चाहनाले हामीलाई केही लछार पाटो लगाउन सक्दैन ।

सुधा ः— नविराउनु नडराउनु त्यसै भनिएको हैन । आफू त विराइँदैन पनि र कसैदेखि डराइँदैन पनि । तर उखाने दाइ आएचाहिँ यो झमेलै खतम हुनेथियो ।

(त्यत्तिकैमा उखाने दाइको प्रवेश हुन्छ । सबैजना उत्सुक हुन्छन् ।)

अमित ः— (खुशी हुँदै) अहो ! उखाने दाइ ! हामीले तपाईंलाई नै खोजिरहेका थियौँ । अब मज्जा आउँछ ।

सुजन ः— उखाने दाइ ! औँलो दिँदा डुँडुलो निल्ने बानी त मान्छेहरूको हुन्छ । हामी पनि त्यही ड्याङ्का मुला हौँ तर हामी माथि हजुरले विशेष कृपा राख्नुपर्छ ।

विजेन्द्र ः— नारायण !! नारायण !! नारायण !! कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा । तिमीहरूलाई चाहिँ मेरै मजाक उडाएर आनन्द लिनुपर्यो हैन । कागभन्दा कोइली चङ्ख भनेझैँ मभन्दा तिमीहरू नै चलाख छौँ त । तिमीहरू भन, म सुन्छु । तिमीहरूको क्यारक्यार सुन्दासुन्दा मेरा कान पाकी सके, अबदेखि म तिमीहरूको अघि देखापर्न कान समाउँछु ।

धीरेन्द्र ः— अब कसो गर्नहुन्छ त, उखाने दाइ ! कहाँ जान्छस् मछली मेरै ढडिया भनेझैँ तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ यस बखत । एउटा कुरो हामी काँक्रालाई थाँक्रो दियो थाँक्रै धनी भनेझैँ तपाईंले लगाउनुभएको गुण विर्सेर कृतघ्न हुनेछैनौँ ।

सुधा ः— हो, मन अमिलो नबनाई हामीलाई मनपेट दिएर आभारी बनाउनुस् । हजुरले आफ्नो हात दिए हामी कोहीभन्दा कम हुनेछैनौँ । हजुरको जयगान गाउँछौँ ।

विजेन्द्र ः— आफैँ त महादेव उत्तानो पर कसले देला वर । आफैँ संकटमा छु । फेरि नजाने गाउँको बाटै नसोध्नू भनेझैँ आफूहरूसँग सम्बन्धै नभएको कुरामा चासो राख्दै अड्डी लिनु जायज हैन ।

सुजन ः— (हाँस्दै) आड नपाई कुकुर पनि भुक्दैन भनेझैँ हामीले बुवाको आड पाएका छौँ । उहाँले हजुरबाट उखान सिकेर आउन भन्नुभएको छ । अनि पो हामी हजुर जाने बाटो ढुकेर बसेका हौँ ।

सुधा ः— नजिकको तीर्थ हेला हुन्छ भन्ने हामीलाई थाहा छ । त्यसैले हामी हजुरजस्ता अनुभवीबाट एकाध कुरा सिक्न चाहन्छौँ ।

अमित ः— पखेटा लागेको पन्छी रूखबाट खसेर मर्दैन तर हामी चाहिँ पखेटा विहीन छौँ, क्यारे ।

विजेन्द्र ः— हेर नानी हो, म त धोवीको कुकुर घरको न घाटको भनेझैँ टुङ्गो विनाको मान्छे हुँ । मेरो बस्ने र खाने टुङ्गो छैन । फेरि नाङ्लो ठटाएर हात्ती तर्सन्न । म तिमीहरूका फोस्रा धम्कीले डराउन्नँ । नाउँ न जस खरानी घस् भनेझैँ उपलब्धी वेगरको दुःख गर्ने पक्षमा म छैन । अहिले मैले भरे मुखमा माड लगाउने साधनको खोजी गर्नुछ ।

सुजन ः— ओहो, भालुको मन खन्युँमाथि भनेझैँ हामी आफ्नै स्वार्थका बारेमा मात्र सोच्दा रहेछौँ । उखाने दाइका उखान सुन्न अड्डी कस्दा झण्डै अनर्थ पो भएछ ।

धीरेन्द्र ः— रातभरि करायो दक्षिणा हरायो भनेझैँ चाहिँ नपारीकन उखाने दाइको मार्कालाई सम्बोधन गरौँ न ।

अमित ः— धीरेन्द्र ! ठीक भन्यौ । सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस् गर्नका लागि हामीलाई पनि र उखाने दाइलाई पनि उपलब्धी हुने गरी काम गर्नुपर्यो ।

सुधा ः— मोही माग्नु ढुङ्ग्रो लुकाउनु भनेझैँ काममा लाज मान्न हुन्न क्या । सबैले नास्ता खान ल्याएको पैसा उखाने दाइलाई दिऔँ न । उहाँको पनि आजको गर्जो टर्छ । हाम्रो पनि स्वार्थ पूर्ति हुन्छ ।

विजेन्द्र ः— मागी मागी छोराको बिहे भनेझैँ म अर्काको भरमा बाँच्नुलाई निरर्थक जीवन मान्छु ।

सुजन ः— अहँ, उखाने दाइ, हामी तपाईंका यी कुरा सुन्दैनौँ । सुधाको मत ठीक छ । (पैसा झिक्ने सङ्केत गर्दै) ल, ल्याओ त नास्ता खान ल्याएको पैसा । (सबैले निकालेर दिन्छन् । त्यो पैसा विजेन्द्रतिर लम्काउँदै) उखाने दाइ, ल, लिनुस् । भरेको छाक खाना यही पैसाले खानुस् ।

धीरेन्द्र ः— अनि अहिले भने हामीलाई उखान सुनाउनुस् ।

अमित ः— उखाने दाइ ! विद्या दानको कुनै मूल्य छैन । यो पैसा तपाईंका उखानको मूल्य तिरेको हैन नि ।

सुधा ः— (विजेन्द्रले पैसा समाउन नमानेकोले) जात फाल्नु गहतको झोलमा भनेझैँ थोरै पारिश्रमिकमा इज्जत फाल्नुपर्यो भन्ने चाहिँ नठान्नुहोला ।

विजेन्द्र ः— यो त मेरो लागि दुबै हातमा लड्डु हो । दिनभरि नानीहरूसँग गफ पनि गर्न पाइने बेलुका पेटभरि खान पनि पाइने । तैपनि किनकिन थोतो मुखलाई पानको बीँडा भनेझँै नसुहाउँदो काम भयो कि भन्ने लाग्दै छ ।

सुजन ः— उखाने दाइ, पैसा पक्रनुस् । ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो भनेझैँ हाम्रो भर हजुर, हजुरको भर हामी । सबै एक अर्काका सहारामा रहनुपर्छ भनेर हजुरले नै भन्नुभएको हैन, अस्ति ? (विजेन्द्र पैसा लिन्छ ।)

धीरेन्द्र ः— आफ्नो दुनो आफैँ सोझ्याउनुपर्छ है, उखाने दाइ । दिनभरि गफमा जोतियो रातभरि पेटमा मुसा कुदायो त गर्न भएन नि ।

अमित ः— उखाने दाइ ! हामीलाई भाइ ठान्नुस् । हुन त अचानाको चोट खुकुरीले जान्दैन । तापनि तपाईंलाई दुःख पुर्याउने काम गर्दा हामीलाई पीडाको अनुभूति हुन्छ ।

सुधा ः— राख्नुस्, पैसा राख्नुस् र बेलुकाको खानाको जोहो गर्नुस् ।

विजेन्द्र ः— सित्तै पाउँदैमा अलकत्रा खानुहुँदैन भन्ने कुरामा म होसियार छु । त्यसैले पाएँ भन्दैमा विवेक नपुर्याई नलिएको मात्र हुँ । ठीकै छ, सेवा गरे मेवा पाइँदो रहेछ । के गनर्,े बाँच्नकै लागि पनि सोझो औँलाले घिउ नआए बाङ्गो पनि पार्नु पर्दो रहेछ । मैले प्रशस्त कुरा भन्न नसकुँला । पछि हिस्स बूढी हरिया दाँत भनेझैँ निराश हुनुपर्ला नि ।

सुजन ः— अँ, शङ्काले लङ्का जलाउँछ, धेरै शङ्का नगरौँ ।

धीरेन्द्र ः— उखान सिक्ने यो शुभ कार्यमा किन विलम्ब ?

अमित ः— उखाने दाइ ! लहरो तान्दा पहरो गर्जिएला है । धेरैतिर सम्बन्ध भएका कुराले धेरैतिर प्रभाव पार्छन् नि ।

सुधा ः— (मुस्कराउँदै) फुईमा आलु र कोसी हालेको थिएँ, चेई आएर हाम गरेछ । मने, सुरी, आइँ, बाँ, भ्या, निनी र मैले हाम गर्नै पाएनौँ । त्यो चेईलाई पाई गर्नुहोस् है, मामु ।

सुजन ः— यो भनेको चाहिँ के हो नि ?

विजेन्द्र ः— यो बालबोली हो । यसको अर्थ हो— आगोमा आलु र केरा हालेको थिएँ, कुकुर आएर खाएछ । पाठो, बिरालो, भैँसी, गाई, भेडो, बाछो र मैले खानै पाएनौँ । त्यो कुकुरलाई पिट्नुहोस् है, आमा ।

सुजन ः— कि गर्छ छोरो कि मर्छ छोरो भनेझैँ मैले जीवनमा केही गरेरै छाड्ने विचार लिएको छु । कुरा गर्यो कुरैको दुःख भइराखेको छ अहिलेसम्म किनभने मेरो विदेश गएर पढ्ने चाहनालाई बुवाले तगारो हालिराख्नुभएको छ ।

धीरेन्द्र ः— धन चाहिन्छ, धन विदेशमा पढ्नलाई । खान्न, खान्न लोकाचार खान लाग्यो माना चार भनेझैँ गराइ र भनाइमा फरक छ । सीमित खर्च सोच्यो, असीमित भइदिन्छ ।

अमित ः— उखाने दाइ ! सुधाको बालबोली पनि सुनियो, सुजनको चाहना पनि बुझियो र अमितको विचार पनि मनमा गुनियो तर मेरा बुवाले भने खाई न पाई छालाको टोपी लाई भनेझैँ उपलव्धीहीन दुःख मात्र पाउँनुभयो । धेरैलाई गुहार्नुभयो तर गाउँको माष्टर हुनैसक्नुभएन । अब भने कि वार कि पार हुन्छ । तपाईँले कोसिस गर्दिनुपर्यो ।

सुधा ः— अँ, उखाने दाइ शिक्षकको जागिर दिने शिक्षा सेवा आयोग प्रमुख हुनुहुन्छ नि !

विजेन्द्र ः— योग्य मान्छेको दुःख एकै किसिमको छ । मलाई शिक्षा क्षेत्रको अराजकता देख्दा बौलाउन मन लागेको छ । म पनि बी.एड. गरेको मान्छे हुँ तर घुस, सोर्स र फोर्सको कमीले मलाई जागिर दिएनन् ।

सुजन ः— तपाईं त घुस पनि नदिने, सोर्स पनि नलगाउने र फोर्स पनि नदेखाउने मान्छे हुनुहुन्छ अनि कसले दिन्छ जागिर ?

विजेन्द्र ः— सोह्रै आना ठीक कुरा गयौ । योग्यताले बाँच्न गाह्रो छ । बेइमानी तवरले बाँच्ने मन छैन ।

सुधा ः— यी अराजकताका कुराहरू गरिसाध्य छैनन् । अब भने हामीले कुराको विट मार्नुपर्ला ।

सुजन ः— आज थुप्रै कुरा सिकियो ।

धीरेन्द्र ः— हामी सबैको रगतको रङ् एकै रहेछ । समस्यै समस्याले जेलिएर बाँचेका रहेछौँ हामी ।

विजेन्द्र ः— इलमीका हातमा माछा र मासु, अल्छीका भागमा सधैँ आँसु भनेझैँ उद्यम गर्नेले कहाँ जोगी हुनुपर्छ र ? काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको त्यसै हैन, साराको कुराको वास्ता नगरीकन मानसिक श्रम गर्न नपाए शारीरिक श्रम गरेर भए पनि जीवनरथ हाँक्नुपर्छ ।

सुजन ः— धन्यवाद उखाने दाइ, हाम्रो मनमा एउटा अपूर्व शक्ति सञ्चार गर्दिनुभयो ।

सुधा ः— अब भने पेटमा मुसा दगुर्न थाले । घर जाऔँ ।

अरू सबै ः— हुन्छ, हुन्छ । जाऔँ । (लहरै निस्कन्छन् । विस्तारै पर्दा खस्छ ।)

०६७.०७.०७ सोमबार

तपेश्वरी–१, गल्फडिया, उदयपुर

मो. नं. – ९८४२८२९२०६/९८१४७०००९९

हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज–९,
सप्तरी फोन नं ०३१५२००३८

श्री

मिति २०६७।०७।०७

१. नाम ः नन्दलाल आचार्य

२. जन्म/स्थान ः २०३०/०३/२८ ठोक्सिला–जहडा, उदयपुर

३.स्थायी ठेगाना ः तपेश्वरी–१, गल्फडिया, उदयपुर लबलमबबिबिअजबचथब२नmबष्।िअयm

४. माता/पिता ः भगवती/विष्णुप्रसाद आचार्य

५. शैक्षिक योग्यता ः बी.ए., बी. एड. (नेपाली), एम.एड.

६. सम्प्रति ः प्रिन्सिपल, लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं. ०३१५२००३८, वर्ल्डभिजन उच्च मा.वि, राजविराज मोडेल क्याम्पस,

७. संलग्नता/उपलब्धी ः
– २०५० देखि संस्थागत विद्यालयमा शिक्षणरत्
– २०५२ सालदेखि साहित्य (कविता, कथा, निबन्ध र नाटक/एकाङ्की लेखन) क्षेत्रमा सक्रिय ।
– स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा दर्जनौं कविता, कथा, समालोचना, एकाध निबन्धहरू र थुप्रै नाटक/एकाङ्कीहरू प्रकाशित
– राजविराज, सप्तरीबाट प्रकाशित हुने सत्यापन, राजविराज टुडे (न्यूज टुडे), आजको वातावरण दैनिक, श्रीसत्यापन, जनक्रान्ति, कृष्णा दैनिक जस्ता पत्रिकाहरूमा निरन्तररुपमा स्तम्भ लेखन तथा साहित्यिक एवं समसामयिक लेखहरू प्रकाशित ।

८. सम्पर्क ः मो नं. ९८४२८२९२०६

९. सर्वप्रथम प्रकाशित रचना ः
(१) कविता ः कवि देवकोटा (सर्वश्री दैनिकमा)
(२) निबन्ध ः हडबडिएको मनका अक्षरहरू (सन्ध्या द्वैमासिक साहित्यिक पत्रिका)
(३) हाँस्यव्यङ्गय एकाङ्की ः छलछाम छात्ते छ पाटी (शब्दाङ्कुुर मासिक साहित्यिक पत्रिका)
(४) नाटक ः प्रजातन्त्रका नवरसको सेरोफेरो (सत्यापन साप्ताहिक, २०५४)
(५) समालोचना ः मधेश आन्दोलनले जन्माएको उपन्यास ‘घुर’ वर्ष ः ३९ /पूर्णाङ्क ः १३७ / असार–श्रावण ः २०६५ अभिव्यक्ति मासिक पत्रिकामा)
(६) हाँस्यव्यङ्गय गीत/ कविता ः मधुपर्क साहित्यिक मासिकको हाँस्यव्यङ्गय विशेषाङ्कमा गीत र फित्कौली साउन, ०६५ मा हेलो, हेलो शीर्षकको कविता ।
(७) लेख ः राजनीतिमा साहित्यले पारेको प्रभाव (कोशी मासिकमा पत्रिकामा)

१०. रचना प्रकाशित राष्ट्रिय साहित्यिक, समाचारमूलक एवं वैचारिक पत्रिकाहरू ःगरिमा, मधुपर्क, र्मिमिरे, कलम, समष्टि, शब्दाङ्कुुर, अभिव्यक्ति, जनमत, मुना, गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, नेपाल समाचार पत्र, राजधानी, कोशी, विमोचन, सन्ध्या, आँखा, रचना, दायित्व, शब्दसंयोजन, जनधोष, जनमत, फित्कौली , शब्दसंयोजन, जनादेश जस्ता राष्ट्रिय साहित्यिक एवं वैचारिक पत्रिकामा समेत वेलावेलामा कविता, कथा, निबन्ध, नाटक, समीक्षा/समालोचना र एकाङ्कीहरू प्रकाशित ।

११. विधा ः एकांकी, नाटक, कविता, कथा, समीक्षा र निबन्ध ।

१२. प्रकाशित अन्य रचना र विधा ः (१) र्मिमिरे साहित्यिक मासिकमा आगो निलेका अनुहारहरू (कविता, वर्ष ३५, अंक १२, पू. २५९, ०६३ चैत्र), महाभूूुुल, उपद्रव शिरोमणिदेखि सचेत नागरिकसम्मको कथा, चिल र चिलोरको कथा (कथा), दर्द एकांकीनाटक, एकता कथा (२) जनमत साहित्यिक मासिकमा— पलाष्टिकको पोको (पू.१२७), प्रगतिशील कथाहरूको संग्रह मध्यरातमा ः एक विश्लेषण, मणि कोइमीको कविता संग्रह बारे समीक्षा, आस्थाको अग्निपथ एक विश्लेषण (३) लेखबहादुर कार्की र टंक आले मगरका पुस्तकको समीक्षा शब्दाङ्कुुर साहित्यिक मासिकमा– छलछाम छात्ते छ पार्टी (एकाङ्की, वर्ष ६, अंक १०, पू. ७२ असोज ०६४ ), देश हराएको सूचना (एकाङ्की, वर्ष ७, अंक ३, पू. ७५, पुस ०६४), आत्मकथ्य (लेख, ०६५) सडकमा पीडा एक ः भाका अनेक (एकांकी) (४) रचनामा– राष्ट्रिय झण्डा (कविता, वर्ष ४८, पू. ९६, ०६५ बैशाख, जेठ) ) (५) विमोचनमा– गजल, कविताहरु (६) कोशी मासिकमा– राजनीतिमा साहित्यले पारेको प्रभाव (लेख), निओलको कथा संग्रह वारे समीक्षा र थुप्रै कविताहरू (७) आँखामा– नयाँ वर्ष (कविता, सोह्रौँ अंक) र अभिभारा (कथा, वर्ष ४०, अंक १७, २०६५) (८) जनादेशमा कविताहरु (९) कलम पत्रिकामा युग उचाल्ने अक्षरकर्मीका अवसान (नाटक, ०६६ भदौमा) (१०) मधुपर्क पत्रिकामा गीत, कविताहरू र आधा मेरो आधा तिम्रो शीर्षकको एकाङ्की (२०६५ फागुन अंकमा), गीत ( वर्ष ४०, अंक १, पू. ४५६, जेठ, ०६४ हाँस्यव्यंग अंक ) वादविवाद (एकाङ्की) (११) गरिमा पत्रिकामा दाइजो शीर्षकको एकाङ्की (२०६५ फागुन अंकमा) (१२) फित्कौली पत्रिकामा कविता (साउन, ०६५ मा) (१३) समष्टि पू. ८५ मा खेल शीर्षकको कविता (१४) ज्योति पत्रिकामा बाघले घाँस खायो ः एक विश्लेषण (समीक्षा, वर्ष ५, पू. ६, ०६५ असोज) (१५) सन्ध्या (पत्र, लेख, वर्ष २, अंक २, पू. १२, कात्तिक, मंसिर, पौष) (१६) शब्दसंयोजन ः एकता शीर्षकका एकाङ्की प्रकाशित, ०६५ मा) (१७) प्रहरी ः कविता प्रकाशित (१८) अभिव्यक्ति नाम तिम्रो काम हाम्रो (एकाङ्की, (१९) मुना लोककथा (२०) शारदा कविता

१३. प्रकाशित कृति :
युग उचाल्ने अक्षरकर्मीको अवसान ः नाटक/ एकाङ्की संग्रह
प्रकाशतोन्मृ्ख कृतिहरूः १, पत्रैपत्रका पानाहरू –पत्रात्मक निबन्ध संग्रह
२. ॐ विपरीताय नमः – लघु निबन्ध संग्रह
३ छरपष्ट जिन्दगी ः कविता संग्रह

१४. प्रकाशनार्थ प्रेषित रचनाहरू ( ०६६ जेष्ठदेखि यता ०६६ असोज १८ सम्म प्रकाशित भए नभएको थाहा नभएको)
१. दायित्व पत्रिकामा ः पत्नी पीडित पतिको राम कहानी ( एकाङ्की ), २. सडकमा पीडा एक ः भाका अनेक, ……कवितामा देशप्रेम, लेखकको जन्म पाठक….(एकाङ्की, लेख, समीक्षा शब्दाकुंरमा प्रेषित), ३. रहस्यमय नारी (कथा, शारदामा प्रेषित), ४. करार विवाह ( एकाङ्की, गरिमामा प्रेषित), ५. दर्द ((एकाङ्की, मिर्मिरेमा प्रेषित), ६. वादविवाद ((एकाङ्की, मधुपर्कमा प्रेषित), ७. परिवर्तन ((एकाङ्की, रचनामा प्रेषित), ८. नाम तिम्रो काम हाम्रो (एकाङ्की, अभिव्यक्तिमा प्रेषित), ९. जिउँदो साँढे (कथा, ज्योतिमा प्रेषित), चिचिला, बालक र मुना पत्रिकामा बाल कविता, गीत र लोककथा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *