काठमाडौ, आश्विन १४ –
“माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”
यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।
सयवटा भन्दा बढी स-साना डाँडाहरू भएकाले नै यसलाई शैलुङ भनिएको हो । समुद्री सतहबाट लगभग ३४ सय मिटर उचाइमा यो स्थान रहेको छ । यो ठाउँ दोलखामा परे पनि शैलुङ रामेछापको सीमानामा पर्छ ।
जुनसुकै मौसममा पनि जाडो भैरहने यहाँको विशेषता हो । गर्मी होस् या जाडो, दुवै मौसममा ज्याकेट लगाएर हिँडछन् यहाँका बासिन्दाहरू पनि । स्थानीय निमा फुरी शेर्पा शैलुङको मौसममा बाक्लो ज्याकेट लगाएर हिँड्न पनि सकिने र एउटै सर्ट मात्र लगाएर पनि हिँड्न सकिने सुनाउँछिन् । तर बाहिरबाट आउनेले न्यानो लुगा बोकेरै हिँडेको राम्रो ।
यो ठाउँ निकै रमाइलो छ । उत्तरतर्फ गौरीशंकर हिमशृंखला देखि सगरमाथाको केही भागसम्म देखिन्छ । त्यस्तै सिन्धुली, रामेछाप, सिन्धुपल्चोक र काठमाडौं पनि मौसम सफा भएको समयमा देख्न सकिन्छ । स्थानीय लालबहादुर थोकर ९० सालभन्दा अगाडि काठमाडौंको १८ तले धरहरा प्रस्टै देखेको कुरा सुनाउँछन् । दृश्यावलोकनकै लागि विदेशीहरू पहिलेपहिले आउने गरे पनि अचेल नआएको पनि धेरै भयो । देशको राजनीतिक अवस्था ठीक भएका बेला विदेशी आउने गरेको पनि थोकरको भनाइ छ ।
शैलुङको अर्को विशेषता भनेको चौंरीको दूधबाट बन्ने दुग्ध पदार्थ हुन् । यहाँका धेरै बासिन्दाहरू चौंरी पालन गर्छन् । चौंरीको दूधबाट उनीहरू छुर्पी, सरेगेम, र चिज बनाउँछन् । त्यस्ता तयारी दुग्ध पदार्थको बजार नभएकोमा भने गुनासो छ । स्थानीय फुर्वा शेर्पा आफूहरूले चौंरीको दूधबाट राम्रो आर्थिक आम्दानी गर्न सक्ने भए पनि अहिलेसम्म कुनै फाइदा लिन नसकेको बताउँछन् ।
उचाइमा भएकाले शैलुङमा पानीकोे समस्या छ । यहाँ वर्षामा पानी त हुन्छ तर पानीमा मट्टितेल गनाउने भएकाले खानै मिल्दैन, कसरी यस्तो भयो, स्थानीय बासिन्दा कसैलाई पनि थाहा छैन । त्यसैले यहाँ खनिजको तेलको सम्भावना पनि रहेको शैलुङ्गेश्वर गाविसका पूर्ववडा अध्यक्ष हरि तामाङ बताउँछन् । सरकारले यहाँको खनिज तेलको बारेमा अहिले नै अनुसन्धान गर्ने हो भने खनिज तेल निकाल्न सक्ने र फलामको पनि सम्भावना रहेको उनको अनुमान छ । हुन त समस्याको कुरा गर्दा धेरै कुराको समस्या भएको शैलुङढुंगेका राजु बमजन बताउँछन् । सडक बन्ला र राजधानीसँग सीधा सम्पर्क गरी पर्यटन क्षेत्रको रूपमा स्थापित होला आर्थिक पक्ष सबल होला भन्ने आशैआशमा छ । सडक त बनेको तर गोरेटो मात्रै । यहाँको सडकमा सुख्खा मौसममा केही गाडी गुडे पनि वर्षायाममा भने गुड्दैनन् ।
जंगली जडिबुटी पनि प्रशस्तै पाइन्छ । त्यस्ता जडिबुटीमा पाँच औंले, चिराइतो, मजिटो, च्यातु जस्ता बहुमूल्य हुन् । नेपाली कागज बनाउने लोक्ता जंगलैभरि छ । तर यहाँको यो लोक्ताको न कुनै उपभोग भएको छ न कुनै चासो नै । चिसो ठाउँमा पाइने बहुमूल्य वनस्पतिहरू पनि शैलुङमा छन् । यहाँ ठिङ्ग्रे सल्ला, गोब्रे सल्ला, गुराँसका विभिन्न प्रजाति, खर्सुक हुन् । घना जंगल भएकोले बेलाबेलामा डढेलोको समस्या रहेको खोलापार्कका ग्याल्बो शेर्पा बताउँछन् । केही वर्षअघि गएको डढेलोले झन्नै आधा जंगल डढाएको उनले बताए ।
धार्मिक रूपले पनि यो क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ । यहाँ ठूलाठूला गुफाहरू प्नि छन् । महादेवको मान्दिर, धर्म दुलो, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता गुफाहरू धार्मिक रूपले चर्चित गुफा रहेका छन् । शैलुङमा भदौ पूणिर्मा र शिवरात्रिमा ठूलो जात्रा लाग्छ । भदौ पूणिर्मामा लाग्ने जात्रा झाँक्रीहरूको जात्रा हो । त्यस भेगको झाँक्री अनिवार्यरूपमा त्यो दिन शैलुङ पुग्नुपर्ने विश्वास राख्छन् । प्रत्येक १२ वर्षमा भने गदौरी खुल्ने र त्यसबेला पनि ठूलो जात्रा लाग्ने गर्छ । जात्रा हेर्न रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेदेखिका मानिसहरू आउँछन् । बौद्ध धर्मलम्बीहरूको छुट्टै गुम्बा र मानेहरू छन् । त्यहाँ बत्ती बाल्न बौद्ध धर्मावलम्बीहरू आइरहन्छन् ।
शैलुङ आफैंमा पर्यटकीय सम्भावना बोकेको हो । तर यहाँ कसैको चासो नभएको शैलुङ्गेश्वर युवा क्लबका अध्यक्ष कर्मा लामा बताउँछन् । खानीमाथि भोकभोकै मर्ने सेरालियन जनताजस्तै भएका छौं । त्यति सुन्दर ठाउँ र पौरखी हात छन् तैपनि आर्थिक रूपले यहाँका जनताहरू हातमुख जोड्न धौधौ परिरहन्छ । उनले जिविस दोलखा र रामेछापको संयुक्त पहलमा सडक खन्ने काम भएको र त्यसबाट आन्तरिक पर्यटन बढ्ने सम्भावना भएको बताउँछन् ।
शैलुङ पुग्नलाई काठमाडौंबाट दोलखाको देउरालीसम्म यातायातमा जान सकिन्छ । त्यसपछि भने लगभग ५ घन्टा हिँडेपछि शैलुङ पुग्न सकिन्छ । बस्नका लागि स्तरीय होटेलको सुविधा नभए पनि साधारण बस्ने सुविधा रहेको छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य अवलोकन र दुर्लभ जडिबुटीहरू प्रशस्तै पाइने शैलुङ घुम्नका लागि तीन दिनमात्र भए पुग्छ । यहाँको जीवनशैली, र प्राकृतिक सम्पदा हेर्नका लागि खासै महँगो पनि छैन । तपाईं पनि घुम्ने हो कि शैलुङ ?
