Skip to content

कविहरू र सत्ता

  • by


शासनारुढ
एक हूल पातकीहरूबीच
मलाई मेरो कविको शिर झुकेको मन पर्दैन
बरु भोकै मरोस् मेरो कवि
मलाई उसको कान्ती मरेको मन पर्दैन
अक्षरेका फूलहरूले कविसँग सुगन्ध माग्छ
कवि अक्षर फूलहरूलाई सुगन्ध दिन्छ
र अक्षरहरू जीवित हुन्छन्
अर्थात्
प्राणप्रतिष्ठाको यो अनुष्ठान
कवि बेगर सम्पन्न हुँदैन

कविहरू स्तुति नगाउनू
कविहरू चुक्नु हुँदैन
अक्षरको जीवनदाता
अँध्यारोको अगाडि झुक्नु हुँदैन
सत्ता र अक्षरको सम्बन्ध
कहिल्यै प्रगाढ भएन/कहिल्यै प्रगाढ हुँदैन
सत्ता शासन सोच्छ – अनुशासन बिर्सन्छ
कवि अनुशासन बिर्सन्छ – शासन सोच्दैन
आत्मानुशासनभन्दा पर कवि सत्ता छैन
शासनभन्दा पर पातकीहरूको स्वप्न छैन
यो बेमेल/बेमेलबीच
अनुदानमा अभिनन्दन नखोज्नू कविहरू
बिन्ती बिसाएर पुरस्कार नथाप्नू कविहरू
कवि हुनुभन्दा ठूलो पुरस्कार
कविलाई कुनै सत्ताले दिन सक्तैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *