सेती हो जिन्दगी काली हो जिन्दगी ।
बग्न नजाने गन्दा नाली हो जिन्दगी ।।
पहिरन्छ माला कहिले मोसो दलाउँछ ।
ताली कतै कसैको गाली हो जिन्दग ।।
खल्ती जुवाडेको या खहरे भने हुने ।
छिनमा भरिलो छिनमा खाली हो जिन्दगी ।।
आँसु कहीँ त मेवा मिष्टान्न पस्किने
टपरी कहीँ त सुनको थाली हो जिन्दगी ।।
ढंग नपुग्दा ढुङ्गा काँढा बिझाउँछ
होइन भने त फूलको डाली हो जिन्दगी ।।
सिद्धान्त हो कसैको संघर्ष हो भने ।
कसै कसैको सालासाली हो जिन्दगी ।।
दुर्गन्ध या अरुकले लिने सुगन्ध हो
आफै बगैँचा आफै माली हो जिन्दगी ।।
रुँदा करुण गाथा यो किन्तु गाउँदा
झाम्रे भजन गजल र ख्याली हो जिन्दगी ।।
कुनै कुनैको डिस्को पिकनिक हो भने
कुनै कुनैको धर्ना र्याली हो जिन्दगी ।।
राती अँधेरी कोप्ची औँसी भए पनि
प्रभातमा उषाको लाली हो जिन्दगी ।।
चित्कार मोफसलको सुनेको नसुनी
भन्छ त्यो राजधानी भ्याली हो जिन्दगी ।।
साँचेमा यो अटल छ त्यो कोशे ढुङ्गाझैँ
च्यातेमा माकुराको जाली हो जिन्दगी ।।
हिसाब तिर्नु पर्छ अर्थि उठे पनि
नसम्झनु कि अन्तिम पाली हो जिन्दगी ।।
छाडा पशुहरू छन् चर्लान जोगाउँनु
अनमोल प्रकृतिको बाली हो जिन्दगी ।।
रून्चे र मरन्च्याँसे हुनै सक्तैन है
भन्छ यो ‘बूँद’ खुसहाली हो जिन्दगी ।।
