Skip to content

एकैसाथ हराए, ‘मन र कलम’ मेरा

  • by


मेरो मन परेको कलम हराएको धेरै दिन भएको छ । खोजी गर्दैमा घाम डुबे, धेरै । त्यो मेरो मायाको खेती । मन भनेको कलमले पोखी दगुर्ने जताततै । मनको कुनै सिलसिला बेग्लै हुँदैन । जे जो आउँछ, सोही बर्सिन्छ । कलम सशक्त माध्यम । यसरी, अहिले मन र कलम दुबै नखेलेको असहज र असहृय स्थितिमा म सास फेर्दो छु । जान्दिन, आराम हो कि यो हैरानी । अवस्थाविशेष या नियति नै हो यो मेरो सिो । यसै ठोकेरै केही भन्न सिङ्गो म सक्तिनँ । यद्यपि, मेरो खोजी-कार्य जारी छ । भनेँ नि, मन त सबैको अदृश्य हुन्छ / नदेखिने तर त्यो भोगिनुपर्ने पल प्रतिपल । यो कस्तो मानवीय कथा र व्यथा । म शब्द कोर्दा हृदय कोर्छु र नढाँटी बोल्छु । बुद्धिवादी तर्कधाराचाहिँ त्यति सहज कुरो लाग्दैन । बुद्धि फूर्ति गर्छ धेरै तर हृदय रमाउँछ थोरैमा पनि । मैले यिनका भित्र फाँटहरू कता छुट्टाछुट्टै देख्छु । पशु मुस्काएर खुसी बाँड्न सक्तैन । मान्छे सबै गर्न सक्छ । लीलाधारी जीवन यो हाम्रो अलग्गै ।

म साहित्य र दर्शनको विद्यार्थी । पढाउँदा एकतानका साथ बिर्सिदिन्थेँ सबै बाहिरी कुरा । समयको सुधबुध समेत राख्नैमा पर्ने मलाई हम्मेहम्मे ! यस्तो विचित्र दशा पहिले थियो मेरै । अहिले बिहानदेखि घर पढ्छु, ‘निवृत्तजीवन’ को वृत्ति-विकास धेरैतिरको आफैँ हुने । ‘तीर्थयात्रा’ मा भारततर्फ निस्कन्थे, पहिले बूढेसकालका हाम्रा पुर्खाहरू र फटाउँथे, धर्मका नाममा दिन । भारतको दक्षिणी र उत्तरी भू-भागमा बहुधा जान्थे । त्यतै भेट्थे, स्वर्ग-नरक क्यार ! दिन काट्थे । भनौँ, अनेक तरहले । म परेँ अर्कै, ‘आस्थाहीन आस्था’ का मान्यताको पुजारी । पूर्णरूपमा न आस्तिक / न नास्तिक । कलम समाती दगुरेँ, धेरै काल / सारेँ, कलम धेरै आँशुले । यो पनि चार दशकको हाराहारी पो हुन लागेछ । यही साझा चोटले विस्मृतिको शिकार भइरहेकीछन्, मेरी अवला अर्धाङ्गिनी श्रीमती अरूणा । हामो धर्म-धरा न्याय गर्छ, यही कठैबरा ! यस्तै कडा प्रहार ! बन्छ प्रहार !

फेरि, कलम आक्रोश पोख्छ, मैंमाथि । श्रीमतीलाई सस्नेह अँगाली फेरि आफू चाँडै बन्ने ‘विधूर’ नामधारी । तीसवर्षकै उमेरकी ‘विधवा’ बनेकी मेरी हालै स्वर्गीया ‘माता’ । भर्खरैको बाह्रवर्षे उमेरपछिको थियो, पिताविनाको । अहिले सात दशक गुज्जि्रँदो छ, बिस्तारै । अनेक चिता र चिन्ताका तूफानभित्र । कल्पना गरौँ, यो वृद्ध-दशा, महादशा । थाहै नदिई ‘महायात्रा’ तिरै लम्किरहेको । यत्तिखेर, कलमको अघोर माया लाग्छ । मेरा लागि उसको उपस्थिति मात्र पनि ठूलो । दुःखको बेला अभिन्न मित्र उही एक मेरो । स्नेह आफैँ आँसु बनी बर्सिन्छ, वरपर । रोदन पार्छ केही हलुको । भारी भो यही उमेर मेरो सबैतिर । मङ्गमय बन्दो छ ‘मृत्यु’ ।

माथि भनेँ, अचेल मन पनि हराएको छ । त्यो स्पर्शहीन स्पर्शको छ, बिचित्रको सिर्जना । झन् दृष्टिविनाको अनुभूत वस्तुता चर्को बन्न झल्याक्-झुलुक् देखापर्छ यदाकदा । एकैचोटि माया मारे मलाई कलम र मनले । अब म लेख्तिनँ । साँच्चै, लेखेरै पो ‘नेपाल’ मा म जस्तोले कहीँ हुन्छ – केही ? लाग्दैन विश्वास मलाई । फेरि, चर्चित स्वयं अक्षरले पार्छ । यहाँ सम्झन्छु, सङ्ग-प्रसङ्गको रेशमी-तन्तुको किंवा लगनगाँठोको मायावी खेल झन् अर्कै चर्को छ । स्व. देवकोटा लेख्तालेख्तै मरेनन ? तर चिन्दै-चिनेनन् कसैले । एकमुठी चिउरा पनि भोको मुखमा कसैले हालिदिएनन्, कठै ! मायाले । सबै तन, मन र धनका भए कति गरीब ? बुझेर अक्षरको अविनाशी महात्म्य / केही गरेनन्, बुझेनन् वा बुझपचाए । रोगले दिनरात नराम्ररी पछार्दै ‘आर्यघाट’ पुर्‍याई सदाका लागि सक्यो, आफ्नो काम । न धरती, न पिरती भो, साँचो । यसैले, चिनिन समेत पनि यहाँ अन्नदान होइन, ‘प्राणदान’ पहिलो सर्तका रूपमा उपस्थित हुने गर्छ । यस वस्तु-सत्यको स्वागतबाहेक अरू के नै गर्न सकिने हुन्छ र ! ‘विसर्जन’ नै हाम्रो मूलदर्शन । ‘शतवाषिर्की’ को लामो श्रद्धा, आस्थाको जीवन्त मूल्य-मान्यतादेखि पर्ने निकै नजिक र टाढाको ।

पुस्तकहरू पढ्छु । त्यसै फाल्दिनँ समय खेर तर तिनको अर्थ बुझ्दिनँ सबै छिटो । सानो छँदा नेपाली भाषामा लेख्ने काम संस्कृतका अगाडि घटिया ठानिन्थ्यो । त्यतिखेर, केवल ‘लेखन्दास’ को मात्र हुने बेग्लै फूर्ति । आम्दानीविनाको साहित्यरचना कविता (त्यो पनि नेपाली भाषामा) त्यो सीधै शून्यमा झर्ने थियो, कराल-काल । २००० सालअघिको राणाकालको मेरो जन्म आज भयो त्यो धेरै अघिको । अङ्ग्रेजीको प्रभावभन्दा संस्कृत-भाषाको धर्म-धरा थियो सुकिलो / माथि र विशेषप्रभावी । म प्रख्यात विश्वनाथ पण्डितको छोरो । संस्कृतकै संसार मेरो घरपरिवार । सुरुमा मेरो अध्ययन त्यतैबाट अगाडि उठ्यो ।

कलम लुकिरहन्छ, मन दौडिरहन्छ । मनलाई पहिले र अहिलेको ज्ञान छ बराबर । धेरै बुझ्ने-देख्ने आँखा छन्, उसैका मात्र । दौडेर यही मेरो मन आधा शताब्दीभन्दा अघि हाम्रा महाकवि स्व० लक्ष्मीप्रसाद देवकोटाले रूसको ‘तासकन्द लेखक सम्मेलन’ मा सबकासामु उभिएर भनेका कुरा सम्झेर त्यही सरर्र उतार्छ । त्यहाँ निर्भयपूर्वक देवकोटाले भनेका थिए –

“नेपालमा हामी लेखक (स्रष्टा) हरू मानवजातिको सबैभन्दा अभागी जमात भएका छौँ । हाम्रो रोयल्टी ठगिएको छ, प्रतिलिपि अधिकारबाट हामी वञ्चित छौँ । हाम्रा साहित्यिक सिर्जनाको संरक्षणार्थ कुनै मानवीय कानुन काम गर्दैनन् । हाम्रा चाउरिएका अनुहारमा नैराश्यका रेखाहरू स्पष्ट देखिन्छन् । उदासिन तथा उपेक्षित समाजमा कष्टकारक श्रम गर्दै बाँच्नुपर्दा आफ्ना अब्बल बुद्धिका कारण क्षमा माग्नुपरेको अनुभूति हुन्छ ।”

यसै कटु-सत्यको शिकार आजै पनि कवि-लेखकहरूले हुनु परिरहेको छ । यो भुक्तभोगीको अमर आवाज । राजनीति अहिले भाषा-साहित्यलाई परै राखी सत्ता र भत्तामा आकण्ठ डुबेको छ । व्यर्थ किन कलम हरायो मेरो भनेर मन रुवाऊँ र आँखा अहिले भिजाऊँ ?

आजका दिनसम्म देशभरि यही चित्र र चिन्तनको प्रभुत्त्व छ । छाती ठूलो भएन हाम्रा माटोको अथवा राजनीतिका अनुदार एवं अविवेकी नेताको । स्थिति हाम्रो उही र उस्तै छ । स्व. देवकोटाको विना टिपोटको उहिले प्रस्फुटित वाग्धाराको ओज र वस्तुता कति प्रशंसनीय रहृयो । सिङ्गो नेपालले त्यहाँ आदर-सम्मान कति धेरै पायो / त्यही सचेत विश्वको अभिलेख बनिरहोस्, हाम्रो प्रार्थना यही रहोस् / त्यहीँ रहोस् ।

साँच्चै कालका कोही माता-पिता छैनन् जस्तो छ । उसले प्रशंसा कम र गाली पाउँछ धेरै । शायद, गाली गलादेखि आउँछ । त्यसैले, अनुग्रह भन्ने कुरो ऊ कत्ति जान्दैन । संस्कारहीन निर्दयी छ क्यार ! काल । केवल रूखो गणितको ज्ञाता ऊ । क्षमा, सरलता र कोमलता उसकालागि टाढाको कुरा । लाग्छ, दुई अक्षरको ‘मम-भाव’ मृत्यु र तीन अक्षरको ‘नमम’ भावमात्र अमृत र सनातन । अनि सौन्दर्य र शान्तिको मूल कार्यकारणभाव । यही संसारीको सोच्ने काम । अरू त भेउविनाको ।

फेरि, जिन्दगीको रसायन भन्नु हाँसो हाम्रो । निरोगी बन्ने आधार पनि त्यही । महात्मा गान्धीले भनेका थिए कतै – “मेरो जीवनमा हाँसो नहुँदो हो त म पागल हुन्थेँ होला ।” खुशी पनि लुट्छ, नराम्ररी समयले र ओठ बज्नै छाड्छन्, विरक्तिले । ‘लेखन’ अपूर्व । जिन्दगीका सबै रेखाहरू कोर्छ, थाम्छ इमानसाथ । यसैले, ‘लेखन’ को अर्को नाम ‘इमान’ । यो भत्किनासाथ सबै भत्किन्छ / सकिन्छ । साँचो साहित्यकार सदा सक्रिय रहनुपर्छ । वास्तवमा ‘लेखन’ एउटा ‘मिसन’ हो र आत्मावलोकनको एक सुन्दर तरीका पनि । पुरस्कार र सम्मानमात्र केही होइन । त्यसबाट पूर्ण सन्तुष्टि समेत पाइन्न । साँचो कुरो, ‘लेखक’ लेख्नाले पुरस्कृत बन्छ / हुन्छ, सधैँ लेख्न सकुन्जेल । यो मेरो भित्री अभिमत । शायद, प्रतिभापुत्र प्रकाश सायमीको खुशीसाथ यसमा स्वीकृति मिल्नेछ मलाई ।

अर्को, पुस्तक पढ्ने मेरो पुरानो बानी । धेरै विषयका पुस्तकहरू पढिसक्ता कहिलेकाहीँ उदास समेत हुन पुग्छु । यो कमजोरी मेरै हुनुपर्छ । जे भए पनि मीठो फेरि त्यही । आफू मीठो धेरै । विषयगत ज्ञान-गाम्भीर्य जति कम हुन्छ, शायद उति नै फेरि ‘हाँ-हाँ-हूँ-हूँ’ गरेर चिल्लाउन पनि सुविधा हुने ठाउँ देख्छु । थोरै जान्यो, धेरै हाँक्यो ।

अर्को, आदरणीय कालजेयी-कलमजीवीहरूका सामु मैले ‘लेख्छु’ भन्दा पनि सङ्कोच हुन्छ । के लेखेँ र के लेख्छु हृदयको दरिद्र मैले । धेरै त शब्दका रुमालले मात्र आँशु पुछेँ । प्रशंसा गरे असजिलो ठान्छु । हजारौँ प्रशंसक प्रिय छात्रछात्राको निर्विकल्प स्नेह-भाजन एक्लो आफू । लेख्नेभन्दा पढाउने ‘राम्रो म’ । म धेरै कालदेखि साहित्यकार भाइ प्रकाश सायमी र कवि मुरारि सिग्देलकै वरपर नै थिएँ र छु । यी ‘स्रष्टा’ प्रिय मेरा । पुरस्कारभन्दा ‘लेखन’ प्रतिको समर्पण ठूलो मान्ने सायमी र सिग्देल कलमसँगै दगुरिरहन्छन्, दिनरात । श्रद्धाले पुस्तक थाप्छन्, शिरमा र लिन्छन् कलम स्नेहसाथ हातमा । यी कुरा सबै मेरा मन र कलमले नसुनेका छैन होलान् ? तैपनि ….. ।

अर्को, विधागत हिसाबमा ‘निबन्ध’ लेख्नुमा केही भिन्नताहरू झुल्किने गर्छन्, निर्बन्धता नै यसको खुबी । एकप्रकार, असारको झरी-वर्षा । विवेचना, अपूर्वता र यो आजका समयको उन्मुक्त खेती । उमेर, काल र सिर्जना यसैका अनुयायी । भावनाको अपूर्वता र अमूर्तता भित्रभित्र यही । म ‘विद्यावंश’ को भोको ‘प्राध्यापक’ कहिल्यै भूतपूर्व हुँदै नहुने । ‘प्रशासक’ त यसैको सानो पुच्छर । ज्ञान बाँडिन्छ तर अनुभूति पूरै बाँड्न सकिन्न । विकीर्ण-चिन्तनका अँगालोमा धेरथोर खुल्नेचाहिँ हुन्छन्, यी पनि । सिर्जनाका रङ्गीचङ्गी ध्वजा-पताकाहरू यसैका वरिपरि फर्फराएका हुन्छन् । स्रष्टा, सृष्टि र समर्पणको ‘लेखन त्रिवेणी’ बन्ने ठूलो । परैबाट कामना गर्छु, ‘पुरस्कार’ थाप्ता मिलोस्, दिने-लिने दुबैलाई शुद्ध-शान्ति । प्रतिभा र प्रस्तुतिको मधुमय खेल हुने स्वयंमा यो अनौठो ।

थरिथरीका विधागत विषयहरूमा अनायासै कलम चल्न पुगे मेरा । ‘रेडियो नेपाल’ को बसाइले गीतकारप्रति स्नेह बस्यो / बसायो । ‘अन्तर्वार्ता’ का नाममा गफगाफ वा प्रश्नोत्तर चले । सत्ताईस जना गीतिस्रष्टा नक्षत्र बनी अन्तर्वार्ताका माध्यमबाट उदाए अक्षरमा । त्यहीँ ‘रेडियो’ मा रहँदा-बस्ता छोरा र छोरीका आँसुले भिजाए छाती । भजन र गीत लेखेँ । त्यो ‘रेडियो नेपाल’ सिंहदरबारको सिरानी, श्री ३ चन्द्रको नौलो निर्मिति । आगलागीपछिको टालटुलले उठेको माथिल्लो तलातिरै मेरा धेरै दिन र जवानी जानी-नजानी गुडे र त्यसैको सदुपयोग हुनका निम्ति पुस्तकाकाररूपमा पर्खालबाहिर अक्षर निस्क्यो / मेरा उत्प्रेरक एवं सहलेखक अग्रज भैरव रिसालका साथ । सिंहदरबारको भूत कलममाथि लाग्यो, झण्डावालहरूसँगै । यो पनि मन र कलमको यात्रा । ‘रिसालबन्धु’ को ऐतिहासिक प्रदक्षिणा ।

अहिले बलियो कलम हातमा छैन र निर्धोलाई यसो घिसारी हिँड्दैछु, क्षमा मिल्ने आशाकासाथ ।

फेरि ‘कारागार’ मेरो प्रिय विषय । त्यो हाम्रो राष्ट्रिय दर्शन र यथार्थ तस्बिर, ‘विद्यावारिधि’ गर्न सकिने सामग्रीसहितको । अपेक्षित भइकन उपेक्षित र सम्पन्न भइकन विपन्न । अनिवार्य धरातल हाम्रो ‘कारागार’ । यसैभित्र नेपाल र नेपालीका जीवन्त अनुहारहरू थिए र छन् । मर्ममधुर, अन्यायविधुर र मृतप्रायः कलेवर यतै सास फेर्दा छन् । कैदी-बन्दीहरूका कथा र व्यथा छन् बेग्लै । भोलि अझ लेखिनेछन्, यसैमाथि ठूल्ठूला महाकाव्य र उपन्यास । म स्वयं विनाविराम जेल परेँ धेरैपटक । आफैँसँग हाँसे, गाँसेँ र त्यता रोएँ पनि धेरै । धेरै समय राजनीतिका पाखण्डीहरूले टेके-बसे तापनि त्यता हृदय बनाएनन्, कत्ति सुकिलो । ‘मेचमाथिका अन्धा मान्छे’ बिगार्दा छन्, यिनै हाम्रो शश्य-श्यामला धरती । विश्वका उच्च शिखर र प्रकृतिका पिरती सबै । लुट्ता र काट्ता छन्, ‘हरियो वन नेपालको धन’ सबै / लुटाउँदै छन्, मातृभूमिको इज्जत सबै ।

यद्यपि, यो कुरो घमण्ड भन्ने लाग्ला / नलागोस् । मैले जति पनि राज नेताहरूले आफ्नो देश र कारागार सबै हेरे-बुझेका छैनन् । एकहत्तर जिल्लाका त्रीहत्तर कारागारहरूको बिस्तारै कोठाचोटा टेकी-घुमी हेरेका राम्ररी छैनन् / भए होलान्, कमैले । अलिकति माया समेत त्यता दिएनन् / यी मालिक बनेपछि फर्केर आफू बसेका तिनै ‘कारागार’ लाई । टाढाबाटै सलामसम्म फ्याँक्तैनन् / हेर्छन्, बरू तिरष्कृत नजरले । यस्तो विषय पनि उठे मेरै कलमबाटै । यस्तो पनि भो । मेरो त्यस्तो साहसी कलम कहाँ आज छौ ? मन त बिना चित्रको अदृश्य नै छ । के गरौँ ? कहाँ खोजौँ ? यी दुवै मेरा मन र कलमलाई ? फसाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *